वीर अस्पतालको नयाँ बन्ने भवनको स्केच
नेपालकै जेठो वीर अस्पतालले १२९ औं वार्षिक उत्सब मनाउदै गर्दा १६ सय ५० बेड सहितका अत्याधुनिक भवन निर्माणको प्रक्रिया अघि बढाएको छ । अहिले वीर अस्पताल रहेकै ठाउँमा ६५० बेडको अन्तर्राष्ट्रिय मापदण्डको भवन निर्माण शुरु भइसकेको छ ।
१७ रोपनी जग्गामा सात तले भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेसँगै निर्माण शुरु भएको हो । सो भवन अढाई वर्षभित्र बनाइसक्ने लक्ष्य राखिएको छ । त्यस्तै भक्तपुरको दुवाकोटमा ५७० रोपनी क्षेत्रफलमा एक हजार बेडको अर्को अत्याधुनिक भवन निर्माणको प्रक्रिया पनि अघि बढाउने तयारी भईरहेको छ ।
तत्कालिन अर्थमन्त्री विष्णु पौडेलका पालामा अघि सारिएको यो महत्वाकांक्षी परियोजना पूरा हुनासाथ वीर अस्पतालले एकैपटक करिब २ हजार बिरामीलाई बेड उपलव्ध गराउन सक्नेछ । दुवै भवन निर्माण सँ ग वीर अस्पतालमा बेड पाइएन भन्ने गुनासो अन्त्य हुने अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए ।
१२८ वर्ष पुरानो वीर अस्पतालमा ४० वर्षअघि बनेका भवन छन् । २०७२ सालको महाभूकम्पअघि ४६० बेड सन्चालनमा रहेको भूकम्पछि ३७० वटा बेडमात्र सन्चालनमा रहेका छ न् ।यस्तै, जाइकाको सहयोगमा वीर अस्पतालभित्रै एक सय बेडको अर्को भवन पनि निर्माण भ ईरहेको छ । सो भवनको आधा काम सकिएको छ ।
अहिले वीर अस्पतालमा दैनिक १८ सय विरामीले सेवा लिइरहेका छन् । सस्तो शुल्क, कतिपय निःशुल्क उपचार र अत्याधुनिक उपकरण रहेका कारण वीर अस्पतालमा विरामीको चाप बढिरहेको छ । सो अनुसारको सेवा दिनका लागि अस्पतालले पछिल्लो समय उपकरण र नयाँ रोगको उपचार शुरु गरेको छ ।
अत्याधुनिक प्रविधि
बस्नेत अस्पतालको निर्देशक बनेपछि छाती रोग, बाथ रोग र हेमाटोलोजी गरी तीनवटा रोगको उपचार वीर अस्पतालमा शुरु भएको हो । तत्कालै वीर अस्पतालको इमरजेन्सी पनि बिस्तार गर्ने र ट्रायज सिस्टम शुरु गरिने भएको छ । त्यस्तै इमरजेन्सीलाई पेपरलेस बनाउने प्रक्रिया पनि अघि बढेको अस्पतालले जनाएको छ ।
अब वीर अस्पतालमा रक्तक्यान्सरको उपचार पनि शुरु भएको छ । त्यस्तै चौबिसै घण्टा डायलोसिस सेवा शुरु भएको छ र एचआइभी र हेपाइटाइटिसको उपचार पनि अस्पतालभित्रै थालिएको छ ।
क्यान्सरको रेडियसन थेरापीका लागि अत्याधुनिक कोब्याक मेसिन खरिद प्रक्रिया अघि बढाइएको खरिद शाखा प्रमुख भगवती थपलियाले जानकारी दिइन् । वीर अस्पतालमा अत्याधुनिक एमआरआई र दुईवटा सिटी स्क्यान मेसिन पनि यसबीचमा जडान गरेर विरामीलाई अस्पतालभित्रै सबै सुविधा उपलव्ध गराउन खोजिएको उनको दावी छ ।
नेपालमै नभएको ग्यास्ट्रो मेडिसिनको एलास्ट्रोग्राफी पनि वीर अस्पतालमा स्थापना गरिएको छ । त्यस्तै आन्द्रा र खाना नलीको रोग पत्ता लाउने म्यानोम्याट्री मेसिन स्थापना गरेर आन्द्राको रोगको उपचार थालिएको छ ।
फोक्सोमा मेसिन घुसाएर एक्सरे गर्ने इबस नामको प्रविधि विश्वमा २००३ मा विकास भएको थियो । भारतमा २००९ मा भित्रिएको सो प्रविधि नेपालमा वीर अस्पतालले भित्र्याएको छ।
वीर अस्पतालको हालको भवन
काउन्टरमै बैंक राख्ने तयारी
सर्वोच्च अदालतको आदेश पालना गर्दै अस्पतालले आफ्नै भवनमा सरकारी औषधी पसल सन्चालनमा ल्याएको छ । त्यस्तै टिकट काउन्टरमा टोकन प्रणाली लागु गरेका निर्देशक बस्नेतले अब काउन्टरमै बैंक राख्ने र बैंकमै पैसा बुझाउने व्यवस्था मिलाउने बताएका छन् ।
वीर अस्पतालले सिंहदरवारमा एक्सटेन्सन हेल्थ डेक्स शुरु गरेको छ । असहायको लागि विपन्न नागरिक कोषमार्फत उपचार सेवा दिइरहेको अस्पतालले स्वास्थ्य बीमा पनि लागु गरेको छ ।
धुर्मुसले अस्पतालको मुहार फेर्दै
यसैबीच कलाकार सिताराम कट्टेल (धुर्मस)ले स्वयंसेवी अभियानबाट शुरु गरेको वीर अस्पताल सरसफाइ तथा रंगरोगन अन्तिम चरणमा पुग्दा अस्पतालको मुहार फेरिएको छ । अस्पताल भित्र र बाहिर रंगरोगन भइरहँदा सरसफाइमा पनि उल्लेख्य सुधार आएको उनले बताए ।
सरकारले वीर अस्पताल सुधार र सरसफाइका लागि सहयोग गरिरहेको र धुर्मुसको व्यक्तिगत सक्रियताका कारण पनि अस्पतालको मुहार फेरिएको कर्मचारीहरु बताउँछन् ।
निर्देशक बस्नेतले भने-‘ स्वास्थ्य मन्त्रालय, यहाँका पदाधिकारी कर्मचारी सबैको सहयोगमा अस्पतालमा उल्लेख्य सुधार ल्याउन सकिए पनि अझै अन्तर्राष्ट्रिय मापदण्डको बनाउने योजना पाइपलाइनमा रहेको छ।’