शरणार्थी समुदायले ४५ लाखको लागतमा बनाए भुटानकै झल्को दिने गुम्बा
८ कार्तिक, दमक ।
भुटानी शरणार्थी शिविर बेलडाँगीबाट पुनर्वास कार्यक्रम रोजेर अमेरिकालगायत विभिन्न मुलुकमा शरणार्थी समुदायको स्थानतरण भएसँगै जिर्ण बनेको दमक ३ बेलडाँगीस्थित ड्रुक साङाक थार्पालिङ सार्वजनिक बौद्ध गुम्बा पुनर्निर्माण भएसँगै विधिवत उद्घाटनको अवस्थामा पुगेको छ ।
पुनर्वास रोजेर अमेरिका, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, न्युजील्याण्डलगायत विभिन्न मुलुकमा पुगेका भुटानी शरणार्थी समुदायको आर्थिक सहयोगबाट गुम्बा पुनर्निर्माणको काम सकिएको गुम्बाका अध्यक्ष एवम् आर्थिक समिति संयोजक राजमान गुरुङले जानकारी दिएका हुन् ।
‘४५ लाख लागतमा गुम्बा निर्माण गरेका छौं । अब अन्य संरचनाको काम बाँकी नै छ’, राजमान भन्छन् –‘मनले खाएकाहरुलाई नेपालमै पनि सहयोग मागेका छौं । तर, नेपाल सरकारको भने हामीले एक पैसा पनि लिएका छैनौं । किनभने यो गुम्बा हामी आफैले पुनर्निर्माण गरौं भन्ने योजना थियो ।’
आगामी नोभेम्बर १५ देखि १७ तारिक (कार्तिक २९ देखि मंसिर १ गते)सम्म विधिवत पूजा गरेर गुम्बाको उद्घाटन गरिने जानकारी दिँदै गुम्बा समितिले सोमबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार भेटघाट आयोजना गरेको थियो ।
पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष गुरुङले भने –‘यो गुम्बा भुटानी शरणार्थी समुदायले सन् १९९७ मा स्थापना गरेका हुन् । त्यो बेला बाँसको भाँटाले बारेर बनाइएको गुम्बा कालान्तरमा पुनर्वास कार्यक्रमसँगै मानिसहरुको चहलपहल कम भएर जिर्ण बन्दै गयो । त्यसैले यसको पुनर्निर्माण आवश्यक ठानेर हाल भुटानी कौशल प्रयोग गरेर बनाइएको हो ।’
बौद्ध धर्मावलम्बी शरणार्थी समुदायका लागि यो गुम्बा पवित्र शक्तिपिठ हो । त्यसैले यसको विधिवत उद्घाटन पूजा ल्हाबाब दुछेन अर्थात बुद्धको अवतरण भएको दिनमै गरिने गुरुङको भनाइ छ ।
सिक्किमस्थित देउराली गुम्बाका अवतारी बौद्ध लामा छोगत्रुल कुन्जाङ तेन्पाई ग्याल्छेनबाट गुम्बा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ भने पोखराका खेम्पो श्री लामा (थुप्तेन हिसे)बाट प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
ड्रुक साङाक थार्पालिङ सावैजनिक बौद्ध गुम्बा पुनर्निर्माण समिति, आमा समूह र लामा गुरूजनले तीन दिने कार्यक्रममा आम सहभागिताका लागि आह्वान समेत गरेका छन् ।
गुरुङले भने –‘भुटान हिँजो रहेका हाम्रा पैतृक सम्पत्ति केही पनि रहेनन् । यो हामी शरणार्थीहरुले भुटानको मातृभूमि र आफ्नो धर्म, संस्कृति सम्झिएर निर्माण गरेको शक्तिपिठ हो । त्यसैले यस गुम्बाको डिजाइन, यहाँ प्रयोग गरिएको कला कौशल र बुट्टा, रङरोकनसमेत भूटानकै गुम्बा जस्तो छ । किनभने तेस्रो मुलुक गएकाहरु हुन् वा हामी नेपालमै रहेकाहरु फेरि कसैलाई भुटान फर्किनु सम्भव छैन ।’
गुम्बामा विभिन्न समयमा पूजाआजादेखि मर्दापर्दा गर्नुपर्ने विभिन्न कर्म संस्कार पनि गर्न मिल्ने गरी निर्माण गरिएको राजमान थप्छन् ।
तेस्रो मुलुकबाट घुम्न नेपाल आउने भुटानी शरणार्थीका लागि पनि यो एक आकर्षणको केन्द्र र ऐतिहासिक सम्पदाका रूपमा रहने उनको दावी छ ।