
विर्तामोड। विर्तामोडको डोमालाल राजवंशी रंगशालामा बैशाख १४ गतेदेखि २० गतेसम्म चौंथो विर्तामोड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आज रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
विर्तामोड भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १० वटा टिमहरू आयोजक क्लबका दुई टिम सेतो र निलो सहित मेचीनगर ,चन्द्रगढी,ढल्के जोवान उर्लाबारी, सुरूंगा,दुधे,दमक,धरान र फेमी गुरू इलामको सहभागिता हुने क्लबका अध्यक्ष किरण थापाले बताए ।

आयोजकले प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा दुधे भेट्रान क्लब र धरानबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख एक हजार रुपैयाँसहित ट्रफी र मेडल हात पार्नेछन् भने उपविजेता टिमले नगद ५१ हजाररुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
थापाका अनुसार हरेक खेलमा प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले १ हजार ५०० रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर,फरवार्ड र उच्च गोलकर्ता प्रत्येकले २ हजार ५०० रुपैयाँ र ट्रफी हात पार्ने छन् भने उत्कृष्ट कोचले २ हजार रुपैयाँ र ट्रफी र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

