कमन देवान
८ बैशाख, साक्फारा ।
इलाम २ मा उपनिर्वाचनको सरगर्मी बढेको गएको छ । ८ जना स्वतन्त्रसहित १९ जना उम्मेद्वार चुनावी मैदानमा छन् । उम्मेद्वारहरुले आ–आफ्नो पक्षमा मतदान गर्न आह्वान गर्दै मतदाता भेट्ने र भोट फकाउने क्रम जारी छ । तर, यस पटक इलाम २ का मतदाताहरुमा उपनिर्वाचनलाई लिएर उतिधेरै उत्साह छैन ।
‘पहिले–पहिलो आउँदा र कुरा सुन्दा हो कि त ! जस्तो लाग्थ्यो । आफूलाई मनले खाएका उम्मेद्वारलाई भोट दियौँ र जितायौँ पनि । तर, अब हुँदैन । म त भोटमै जाँदिनँ’, चुलाचुली ६ आँपडाँडाकी ५८ वर्षीया मञ्जु राईले उम्मेद्वार र निर्वाचन बारे पोखेको वितृष्णा हो यो ।
उनले थपिन् –‘मर्ने बेला हुन लाग्यो । न बाटोको सुख, न पानी–बिजुलीको । भोट दिएर के काम ? आफ्नो दुःख आफैसँग छ ।’
उपनिर्वाचनका उम्मेद्वारहरुले चुनावी अभियानलाई तिव्र बनाइरहेका छन् । सामाजिक सञ्जालहरुमा उपनिर्वाचनको रौनक छ ।
स्वतन्त्र, पहिचानवादी, ठूला र पुराना दलदेखि नयाँ भनिएका राजनीतिक दलका उम्मेद्वारहरुले मतदातालाई आफूतर्फ आकर्षित गर्न फेसबुक लाइभ गर्नेदेखि भोट माग्न आर्टिफिसिअल एन्टिलिजेन्स (एआई) को समेत प्रयोग गरिरहेका छन् ।
पूर्वप्रधानमन्त्री, बहालवाला मन्त्रीदेखि विभिन्न दलका प्रभावशाली नेता, अभियान्तादेखि कवि, कलाकार, पत्रकारहरु आ–आफ्ना उम्मेद्वारको गुणगान गाउन वा अन्य उम्मेद्वारका अबगुण बारे जनतामाझ चर्चा गर्न हात धोएर लागि परेका छन् । अझ सामाजिक सञ्जाल त चुनावी जुहारीले प्रदुषित नै बनिसकेको अवस्था छ ।
यतिबेला इलाम २ का विभिन्न चोक, गल्लीहरुमा चुनावी सभा र सांगीतिक कन्सर्टहरु दैनिक भइरहेका देख्न सकिन्छ । तर, इलाम २ मै चुनावदेखि वाक्कदिक्क बनेका मञ्जु राईहरु पनि भेटिएका छन् ।
आफूहरुलाई २०४८ सालको निर्वाचनदेखि राजनीतिक दल र नेताहरुले भेट माग्दै झुक्याउँदै गरेको धारणा फुङनाम बजारका भक्त श्रेष्ठको छ । ‘जनतालाई कम्तिमा सुरक्षित बाटोघाटो, शिक्षा, स्वास्थ्य र खानेपानी उपलब्ध गराउने कुरामा पनि जितेर गएका जनप्रतिनिधिले बोलिदिएनन्’, ५८ वर्षीय श्रेष्ठले भने ।
बिगत ८ पुस्तादेखि फुङनाममा बसोबास गर्दै आएको श्रेष्ठको परिवारले थुप्रै चुनाव र उम्मेद्वार देखेका छन् । तर, नेताले चुनावमा दिएका आश्वासन कहिल्यै पूरा नभएको तीतो अनुभव उनी सुनाउँछन् ।
उपनिर्वाचन २०८१ मा उम्मेद्वार बनेका नेताहरु गाडीघोडा लिएर अक्कलझुक्कल भोट माग्दै आइपुग्छन् साक्फाराका विभिन्न ठाउँहरुमा । चोकचोकमा भाषण पनि गर्छन् । तर, मतदाता जनता हेर्न सुन्न खासै उत्साहित भएर जाँदैनन् । ‘आउनु हुन्छ । यतै बजारतिर आउनु हुन्छ । कोही भाषण गर्नुहुन्छ, कोही पर्चा बाँढेर जानुहुन्छ । आफूलाई आफ्नै कामले फुर्सद छैन । के नेताको कुरा सुनिराख्नु ? उनीहरुले हाम्रो समस्या समाधान गरिदिए पो त ?’, दशमी बजारकी कल्पना तामाङले दिक्दार मान्दै भनिन् ।
‘बर्खामा बाटोको टुङ्गो नहुँदा हामीले यहाँबाट बिरामी उपचार गर्न भेडेटार हुँदै लानु पर्छ । त्यताको बाटोको टुङ्गो भएन भने पञ्चमी, लारुम्बा, महमाई हुँदै बिर्तामोड पुर्याउनु पर्छ । भोट माग्नु आउने नेताहरुलाई यो कुरा थाहा छ नि ! तर, जितेर जानेले बिर्सिहाल्छन्’, तामाङ भन्छिन् । उनको जस्तै दुखेसो थुप्रै साक्फारावासीका छन् ।
‘चुनावमा भोट माग्नु आएर जितेका सांसदले हाम्रो गाउँघरमा फेरि अर्को चुनाव भन्दा अगाडि आएको र जनतासँग भेटेको, उनीहरुको समस्या बारे छलफल गरेको मलाई थाहा छैन’, पश्चिम दक्षिण इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ६ (साविक साक्फारा गाविस) का वडाअध्यक्ष दिलकुमार राईको गुनासो हो यो ।
‘उम्मेद्वार आउँदै र घुम्दै गर्नु भा होला । तर, यो भेगका मतदातामा चुनावको बारेमा बिगत वर्षहरुमा जस्तो चासो छैन । जो जितेर गए पनि हाम्रो समस्या सुनुवाई हुँदैन भन्ने परिसकेको छ’, वडा अध्यक्ष राईले थपे ।
साक्फाराबासीले दशकौंदेखि झेल्दै आएको अविकास, समस्या र सास्तीका कारण निर्वाचनप्रति वितृष्णा उत्पन्न भएको वडा अध्यक्ष राईको भनाइ छ । ‘बिगतमा भोट माग्न आउँदा दल र उम्मेद्वारहरुले बोलेका कुरा र चुनावी घोषणापत्रमा लेखेका कुरा पूरा नगर्दा जनता निरास हुनु स्वाभाविक हो’, उनी भन्छन् ।