adv
adv

मदन पुरस्कारः उत्कृष्ट ८ मा परेका पुस्तक यस्ता छन्

वर्ष ०७५ मा प्रकाशित तीन सयभन्दा बढी पुस्तकमध्ये मदन पुरस्कार गुठीले श्रेष्ठ सूचीमा ८ वटा पुस्तकको नाम सार्वजनिक गरेको छ । १० वटासम्म वर्षका श्रेष्ठ पुस्तकहरु सार्वजनिक गर्ने उसको नीतिअन्तरगत यसपटक ८ वटा पुस्तकको मात्र नाम सार्वजनिक गरेको हो ।

गुठीले प्रकाशित गरेको उत्कृष्ट ८ पुस्तकको सूचीमा ध्रुवसत्य परियारको कथा संग्रह ‘कैरन’, सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ र तीर्थ गुरुङ्को उपन्यास ‘पाठशाला’ परेका छन् । त्यसैगरी यज्ञशको रिपोर्ताज ‘भूईंया’, नयनराज पाण्डेको मित्र स्मरण संग्रह ‘यार’ र निलम कार्की ‘निहारिका’को ऐतिहासिक उपन्यास ‘योगमाया’ पनि उत्कृष्ट ८ मा परेका छन् । राज माङलाकको कविता संग्रह ‘लिम्बुनी गाउँ र माओवादी नेता मोहन वैद्य ‘किरण’को दर्शनसंग्रह ‘हिमाली दर्शन’ पनि उत्कृष्ट ८ को सूचीमा समाबिष्ट छन् ।

 

सूचीमा परेकामध्ये केही पुस्तक सामान्यखालका भएको टिप्पणी सामाजिक सञ्जालमा आएको छ भने केही समेटिनुपर्ने कृतिहरु नपरेको भन्दै मदन पुरस्कार गुठीको आलोचना पनि सुनिएको छ ।

कसले पाउला मदन पुरस्कार ?

यो निश्चित छ, उत्कृष्ट ८ को सूचीमा अटाएका पुस्तकमध्ये एउटाले मदन पुरस्कार प्राप्त गर्नेछ । यद्यपि, सूची प्रकाशन भएलगत्तै प्रकाशन संस्था र लेखक दुवैले आफ्नो कृतिले मदन पुरस्कार पाउने वातावरण मिलाउन मेहनत पक्कै गर्नेछन् र गर्न थालेका पनि छन् ।

यद्यपि, यस्ता दौडधुपले आफ्नो निर्णयलाई फरक नपार्ने मदन पुरस्कारसम्वद्ध व्यक्ति बताउँछन् । मदन पुरस्कारको निर्णय एक व्यक्तिले गर्ने होइन, यसका आफ्नै नीति र कार्ययोजना छन् । निर्णायकहरु धेरै छन् । त्यसमाथि एक निर्णायकले निर्णायकलाई चिन्दैनन् । निर्णायकहरु आफ्नो क्षेत्रमा विशिष्ट छन् । त्यसैले कसैले कसैलाई प्रभावित बनाउने कुरा बाहिरी हल्ला मात्रै भएको गुठीको दाबी छ ।

 

मोहन वैद्य किरणको पुस्तकले पूर्वीय दर्शनहरुलाई मार्क्र्सवादी दृष्टिले ब्याख्या गरेका कारण ‘हिमाली दर्शन’ पठनयोग्य कृति हो । यसमा गीताका आत्यात्मिक दर्शनहरुलाई समेत भौतिकवादी दृष्टिले ब्याख्या गरिएको छ । यो पुस्तकलाई पुरस्कृत गर्न सके मदन पुरस्कारमाथि लाग्दै आएको कम्युनिस्ट विरोधी छवि सुधार हुने अनुमान गरिएको छ । यद्यपि, यो गैरसाहित्यिक पुस्तक भएका कारण यसलाई पुरस्कृत गर्दा साहित्य पक्षीय व्यक्ति रुष्ट हुने पक्का छ ।

‘लिम्बुनी गाउ’ पूर्वी नेपालको लिम्बु परिवेशमा रचना गरिएको कविता संग्रह हो । कवि राज मङलाकको यो कविता संग्रहमा साँवा खोलाको गीत, अक्षरहरुको मैलो र समय सन्नाटा गरी तीन खण्डमा विभाजित छ । कवितामा लिम्बु भाषा र संंस्कृतिका बिम्बहरु छन् भने पूर्वीया नेपाली भाषाका छटा छन् । समीक्षक राम लोहनीका अनुसार यो कविता संग्रहको मजबुत पक्ष भनेकै दृष्यात्मक शब्दको वर्णन हो ।

 

‘कैरन’ कथा संग्रह पनि मदन पुरस्कारका लागि सुरुदेखि नै चर्चामा आएको पुस्तक हो । हिमाल खबर पत्रिकामा कार्यरत पत्रकार ध्रुवसत्य परियारको उक्त पुस्तकले प्राचीन मिथहरुलाई केन्द्रमा राखेर सबै कथाहरु निर्माण गरेको छ । छुवाछुत प्रथाको विरोध गर्न मात्र होइन, समाजको उँच–निचका पाखण्ड भत्काउन पनि कृतिले मिथहरुकै साहारा लिएको छ ।

‘भुँइया’ ले नेपाली समाजमा लुकेर बसेका नायकहरुलाई सतहमा ल्याउने काम गरेको छ । रिपोर्ताज शैलीमा लेखिएको उक्त पुस्तकले माओवादी द्वन्द्व र त्यसपछि देखापरेको परिवर्तनमा स्थानीय समाजका तल्लो तहका व्यक्तिमा आएको परिवर्तन देखाएको छ । त्यसमा पनि कुनै व्यक्ति वा समाज विशेषमा आएको परिवर्तनलाई यसले मुख्य विषय बनाएको छ । गैरआख्यान भए पनि यसको भाषा मीठो छ ।
अर्को गैरआख्यान कृति ‘यार’ साहित्यकार नयनराज पाण्डेले बाल्यकालदेखि एक दशकअघिसम्म भेटिएका साथीहरुको वर्णन गरेका छन् । कतिपय साथी भनिए पनि उमेरले पाका व्यक्तिहरुकोे कथा पनि यसमा समेटिएको छ ।

 

‘नथिया’ मदन पुरस्कारका नाममा समावेश हुनुअघि नै अत्यधिक प्रचारमा आएको पुस्तक हो । यसमा एकजना बदिनीको कथालाई आख्यानात्मक रुप दिइएको छ । कवितात्मक भाषा र बिम्बात्मक प्रस्तुतिले कृतिलाई अग्लो बनाएको छ ।

‘पाठशाला’ एकजना किशोरको कथा हो । स्कुलमा विद्यार्थीहरु बीच हुने स–साना घटनालाई यसले गहिरोसँग उतारेको छ । एकजना पाको व्यक्तिले डायरीमा टिपेको घटनालाई औपन्यासिक रुप दिइएको यो उपन्यासले आम मानिसलाई बाल्यकाल विशेषगरी विद्यालय जीवनको सम्झना गराउँछ ।

‘योगमाया’ निलम कार्की निहारिकाको महात्वाकांक्षी कृति हो । यो पुस्तक लेख्नुअघि उनी योगमायाको गाउँमा पुगेर अध्ययन गरेकी थिइन् । यस विषयमा उनले डकुमेन्ट्री समेत निर्माण गरेकी छन् । पुरानो घटनालाई अहिलेको भाषामा प्रस्तुत गर्न उनले निकै मेहेनत गर्नु परेको उपन्यास पढ्दा अनुभव गर्न सकिन्छ ।

उत्कृष्टसँगै आलोचना पनि

मदन पुरस्कार गुठीले प्रकाशित गरेको सूचीमा केही व्यक्तिहरुले आलोचना गरे पनि कमजोर पुस्तक भने कुनै पनि छैनन् । यद्यपि, सामाजिक सञ्चालहरुमा प्रकाशित कृतिहरुलाई बधाइ दिने क्रमसँगै आलोचना गर्नेको पनि ताँती लागेको छ ।

कतिपयले मोहन वैद्य किरणको दर्शनले आजको समाजलाई बोक्न नसक्ने भएकाले यिनै दर्शन समेटिएको ‘हिमाली दर्शन’लाई मदन पुरस्कारले आफ्नो सुचीमा समेटेर राजनीतिको प्रभाव आफ्नो संस्थामा पारेको भन्दै आलोचना गरेका छन् ।

त्यसैगरी कतिपयले नयनराज पाण्डेका पुस्तकहरु ‘उलार’ र ‘लु’लाई मदन पुरस्कार नदिएका कारण आलोचना खेपिरहेको गुठीले आफ्नो छवि सुधार्न यसपटक नयनलाई समेटेको आरोप लगाएका छन्। ‘उलार’ र ‘लु’को तुलनामा ‘यार’ समान्य कृति भएको टिप्पणीकारहरुको ठम्याइ छ ।

कतिपयले वादी समुदायमा आधारित भएर लेखिएका दुई उपन्यास मध्ये ‘नथिया’ लाई उत्कृष्ट ८ मा समेटिनु राम्रो भएता पनि त्यस्तै कृति विवेक ओझाको उपन्यास ‘ऐलानी’ माथि अन्याय भएको आरोप लगाएका छन् । कतिपयले ‘भुँइया’ पुस्तकले आवश्यकता भन्दा बढ्ता मेडिया हाइप र समीक्षकको ढाढस पाएको आरोप लगाएका छन् भने केहीले चाहिँ ‘योगमाया’को विषय वस्तु राम्रो भए पनि उपन्यासले त्यसको गहिराइ बोक्न नसकेको भनेका छन् ।

आलोचना गर्नु नेपालीको संस्कार नै भएले हुन सक्छ, आलोचना नभएको जम्माजम्मी एउटै पुस्तक छ–लिम्बुनी गाउँ । यो पुस्तकको आलोचना नहुनुमा पुस्तक राम्रो भएर भन्दा पनि उक्त पुस्तक धेरै कम व्यक्तिको हातमा परेर हुन सक्छ । लिपि प्रकाशनगृहले छापेको यो कविता संग्रह पाठकका हातमा नपुगेका कारण यसका नकारात्मक टीका टिप्पणी सामाजिक सञ्जालमा नदेखिएका हुन् कि ?

