adv

भरतपुर अस्पतालमा निःशुल्क र आधा शुल्क तिरेर उपचार गर्नेहरुको संख्या बढ्यो

चितवन ।   चितवनको भरतपुर अस्पतालको सामाजिक सेवा इकाइबाट निःशुल्क र आधा शुल्क तिरेर उपचार गर्नेहरुको संख्या बढेको छ ।

अस्पतालको सामाजिक सेवा इकाइले दिएको जानकारी अनुसार गत वर्ष अस्पतालबाट ९ हजार तीन सय बिरामीले निःशुल्क र आधा शुल्क तिरेर उपचार गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष ७ हजार ७७ जना बिरामीले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन् । यो संख्या गतवर्षको भन्दा ३४.१ प्रतिशतले बढी हो ।

 

गत आर्थिक वर्षको असार मसान्तसम्म निःशुल्क र आधा शुल्क उपचारमा लिनेहरुमा महिला पाँच हजार १०१ र पुरुष चार हजार १९९ जना रहेका छन् ।

लक्षित समूह मध्ये गरीब तथा अतिगरीब समूहबाट सबैभन्दा धेरैं ६ हजार ४३ जनाले उपचार लिएको अस्पतालका सामाजिक सेवा इकाइ प्रमुख गोपाल पौडेलले जानकारी दिए ।

निःशुल्क उपचारका लागि अस्पतालबाट १ करोड २७ हजार ७४० रुपैयाँ खर्च भएको छ । यस मध्ये सरकारले ८० लाख रकम अनुदान पठाएको हो भने बाँकी रकम अस्पताल विकास समितिले खर्च गरेको हो ।

 

अघिल्लो आर्थिक वर्षपनि सरकारले ८० लाख मात्रैं रकम अनुदानका रुपमा पठाएको थियो ।

बिरामीको संख्या २ हजार भन्दा बढीले बढ्दा अनुदान रकम उत्तिनै हुनु दुःखद भएको इकाइ प्रमुख पौडेलले बताए । ‘कि त हामीले बिरामीको निःशुल्क उपचार नै रोक्नुपर्ने भयो कि त सरकारले रकम बढाएर पठाउनुपर्‍यो,’ उनले भने, ‘यसको मार अहिले नै देखियो, जस्तो की बिरामीले अस्पतालबाट पाउने सबै परीक्षण र चेकजाँच निःशुल्क पाएपछि औंषधि उपलब्ध गराउन सकिएन ।’

लक्षित समूह पनि बढाउने सरकारले उनीहरुको उपचारका लागि भने रकम नबढाएको गुनासो पौडेलको छ ।

 

अघिल्लो वर्षभन्दा पनि झन रकम घटाएर गत वर्ष पठाइएको थियो । पहिले ६ वटा मात्रै लक्षित समूह रहेकोमा अहिले बढाएर १२ वटा पुर्‍याइएको छ ।

अन्य अस्पतालको भन्दा भरतपुर अस्पतालको उपचार सेवा सहज र सजिलो भएकोले हरेक वर्ष सामाजिक सेवामार्फत उपचार लिने बिरामीको संख्या बढ्दै गएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविन खड्काले बताए ।

निःशुल्क उपचार गराउनुपर्ने धेरैजसो बिरामी भरतपुर अस्पतालमा नै आउने गरेकाले राज्यले बिरामीको चापका आधारमा दरबन्दी, सुविधा, उपकरण र बजेट दिनुपर्नेमा त्यसो हुन नसक्दा उपचारमा समस्या हुने गरेको मेसु डा. खड्काले गुनासो गरे ।

भरतपुर अस्पतालमा दैनिक १२ सय बिरामी उपचारका लागि आउने गर्दछन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु