३ कार्तिक, काठमाडौं ।
आदिवासी जनजाति आयोगले महिलाले जन्म र विवाह दुवै आधारमा आरक्षण सम्बन्धि दोहोरो सुविधा लिने अवस्था रहेको भन्दै त्यसलाई अन्त्य गर्न सिफारिस गरेको छ ।
आदिवासी जनजाति आयोगले हिजो बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार समावेशीकरण एवम् आरक्षण सम्बन्धी वर्तमान व्यवस्थामा त्रुटि रहेको भन्दै पुनरावलोकन गर्न नेपाल सरकारलाई सिफारिस गरिएको हो ।
गैरआदिवासी जनजाति समुदायका महिला आदिवासी जनजातिसँग विवाह गरेर आएपछि आदिवासी जनजाति समुदायको प्रतिनिधित्वको रूपमा आरक्षणको सुविधा लिने गलत परम्पराको विकास भएका कारण दोहोरो सुविधा लिने परिस्थितिको अन्त्य गरिनुपर्ने अयोगको ठहर छ ।
पत्रकार सम्मेलनमा आयागका अध्यक्ष रामबहादुर थापामगरले भने– ‘महिलाको सन्दर्भमा समावेशीकरण एवम् आरक्षणको अवसर विवाहको आधारमा नभइ जन्मको आधारमा हुनुपर्छ । गैरआदिवासी जनजाति महिलाले आदिवासी जनजातिसँग विवाह गरेर आएकै भरमा आदिवासी जनजातिको रूपमा सुविधा लिने व्यवस्था हटाउन आवश्यक छ ।’
समावेशीकरण समूह अन्तरगत आदिवासी जनजाति मध्ये पनि पहुँचवाला र निश्चित वर्ग विशेषले मात्र आरक्षण उपयोग गरिरहेको भन्दै आयोगले आरक्षण सम्बन्धि व्यवस्थामा पुनरावलोकन गर्न सरकारलाई सिफारिस गरेको हो ।
आयोगले पत्रकार सम्मेलन गरी तेस्रो वार्षिक प्रतिवेदनमार्फत समावेशीकरण एवम् आरक्षण सम्बन्धि व्यवस्था पुनरावलोकन गर्न सरकारलाई सिफारिस गरिएको जानकारी दिएको छ ।
आयोगले राष्ट्रपति समक्ष बुझाएको प्रतिवेदनमा भनिएको छ –‘समावेशीकरण एवम् आरक्षणको अवसर पहुँचवाला, निश्चित वर्ग, लिङ्ग, जातजाति र समुदाय विशेषले मात्र उपयोग गरिरहेकाले आदिवासी जनजातिभित्रका पनि सबै जातजाति र समुदायको प्रतिनिधित्व सुनिश्चित हुनेगरि वर्तमान नीति पुनरावलोकन गर्न आवश्यक छ ।’
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापामगरले भने –‘समावेशीकरण समूह अन्तर्गतका अति सीमान्तकृत र लोपउन्मुख समुदायले अवसर नै नपाउने अवस्था बन्यो । त्यसैले, यो व्यवस्था पुनरावलोकनका लागि सिफारिस गरिएको हो ।’
आयोगले एकै व्यक्तिले पटक–पटक आरक्षणको सुविधा उपयोग गर्ने अवस्थाको अन्त्य गर्न पनि सिफारिस गरेको छ ।
एकै व्यक्तिले पटक–पटक आरक्षणको सुविधा उपभोग गर्दा समावेशी समूह अन्तरगतकै अति सीमान्तकृत र लोपउन्मुख समुदायले अवसर सदुपयोग गर्न नपाएका कारण यस्तो सिफारिस गरिएको अध्यक्ष थापामगरले बताए ।
आयोगले प्रतिवेदनमार्फत आदिवासी जनजातिलाई अधिकार सुनिश्चित गर्ने सन्दर्भका २८ विषय सिफारिस गरेको छ ।
सिफारिसमा आदिवासी जनजातिको प्रथाजनित कानुन प्रयोग गर्न दिनुपर्ने, विकास निर्माणका सन्दर्भमा आदिवासी जनजाति समुदायसँग ‘स्वतन्त्र र सुसूचित मञ्जुरी’ लिनुपर्ने लगायत विषय समेटिएका छन् ।