adv

इलाम २ मा बढ्दो चुनावी सरगर्मी, उम्मेद्वार टुङ्गो लगाउन दलहरुलाई सकस

कमन देवान

२८ फागुन, दमक ।

पहिचान पक्षधरको साझा उम्मेद्वार को ? 

इलाम क्षेत्र नम्बर २ मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुने तय भैसकेको छ । निर्वाचन मिति तय भएसँगै उम्मेद्वारीको विषय चर्चामा पनि छ । तर, हालसम्म कुनै पनि राजनीतिक दलले आफ्नो दलीय उम्मेद्वारको टुङ्गो लाउन सकेका छैनन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा यस क्षेत्रको उम्मेद्वारका बारे जति चर्चा भैरहेको छ, यी ठूला भनिएका तीन दल बाहेक राष्टृय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र अन्य साना दलहरुको पनि आ आफ्नै चुनावी तयारी भैरहेको देखिन्छ ।

इलाम २ को उपनिर्वाचनको रोचक पक्ष अर्को पनि छ । त्यो भनेको विरासतको निरन्तरता वा क्रमभङ्गता भन्ने हो । यद्धपि दलहरुले अन्तिम उम्मेद्वारको टुङ्गो नलाउँदासम्म मतदातालाई भने अन्योल कायमै रहने देखिन्छ ।

बिरासतको निरन्तरताको सवाल

पूर्वसभामुख र संविधानसभाका अध्यक्ष समेत रहेका सुवास नेम्वाङको निधन भएपछि हुन लागेको इलाम २ को उपनिर्वाचनमा उनकै कान्छो छोरो सुहाङ नेम्बाङ पनि उम्मेद्वार बन्न लालायित छन् । सुहाङले उप निर्वाचनमा उम्मेद्वार बन्ने आकांक्षासहित इलाम जिल्ला पार्टीमा निवेदन हालेका छन् । सुहाङको यो उम्मेद्वारीलाई धेरैलाई विरासदको निरन्तरताका रूपमा अर्थ्याएका छन् ।

यद्यपि,  सुहाङको यो प्रयास अहिले नै सहज देखिंदैन । एमालेबाटै सुहङ पिता सुबासको सचिवालयमा लामो समय काम गरिसकेका बुद्धि खनालले समेत आफ्नो दावेदारीसहित निवेदन हालेका हुन् भने निवेदक अन्यमा एमालेका प्रदेश समिति सदस्य रिपल राई, जिल्ला नेताहरु देवि दुलाल क्षेत्री र रवीन्द्र मिश्र पनि टिकट लिने दौडमा छन् ।

एमाले जिल्ला पार्टीले दावेदारहरुबीच सर्वसम्मत हुन नसके माथिल्लो निकायमा निर्णयको लागि पठाउने बताइसकेको छ । यसर्थ पनि श्रीमानको निधनपछि श्रीमतीलाई चुनावी मैदानमा उम्मेद्वारका रूपमा उतार्ने र सहानुभूतिको मत बटुलेर बाजी मार्ने एमालेको पुरानै परिपाटीमा यस पटक बुबाको निधनपछि छोराले बाजी मार्दै विरासतमा निरन्तरता दिन सक्ने वा नसक्ने ? भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।

एमालेको जस्तै स्पष्ट संख्या र दृश्यमा काँग्रेसको चुनावी चक्कर र दावेदारीको विषय बाहिर न आए पनि बिगतमा सुबास नेम्बाङसँग झिनो मत (११४) ले पराजित बनेका तत्कालीन गठबन्धन समर्थित काँग्रेस उम्मेद्वार डम्बर खड्काकै पला भारी हुने अनुमान गरिएको छ ।

यद्यपि काँग्रेसबाट संविधानसभा सदस्य रहिसकेका नगेन्द्र  कुमाल र अर्का काँग्रेसी नेता रमेश लिङदेन दृश्यमा टिकटको दावेदार देखिन्छन् । 

पहिचान पक्षधर अझै अस्पष्ट

यस्तै,  प्रदेश १ मा जारी प्रदेश पुन: नामाङ्कन आन्दोलनको तर्फबाट संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिम उम्मेद्वार बन्ने भनिए पनि अन्दोलनरत घटकका बीचमा यो निर्णय अन्तिम भैनसकेको पाइएको छ ।

प्रदेश पुन: नामाङ्कन आन्दोलनको एउटा घटक जनता समाजवादी पार्टी , नेपाल (जसपा) ले इलाम २ को उपनिर्वाचनको लागि तीन जना नेतालाई सम्भावित उम्मेद्वारका रूपमा सिफारिस गरेसँगै पहिचान पक्षधर घटकमा एकरूपता नदेखिएको हो । जसपा इलामको आइतबार बसेको बैठकले पार्टीका तर्फबाट केन्द्रीय सल्लाहकार डा. महेन्द्र  लावती, केन्द्रीय सदस्य लोकसागर साम्बा र जिल्ला नेता यामप्रसाद लिम्बूलाई उम्मेद्वार सिफारिस गर्ने  निर्णय गरेको छ । ‘हामीले पार्टीको तर्फबाट सम्भावित उम्मेद्वार तयार गरेका हौं । अब सिफारिस नामलाई प्रदेश समितिमा पठाउँछौँ’, जसपा इलाम अध्यक्ष छिकिन तामाङले हरप्रहर न्यूजसँग भने ।

