
धरान । लिम्बु पत्रकार सङ्घका पूर्वअध्यक्ष युवराज लिम्बूको १३औँ स्मृति दिवस सम्पन्न भएको छ । सङ्घको प्रथम महाधिवेशनबाट निर्वाचित अध्यक्ष लिम्बुको १३औँ स्मृति दिवस आइतबार धरानस्थित चुम्लुङ हिममा सम्पन्न भएको हो ।
लिम्बु पत्रकार सङ्घ सङघीय कार्यसमितिद्वारा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार तथा सल्लाहकार हर्ष सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सेसेमी सिरेङ नाल्वो, अमित थेवे, मोहन हुक्पा चोङवाङ लगायतले स्वर्गीय लिम्बुको व्यक्तित्व र योगदानबारे प्रकाश पारेका थिए। नाल्वोले पत्रकारितामार्फत लिम्बुले याक्थुङ पहिचानलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।
त्यस्तै, पत्रकार अमित थेवेले दुई दशकअघिदेखि परिचित पत्रकार लिम्बु सधैँ समुदायको मुद्दा र पत्रकारहरूको सशक्तीकरणका पक्षमा दृढ रूपमा उभिएको स्मरण गरे।
प्रमुख अतिथि सुब्बाले याक्थुङ लिम्बु पत्रकारहरूको सुदृढीकरण तथा संस्थागत अभियानमा युवराज लिम्बुले उल्लेखनीय भूमिका खेलेको बताए।
सङ्घका अध्यक्ष सन्देश सुब्बा सेन्लपको अध्यक्षतामा सम्पन्न कार्यक्रमा तुम्याङहाङ परिषद्का मोहन हुक्पा चोङवाङ, सल्लाहकार निलिफा सुब्बा, नेपाल पत्रकार महासङ्घ प्रदेश महासचिव हिमा चेम्जोङ, प्रदेश सदस्य तथा फोनीज सङ्घीय सदस्य बिनु चेम्जोङ, सुनसरी उपाध्यक्ष यशोदा सेने, कियाचु सुनसरी अध्यक्ष शिव इस्वो ,सङ्गीता सुब्बा, सेसेमी सिरेङ नाल्वो लगायतको उपस्थिति रहेको थियो।
सङ्घका जिल्ला समिति सुनसरीका अध्यक्ष स्वर्णिमहाङ फोम्बोले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव जीवन योङहाङ लिम्बुले गरेका थिए ।
२०६९ चैत ३० गते धरानमा सम्पन्न लिम्बु पत्रकार सङ्घको पहिलो महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएको २४ घण्टा नबित्दै इटहरीमा निम्न रक्तचापका कारण लिम्बुको निधन भएको थियो। निधनका बेला उनी ३४ वर्षका थिए। उनका श्रीमती र एक छोरी छन्।
ताप्लेजुङको साँघु स्थायी घर भएका लिम्बु मोरङको इटहरीमा सपरिवार बसोबास गर्दै आएका थिए। गोरखाज साप्ताहिकका कार्यकारी सम्पादक रहेका उनी इन्डिजिनियस टेलिभिजनको संस्थापक टिममा समेत आवद्ध थिए।
काठमाडौंमा रहँदा उनले रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसबाट आमसञ्चार तथा पत्रकारिता विषयमा उच्च तहको अध्ययन पूरा गरेका थिए।
उनको स्मृतिमा २०७० सालमा कियाचु युवराज चोङवाङ स्मृति पुरस्कार स्थापना गरिएको छ। साथै, सङ्घीय समितिले उनको योगदानको स्मरणमा स्मृति ग्रन्थ प्रकाशन गर्ने तयारी गरिरहेको सङ्घका अध्यक्ष सन्देश सुब्बाले जानकारी दिएका छन्।

