adv

चन्द्रगढी महिला गोल्डकप वैशाख ५ गतेदेखि, विजेतालाई ११ लाख पुरस्कार


भद्रपुर ।
झापाको भद्रपुरमा पहिलोपटक आयोजना हुन लागेको “चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता “आगामी वैशाख ५ गतेदेखि १४ गतेसम्म मेची रंगशालामा सञ्चालन हुने भएको छ।

आयोजक चन्द्रगढी युवा क्लबले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिताका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रोहित सुब्बाले बताए ।

प्रतियोगिताको मुख्य प्रायोजक ओमसाई पाथिभरा हस्पिटल रहेको छ भने उपविजेताको पुरस्कार ५ लाख सजिलो नेटले प्रायोजन गरेको छ।


प्रतियोगिताको विजेता टिमले ११ लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ । जुन नेपालकै महिला फुटबलतर्फको सर्वाधिक पुरस्कार राशी भएको दाबी गरिएको छ। त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक तथा उच्च गोलकर्तालाई पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगदसहित ट्रफी दिइनेछ।

प्रतियोगितामा आयोजकसहित नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब, साथै चर्च ब्वाइज युनाइटेड र संकटा फुटबल क्लबका महिला टिमहरूको सहभागिता सुनिश्चित भइसकेको छ।

यसबाहेक एक टोली भारत, एक भुटान र दुई अन्य एसियाली देशका क्लबहरू सहभागी हुनेछन्। आयोजकले महिला फुटबलको विकास र प्रवर्द्धनसँगै झापालाई फुटबल हबका रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ। प्रतियोगितालाई दीर्घकालीन रूपमा निरन्तर सञ्चालन गर्ने योजना समेत क्लबले अघि सारेको छ।


प्रतियोगितालाई लक्षित गर्दै मेची रंगशालाको स्तरोन्नति कार्य तीव्र रूपमा अघि बढाइएको छ। दर्शक क्षमतालाई ध्यानमा राख्दै अस्थायी प्यारापिट निर्माण तथा मैदान सुधारको काम चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

करिब एक करोड रुपैयाँ लागत अनुमान गरिएको यस प्रतियोगितालाई सफल बनाउन झापाका उद्योगी, व्यवसायी, खेलप्रेमी, सञ्चारकर्मी तथा सरोकारवाला सबैलाई आयोजकले सहयोग र सहभागिताका लागि अपिल गरेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु