उम्मेद्वारका पूरानै एजेण्डा, मतदातालाई छैन रुची
कमन देवान
११ बैशाख, माङसेबुङ ।
इलाम २ मा उपनिर्वाचनको मिति जति जति नजिकिँदै छ, उत्ति नै बाक्लो गरी उम्मेद्वारहरुको दौडधुप चलिरहेको छ । मतदातालाई प्रभावित पारेर आफ्नो पक्षमा मत सुरक्षित गर्न यस पटक भने राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारहरुले डिजिटल प्लेटफर्मको बढी उपयोग गरेका छन् ।
बिगतका निर्वाचनहरुमा घर, पर्खाल, बिजुलीका पोल आदिमा उम्मेद्वारको तस्वीर, चुनाव चिन्ह, पोष्टर, फ्लेक्स टाँस्ने र झुण्ड्याउने क्रम घट्दो क्रममा छ भने सामाजिक सञ्जालहरुमा निर्वाचन प्रचार प्रसारले स्थान लिँदै गएको छ । तुलनात्मक रूपमा चुनाव प्रचारको शैली प्रविधिमैत्री बनेको छ ।
सामाजिक सञ्जालको भरपूर प्रयोग गरेर उम्मेद्वारहरुले आफ्ना कुरा जनतासम्म पुर्याउने कोसिस गरेको देखिन्छ । तर, चुनाव प्रचारको शैलीमा परिवर्तन आए पनि चुनावमा बाजी मार्ने सम्भावना बोकेका उम्मेद्वार र दलहरुको चुनावी एजेण्डामा भने परिवर्तन आएको देखिँदैन ।
स्वतन्त्रतर्फका ८ जनासहित विभिन्न दलका समेत गरी १९ जना उम्मेद्वार यतिबेला इलाम २ को उपनिर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । चुनावी मैदानमा रहेका उम्मेद्वारले चुनावी घरदैलोमार्फत भन्दा बढी सामाजिक सञ्जालमार्फत विभिन्न सन्देश सम्प्रेषण गरेर मतदातालाई फकाउने कोसिस गरेको देखिन्छ ।
इलाम २ को उपनिर्वाचनमा भइरहेको प्रचार–प्रसारको स्थलगत अवलोकन गर्न आएका डेमोक्रेसी रिसोर्स सेन्टर नेपालका अनुसन्धानकर्ता चिरन मानन्धरले चुनाव प्रचार प्रविधितर्फ आकर्षित हुँदै गएको टिप्पणी गरे ।
‘आफ्नो चुनावी प्रचारलाई उम्मेद्वारहरुले सामाजिक सञ्जाल र इन्टरनेटका माध्यमबाट बढी व्यापकता दिन खोजेको पाइयो’, अनुसन्धानकर्ता मानन्धरले भने ।
-
अरुचीकर एजेण्डा
दलका वा स्वतन्त्र उम्मेद्वारले मुख्यतः त्यहि पुरानै बाटो, बिजुली, खानेपानी, स्वास्थ्य सेवालगायत कुरा नै लिएर मत माग्न गएको देखिन्छ । स्थानीय मतदाताले भने यस पटक पनि दलका र स्वतन्त्र उम्मेद्वारहरुले पुरानै निर्वाचनकै नारा लिएर मत माग्न आउने गरेकाले वाक्कदिक्क लाग्न थालेको प्रतिक्रिया दिएका छन् ।
‘चुनावमा देख्ने, नमस्ते गर्दै भोट माग्न आउने । अनि बोलेका कुरा पूरा नगर्ने । फेरि पुरानै कुरा लिएर आउने परिपाटी दोहोरिएको छ’, शर्मिला राईले भिनन् । इलामको माङसेबुङ ६ चिसोपानी पञ्चमी बजारमा होटल व्यवसाय गर्दै आएकी राईका अनुसार उम्मेद्वारका पहिलेकै बाचा सुनेर निर्वाचनप्रति रुची घटेको बताइन् ।
‘अहिलेका उम्मेद्वारहरु सुहाङ, मिलन, डम्बर, डकेन्द्र, जितबहादुरले यहाँ आएर भोट माग्नु भयो । तर, उहाँहरुले विकासे नारालाई नै पहिले जस्तै जोड दिनुभएको पायौँ’, राईले भनिन् ।
माङसेबुङ ३ का ८५ वर्षीय मनवीर योङहाङलाई भोट माग्दै आउने उम्मेद्वारहरुसँग गुनासो छ । ‘अलिअलि गुनासो छ । बाटो पनि दिँदैन, नालापानी पनि दिँदैन’, उनले आफ्नो गुनासो पोखे । यस पटक कसलाई भोट दिने होला ? भनेर आफू अलमल्लमा परेको सुनाउँदै उनले भने –‘अब जसले गाउँको रक्षा गर्छ उसैलाई दिनुपर्ला ।’
चुलाचुली ६ फुङनाममा किराना र होटल व्यवसाय गर्दै आएका गोपाल श्रेष्ठलाई पनि चुनावमा हरेक पटक नेताहरुले बाटो, बिजुली, खानेपानीकै रटान लगाउने गरेकोमा दिग्दार लागेको छ । ‘बर्खामासमा यहाँबाट हिँडेर तोरीबारी पुग्नु पर्यो भने ६ घण्टा लाग्छ । दशमी पुग्नलाई २ घण्टा लाग्छ । भोट माग्न आउनेले बाटो बनाउने कुरा गर्छन् । हामी वर्षेनी बाटोकै समस्याले ग्रस्त छौं । गाउँलेकै प्रयासमा बाल्दै आएको लघु जलविद्युतको भर हुँदैन । राष्ट्रिय प्रशारण लाइनको बिजुली कहिले बाल्ने ? थाहा छैन’, बेलीविस्तार लगाउँछन् गोपाल ।
श्रेष्ठकै जस्तो गुनासो चुलाचुली ५ कर्केनीटारका चंखमान विश्वकर्माको पनि छ । ‘चुनाव आएपछि मिठा आश्वासन लिएर नेता भोट माग्न आउँछन् । यो बाटो मधुमल्लादेखि दाह्रे गौँडासम्म पिच गरिदिन्छु भन्छन् । हामी मक्ख परेर भोट दिन्छौँ । जितेर गएपछि नेता फर्केर आउनै गाह्रो’, विश्वकर्माले भने ।
देउमाई नगरपालिका ९ का तारावीर लिम्बूलाई भने आफ्नो गाउँघरमा मत माग्दै आउने उम्मेद्वारका बारे खासै चासो छैन । ‘चुनावमा जे–जे भन्दै आए पनि उनीहरुको उद्देश्य चुनाव जित्ने हो । चुनाव जितेर जानेले प्रतिबद्धता पूरा गर्दैन । त्यै भएर आजकल वास्ता नै लाग्दैन’, लिम्बूले भने ।
‘विकाससँगै युवाका कुरा, पहिचानका कुरा .गरेको पनि यदाकदा सुनिन्छ । तर, पटक–पटक झुक्किएका जनताले अबको निवार्चनमा कस्तो मनस्थिति बनाएका छन् ? यसै भन्न सकिएन’, उनले अस्पष्टता पोखे ।
माङसेबुङ ६ को पञ्चमी बजारमा ३२ वर्षदेखि व्यवसाय गर्दै आएका ६० वर्षीय गजेन्द्र कार्कीका लागि चुनावमा नेताको आश्वासन र दमक–पञ्चमी बाटो उस्तै लाग्छ । ‘गर्छु भन्नु पनि नछोड्ने, कहिल्यै पूरा नहुने पनि । अब त बर्खामा हिलो र हिउँदोमा धुलो खाँदाखाँदै मरिन्छ होला जस्तो लाग्न थालेको छ’, निरास हुँदै कार्कीले भने ।
दल वा उम्मेद्वारले अब पनि यसै गरि जनता ढाँटिरहने हो भने जनताले पनि विकल्प खोज्ने उनको भनाइ थियो ।
इलाम २ मा बैशाख १५ गते उपनिर्वाचन हुँदैछ । १ लाख १५ हजार ८८९ मतदाताले मतदान गर्दैछन् ।