तामाङको भनाईको आसयलाई थप प्रष्ट पार्दै जिल्ला इन्चार्ज सञ्जय मेवाहाङ राईले पहिचान पक्षधर घटकसँग र पार्टी आवद्ध समाजवादी मोर्चासँग सम्वाद र छलफल खुला रहनेगरि पार्टीको तर्फबाट सम्भावित उम्मेद्वार सिफारिसको प्रकृया अगाडि बढेको जिकिर गरे  । ‘हामी संयुक्त संघर्ष समिति र समाजवादी मोर्चासँग सहकार्य गर्न खुला छौं । पार्टीको तर्फबाट सम्भावित उम्मेद्वारको लिस्टिङ मात्रै तयार गरिएको हो । यसैलाई अन्तिम हो भन्ने ठानिनु भएन’, राईले भने ।

संघर्ष समितिले पहिचान पक्षधर साझा उम्मेद्वारका रूपमा अघि सारेको पात्र थेगिम बारे सामाजिक सञ्जालहरुमा एमालेको पार्टी सदस्य भएको आरोप छ । एमाले पहिचान विरोधी पार्टी भएको र एमलेको पार्टी सदस्यले पहिचानको आन्दोलनको नेतृत्व गर्न नसक्ने, पहिचान पक्षधरको साझा उम्मेद्वार बन्न नहुनेलगायत विभिन्न मत र प्रतिकृया थेगिमविरुद्ध छ ।

विरासतमा क्रमभङ्गता हुनुपर्ने दावी

नेपालका राजनीतिक दलहरुले जनता र मतदातासँग गरेका प्रतिवद्धता पूरा नगरेको र नगर्ने आरोप लगाउँदै नेकपा माओवादी केन्द्र परित्याग गरेर स्वतन्त्र उम्मेद्वारका रूपमा इलाम २ मा उम्मेद्वार बन्न लागेको पत्रकार मिलन लिम्बूको दावी छ ।

लिम्बूले सामाजिक सञ्जालबाट र विभिन्न मिडियाहरुमा दिएका अन्तरवार्ताहरुमा जति राजनीतिक दलहरुको निकम्मापनको चर्चा गर्दै दलीय कार्यशैलीको विरोध हुने गर्छ, उत्ति नै विरासतमा क्रमभङ्गता आवश्यक हुने तर्क पेश गरेको पाइन्छ । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव पनि हुन् ।

स्वतन्त्र उम्मेद्वारी बारे सामाजिक सञ्जाल र मिडिया अन्तरवार्ताहरुबाट जानकारी गराइसकेका उनले दलीय दादागिरी र दलभित्र पनि पारिवारिक विरासतको निरन्तरता भैरहनुले देशमा भ्रष्टाचार र बेथितिले पुस्तादर पुस्तामा झाङ्गिने मौका पाइरहेको आरोप लगाएका छन् ।

तपाईले पारिवारिक विरासतको क्रमभङ्गता भनेर कोप्रति लक्षित गर्नुभएको ? भनेर हरप्रहर न्यूजले राखेको जिज्ञासामा लिम्बूले भने -‘पिताको निधनपछि चुनावको टिकट पुत्रले नै पाउनुपर्छ र राजनीतिक विरासत वंश परम्परा जस्तै निरन्तर रहनुपर्छ भनेर सोचिने परम्परा नै गलत परिपाटीको जड हो । यो जड मान्यताले देश र इलाम २ लाई थप असफल बनाउँछ । म यस्तो खराब परिपाटीका विरुद्ध आम इलामेली जनताको भरोसाका रूपमा जनपक्षीय उम्मेद्वार बनेको हुँ । म दलहरुका झुटा र भ्रामक आश्वासन भन्दा फरक जनताको सेवकका रूपमा स्वतन्त्र भै चुनावी मैदानमा जाँदैछु ।’

उनले आफू इलामकै माटोमा जन्मिएको र पक्षधरहरुको आन्दोलनमा निरन्तर कृयाशील रहेको दावी गर्दै प्रदेश १ को पुन: नामाकरण राजनीतिक मुद्दा भएको जिकिर गरे ।

इलाम २ को मत परिणामले प्रदेश सभाभित्रको दलीय अङ्कगणितमा प्रत्यक्ष असर नपारे पनि पहिचानको निम्ति निरन्तर लागेको र मिडियाबाट खबरदारी गरेको आधारमा पनि आफूप्रति पहिचान पक्षधर मतदाताको सहानुभूति बढी रहेको लिम्बूको दावी छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु