दमक । झापाको दमकमा सम्पन्न अन्तर व्यवसायी ब्याडमिन्टन प्रतियोगितामा रोहित लिम्बू र पुष्पराज पाण्डेको जोडी च्याम्पियन भएको छ ।
दमक ७ नमुना बस्तीमा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमिको हलमा आयोजित प्रतियोगितामा अटो मोबाइलबाट खेलेका विजेता जोडीले फाइनलमा प्रहरीको विजय राई र रेडिमेड व्यवसायी फौदसिंह राईको जोडीलाई पराजित गरेको थियो ।
त्यसैगरी अटो मोबाइलकै घनश्याम खनाल र अर्जुन ढकाल सहित मदिरा व्यवसायी नगेन्द्र चौलागाई र मोहन चौलागाईको जोडीले तेस्रो स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले क्रमशः नगद १० हजार, ८ हजार र ६ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजन दमक उधोग वाणिज्य संघका सदस्य तुलसीराम तिमल्सिनाले गरेका थिए ।
दमक नमुना ब्याडमिन्टन एकेडेमीका अध्यक्ष प्रकाश राई, राष्ट्रिय अम्पायर भवानी आङ्देम्बे लगायतको उपस्थितिमा सम्पन्न प्रतियोगिताको मुख्य रेफ्रि मिहाङ राई र सहायक रेफ्रि सन्तोष राई रहेका थिए । उक्त प्रतियोगितामा दमक नगर भित्रका होटल, किराना, सुनचाँदी, रेडिमेड, जुत्ता चप्पल, अटो मोबाइल, मोबाइल व्यवसायी, फार्मेसि लगायतका व्यवसायीहरुको सहभागिता रहेको आयोजक समितिका सदस्य पुष्पराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार यस लगायत बैंकर्स, नगर कर्मचारी, पत्रकार लगायतका संस्थाहरुको समेत प्रतियोगितामा सहभागी रहेको थियो ।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारा रहेको प्रतियोगिता आपसी भाइचारा, सद्भाव कायम राख्न आयोजना गरिएको पाण्डे बताउछन् । उनी थप्छन– पुष ३ गते देखि दमकमा हुन लागेको राष्ट्रिय स्तरको पहिलो दमक नमुना ब्याडमिन्टन प्रतियोगिताको तयारीको लागि पनि यो प्रतियोगिताले टेवा पुग्ने विश्वास लिएका छौ ।



