माङसेबुङ । इलामको माङसेबुङमा ‘१६औं पवित्रहाङमा गोल्डकप २०८२‘ हुने भएको छ । मुहिङगुम अङसीमामा साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महासमारोहको अवसरमा आयोजित अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता यहि माघ २५ गतेदेखि फागुन ३ गते सम्म सञ्चालन हुने भएको छ ।
माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा प्रतियोगिता सञ्चालन गरिने महासमारोह खेलकुद विभाग संयोजक आत्मापवित्र हक्चात यक्चुमको अध्यक्ष मनप्रसाद आङबुहाङले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
प्रतियोगितामा नेपाल र भारतका ८ प्रतिष्ठित फुटबल क्लबहरुलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ । सहभागी टिमहरुमा नेपालबाट फेयर फुटबल क्लब सुनसरी, जनता सेवेन क्लब इलाम, मिक्लाजुङ फुटबल क्लब पाँचथर, दारिम्बा फुटबल क्लब याङवरक पाँचथर, बेलबारी फुटबल क्लब मोरङ, पद्मा स्पोर्टस क्लब ओखलढुङगा र लेटाङ फुटबल क्लब मोरङ रहेका छन् ।
यसैगरी भारतबाट पाहुना टोलीका रुपमा हिमालय फुटबल क्लब कर्साङ सहभागी हुने निश्चित भएको छ ।
प्रतियोगितका विजेता टिमले नगद ३ लाख ७० रुपैयाँ र उपविजेताले २ लाख ७० रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन् ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, उदयमान खेलाडी र उत्कृष्ट डिफेन्सलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।
समारोहमा फुटबलका साथै महिला ब्याडमिन्टन, म्याराथन, छेलो हान्ने, धनुबाँड हान्ने, हाँडी फुटाई लगायतका खेलहरुसमेत आयोजना गरिने छ ।
खेलकुद कार्यक्रमको संयोजन आत्मापवित्र खेलकुद समितिले गर्नेछ ।