पुरस्कारको गुरुत्व

नेपाली साहित्यको श्रीवृद्धिका लागि भन्दै सयौं पुरस्कार स्थापना भएका छन् । कला र संस्कृतिको विकासका लागि सबैभन्दा बढी खर्च बोकेर बसेको सरकारको योगदान करिब–करिब शून्य बराबर छ । उसले दिने पुरस्कारको संख्या औंलामै गन्न सकिन्छ । तर, आफ्नो निजी सम्पतीबाट केही व्यक्ति तथा संस्थाहरुले भने ५ हजारदेखि पाँच लाख रुपैंयासम्मका पुरस्कारहरु स्थापना गरेका छन् ।

 

देशविदेश सबैतिर साहित्यका नाममा रहेका पुरस्कारहरुको गणना गर्ने हो भने करोडौं रुपैयाँ पुरस्कार राशीका नाममा मात्रै वितरण हुँदै आएको देखिन्छ । सरकारी कर छुट तथा सामाजिक प्रतिष्ठाका लागि यस्ता पुरस्कारले महत्वपूर्ण भूमिका खेल्ने हुँदा विभिन्न व्यक्ति तथा संस्थाले दिने पुरस्कारको रकम बढ्दै गएको हो । तैपनि त्यस्ता पुरस्कार कसले कहिले पाए, केही सीमित व्यक्ति बाहेक कसैलाई थाहा हुँदैन । कतिपय पुरस्कारले समाचार सञ्चारमाध्यको मुखसमेत देख्दैनन् । दैनिकजसो कुनै न कुनै श्रष्टाले पुरस्कार प्राप्त गरिरहने भएकाले पनि यसले धेरैको ध्यान तान्ने गरेको देखिदैन ।

नेपाली साहित्यका क्षेत्रमा केही पुरस्कार त्यस्ता छन्, जसलाई पाउनु साहित्यकारहरुका बीचमा प्रतिष्ठाको विषय त मानिन्छ नै, आम जनताले पनि यसको हेक्का राख्छन् । तीमध्ये प्रत्येक वर्ष प्रकाशित कृतिलाई उत्कृष्टताका आधारमा मापन गरेर दिइने मदन पुरस्कार अग्रपंक्तिमै छ अहिलेसम्म ।

 

वर्षको उत्कृष्ट कृत्तिका लागि वि.सं. ०१४ सालदेखि दिन थालिएको यो पुरस्कारको छनोट विधि, नियमितता र पुरस्कारको राशीजस्ता तीनवटा कारणले यसको शाख बढ्दै गएको छ । चार हजार रुपैयाँबाट ६० वर्षअघि सुरु भएको यसको राशी अहिले दुई लाख रुपैयाँ पुगेको छ ।

यद्यपि बेला–बेलामा विभिन्न कमजोरीका कारण यो पुरस्कारको विरोध र आलोचना नहुने होइन । तर, जब–जब अघिल्लो वर्षको उत्कृष्ट कृतिको कुरा आउँछ, यसमा मदन पुरस्कार पाएको कृति केही अपवादबाहेक चर्चा नगरी सुखै हुँदैन । पुस्तक विक्रीमा पनि मदन पुरस्कारको नामले सानो–ठूलो भूमिका निभाउने गरेकै छ ।

केही वर्षयता मदन पुरस्कारले वर्षका उत्कृष्ट कृतिहरुको नाम सार्वजनिक गर्न थालेको छ । यसले मदन पुरस्कारलाई थप विवादमा ल्याउने सम्भावना बढेको छ । यसले प्रकाशित सुचीबाहेक अन्य पुस्तक उत्कृष्ट नभएको अर्थ लाग्ने भएकाले यसका विषयमा आलोचना सुरु भएको हो ।

 

यस्तैखालको विरोध आउन थालेपछि अर्को प्रतिष्ठित खेमलाल–हरिकला प्रष्ठिानले भने प्रत्येक वर्ष दिने पद्मश्री पुरस्कार छनोटमा वर्षका उत्कृष्ट पुस्तकको सुची सार्वजनिक नगर्ने निर्णय यसैसाता सार्वजनिक गरेको छ ।

आफ्ना पुस्तक प्रतिष्ठित पुरस्कारको सुचीमा अटाउन दौडधुप हुन थालेपछि मदन पुरस्कार गुठी समस्यामा पर्ने गरेको छ । यही दबावका कारण एकातिर कतिपय राम्रा पुस्तकहरु उत्कृष्ट सूचीमा नअट्ने र कतिपय सामान्य पुस्तक पनि सूचीमा आउने गरेको गुनासो हरेक वर्ष सुन्ने गरिन्छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु