adv

सगरतटदेखि सैलुङ सिखरसम्मः १६ वर्षे कथा

– देवेन्द्र सुर्केली

आत्मवृतान्त वा आत्मकथन भन्ने वित्तिकै ‘आत्मादेखि नै बोलिएको ग्रन्थ वा कोश’ भन्ने बुझिन्छ । संस्मरणकै पाटोमा उभिने आत्मवृतान्तले संस्मरणभन्दा केही फरक रूपमा पस्किइने विधा हो । संस्मरणले विषयगत रूपमा उठाइएको हुन्छ भने आत्मवृतान्तले जीवनका सम्पूर्ण पाटोलाई सरासर उक्काइएको हुन्छ ।

भाषाविद् अमृत योन्जन–तामाङले आफ्नो आत्मकथा लेख्न सुरु गरेका छन् । आत्मकथाको प्रकृति लामो र पुस्तकारको रूपमा धेरै नै मोटो हुने गर्दछ । तर योन्जनका आत्मवृतान्त मुस्किलले १०० पेज नाघेको छ । मोटो पुस्तक, लामो लेखाई र खर्चिलो छपाईको कारणले पनि होला, योन्जनको आत्मवृतान्त पुस्तकमा धेरै बठ्याईपन भेटिएको छ । पहिलो खण्ड ‘तिल्पुङे ठिटोः संस्कृति विमर्श’ जन्मिएदेखि वर्षदेखि १६ वर्षसम्मका कथाहरूलाई समेटिएको छ भने दोश्रो खण्ड ‘तिल्पुङे ठिटो: सगरदेखि सैलुङ सिखरसम्म’ १७ वर्षदेखि ३२ वर्षको उमेरअवधिको कथालाई समेटिएको छ । प्रत्येक १६ वर्षलाई एक अध्यायको रूपमा आउने आत्मवृतान्त बाचुञ्जेलसम्मको कथा जोड्दा निकै ठूलो र लामो कथा हुनेछ भन्ने तथ्य यसले देखाएको छ ।

यहाँ दोश्रो खण्ड अर्थात ‘तिल्पुङे ठिटोः सगरदेखि सैलुङ सिखरसम्म’ पुस्तकको छोटो चर्चा गरिन्छ । बढिजसो तामाङ भाषामा समर्पित अमृत योन्जन–तामाङले तामाङ भाषामा धेरै ग्रन्थ, शब्दकोश, व्याकरण आदिमा कलम चलाएका छन् भने नेपाली भाषाका कृतिहरूमा पनि तामाङसँग सम्बन्धित कथा, पात्रलाई उजागर गर्ने गर्दछन् । भाषा साहित्यको लागि आफ्नो जीवन त अर्पिए, तर अर्पिनुको पाटो र बाँच्नुको पाटो फरक–फरक हुनेछ भन्ने तथ्य यस आत्मवृतान्तले देखाएको छ ।

२०२८ सालको कालमा आदिवासी तामाङ समुदायका १६ वर्षे ठिटोलाई पढाउनु पर्छ भन्ने सोच परिवारमा पलाउनु, भारतमा कार्यरत बुबाको साथमा गएर पढ्नु हालका युवाजगतलाई प्रेरणाश्रोतको रूपमा लिन सकिन्छ । तामाङ मातृभाषीमा जन्मिएर नेपाली स्कुलमा नेपाली भाषालाई आफ्नो जिब्रोमा राम्ररी राख्न नपाउँदै हिन्दी भाषिक स्कुलमा भर्ना हुनु निकै संघर्षमयी त छँदैछ, ‘हिन्दी नही जान्नेवाला लड्का’का रूपमा परिचय पाएका अमृतले अंग्रेजी विषयचाही उतीर्ण गर्नु पनि भाषिक रूपमा फड्को मारेको देखिन्छ ।

यस पुस्तक दुई भागमा विभक्त छ –पहिलो घुम्तीमा ‘कोलकातातिर रम्दै (२०२८–२०३७)’ र दोश्रो घुम्तिमा ‘सैलुङतिर बरालिदै (२०३७–२०४४)’ । ९ वर्षे कोलकताको पढाई जीवनमा पढ्ने मात्र काम गरेनन् योन्जनले । हिन्दी भाषा पढेता पनि कलकता पश्चिम बंगालको भू–भाग पर्ने भएकोले बाहिरी परिवेश बंगाली भाषाको प्रभुत्वले अलमल नपारेको होइन । उक्त अलमलमा नअलमलिएर नेपालमा रहेको विविध भाषालाई पनि कसरी उठाउन सकिन्छ भन्ने मनैबाट आन्दोलित भएबाट नै तामाङ भाषाप्रतिको मोह उब्जेको कुरा पनि बुझिन्छ । पढाईताका साहित्यतर्फ झुकेको मन, डायस्पोरिक नेपाली जीवनको अध्ययन, कलकतामा भएको नेपाली भाषिक आन्दोलनको प्रभाव, रैथाने नेपालीसँगको संगत आदि कथाहरू पहिलो घुम्तीमा छन् ।

कोलकातालाई वाई वाई गरेर २०३७ सालमा आफ्नो गाउँ फर्किआएका योन्जनले पढाईसँग तर्सिएका गाउँका आफन्त शासकबाट नागरिकता बनाउनसम्म नपाउने तथा जागिर नपाउने कुराहरूले योन्जनलाई निराश पनि बनाएको छ । काम नपाएर विष्णुमति खोलाबाट बालुवा निकाल्ने सम्मको सोँच पनि नआएको होइन । यद्यपि पत्रकारिताबाट शुरु गरेर सिचाई सर्वे गर्न बर्दियाको जंगलमा पुगेको, तामाङ र अंग्रेजी भाषाको इन्टरप्रेटर गर्न नुवाकोट जाँदा तामाङ भाषाको विविधता जान्न पुगेको प्रसँग, शिक्षण पेशामा पाँच वर्ष बिताउँदा राम्रो शिक्षक नजाओस् भन्नका लागि पिङ्खुरीमा विवाह गरिएको प्रसँग कम रोचक छैन ।

कोलकतामा पाएको भाषिक आन्दोलन ज्ञानले तामाङ भाषाको प्रेमी बनाएको योन्जनलाई तामाङप्रतिको प्रेम अगाध रहेको कुरा पुस्तक पढ्दा थाहा हुन्छ । आत्मकथाभित्र पिङ्खुरीको भौगोलिक अवस्थादेखि त्यहाँ रहेका मोक्तान–तामाङहरूको अवस्थिति, लोककथाहरूको प्रसँग पनि जोडेका छन् । अघिल्लो आत्मवृतान्त तिल्पुङे योन्जनहरूको अवस्थितिबारे पस्काएका थिए ।

आत्मकथन लेखिदा इमान्दारिता अपनाउनुपर्ने पनि हुन्छ । जीवनको यात्रामा कैयौं मानिसहरूसँग ठोक्किने भएकोले गर्दा कतिपय ठोक्काईमा तिता मिठा अनुभवहरू संगाल्नुपर्ने हुन्छ । ति तिता मिठा अनुभवहरू सबै राख्न सक्नु आत्मवृतान्तको धर्म हो । यदि आत्मकथनमा छलिएको छ या ढाटिएको छ तुरुन्त प्रतिक्रिया पाउनुमात्र होइन, आत्मकथन लेखनको क्रममा आपूmलाई नायकत्वमा केन्द्रीत गरेर अन्यलाई पन्छाइएको आरोपहरू प्रशस्त आउछन् ।

अमृत योन्जन–तामाङको यस तिल्पुङे ठिटोः सगरतटदेखि सैलुङ सिखरसम्म पुस्तकमा लेखकले इमान्दारिता प्रस्तुत गरेको नै देखिन्छ । कभरसहित ११६ पेजमा अटाएको पुस्तकमा मुद्रणराक्षसको कारण असुद्धताले खल्लो बनाएता पनि लेखकका आरोहअवरोहले कतै अलमलिन नदिई पुस्तक नसकिञ्जेल उठ्नै नदिने बनाउँदछ ।

पुस्तकः तिल्पुङे ठिटोः सगरतटदेखि सैलुङ सिखरसम्म (दोश्रो खण्ड)
लेखकः अमृत योन्जन–तामाङ
प्रकाशकः तामाङ प्रकाशन कोष, काठमाडौ ।
मुल्यः ७५।–

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु