४ साउन, दमक । (अन्य न्यूज साइट र एजेन्सीहरुको सहयोगमा)

विश्वको ठूलो लोकतन्त्र भारतले पहिलो पटक १५ औं राष्ट्रपतिका रूपमा आदिवासी महिला पाउने पक्का जस्तै भएको छ । द्रौपदी मुर्मूले सन् १९९७ मा राइरंगपुर नगर पञ्चायतको पार्षद्बाट सुरु गरेको अविराम राजनीतिक यात्राले उनलाई जुलाई २५ पछि भारतीय संविधानको सर्वोच्च पदमा आसिन गराउने छ ।
सोमबार सम्पन्न राष्ट्रपति निर्वाचनको परिणम २१ जुलाई अर्थात औपचारिक रूपमा भोलि बिहीबार सार्वजनिक हुने भए पनि ओडिसा राज्यकी ६४ वर्षीया द्रौपदी मुर्मू निर्वाचित हुने निश्चित छ । भारतको इतिहासमा प्रतिभा पाटेल पहिलो महिला राष्ट्रपति बनेकी थिइन् भने आदिवासी मूलबाट मुर्मू पहिलो राष्ट्रपति बनेर इतिहास रच्न लागेकी हुन् ।
वर्तमान भारतीय राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा सकिन्छ । मुर्मूले १५औं भारतीय राष्ट्रपतिका रूपमा जुलाई २५ मा शपथ लिने छिन् ।
सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले पूर्वराज्यपाल मुर्मूलाई राष्ट्रपति पदका लागि उम्मेद्वार बनाएको हो ।
कांग्रेससहितको विपक्षी गठबन्धनबाट तृणमुल कंग्रेसका नेता यशवन्त सिन्हा उम्मेद्वार रहे तापनि उनले सान्तवता मत मात्रै पाउने बताइएको छ ।
भारतीय सञ्चार माध्यमहरुले सार्वजनिक गरेका विश्लेषणहरुका आधारमा भन्दा सत्तारुढ गठबन्धनको भोट संख्या बढी हुनाले मुर्मूलाई राष्ट्रपति बन्नबाट सिन्हाले रोक्न सक्ने छैनन् ।
मुर्मूलाई आदिवासी र महिलासमेत भएकाले विपक्षी गठबन्धनका केही दलको समेत समर्थन रहेको बताइन्छ । उनी ओडिशा राज्यबाट सन् २००० र सन् २००९ गरि दुई पटक विधायक र उडिसा सरकारमा सन् २००० र २००४ मा दुई पटक मन्त्रीसमेत बनेकी थिइन् । मुर्मू सन् २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको राज्यपाल भइसकेकी छन् ।
मुर्मूले अनुसूचित जनजाति मोर्चाको उपाध्यक्ष र भारतीय जनता पार्टी (भाजपा)को आदिवासी मोर्चाको राष्ट्रिय कार्यकारिणी सदस्यका रूपमा समेत काम गरेकी छन् ।
सिन्हाले अटल बिहारी बाजपेयी नेतृत्वको सरकारमा रहेर विभिन्न मन्त्रालय सम्हालेका थिए । तर पछि उनी भाजपा छाडेर ममता बनर्जीको पार्टी तृणमुल कंग्रेस प्रवेश गरेका थिए ।
भारतमा राष्ट्रपति चुनावका लागि लोकसभा, राज्यसभा र विधानसभाका सदस्यहरूले मत दिन पाउँछन् । लोकसभा र राज्यसभाका कुल सांसद संख्या ७ सय ७६ छ । विधानसभामा ४ हजार ३३ जना विधायक छन् । सोमबारको मतदानमा ९९.१८ प्रतिशत मत खसेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । विपक्षी गठबन्धनको समेत समर्थन हुनाले मुर्मूले ६१ प्रतिशत हाराहरी मत पाउने आकलन गरिएको छ । भारतको संविधानअनुसार राष्ट्रपति पदमा निर्वाचित हुन ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नु पर्दछ ।
भारतको राष्ट्रपति पद संवैधानिक पद हो । राष्ट्रपतिको चुनावमा लोकसभा, राज्यसभा र विधानसभामा निर्वाचित भएका सदस्यहरूले मात्रै मतदान गर्न पाउँछन् । लोकसभा वा राज्यसभामा मनोनीत सदस्यहरुलाई मतदान गर्ने अधिकार हुँदैन ।
एक जना सांसदको मतभार ७ सय तोकिएको छ । सांसदहरुको मतभार ५ लाख ४३ हजार २ सय र विधायकहरूको मतभार ५ लाख ४३ हजार २ सय ३१ गरी कुल मतभार १० लाख ८६ हजार ४ सय ३१ छ । त्यसको ५० प्रतिशतभन्दा बढी अर्थात् ५ लाख ४३ हजार २ सय १६ मत ल्याउनेले चुनाव जित्छ । राष्ट्रपति निार्वचनमा मतदान गर्दा सांसद र विधायकमाथि पार्टीको ह्विप लाग्दैन ।
लोकसभा र राज्यसभाका सदस्यको मत मूल्य सबैको बराबरी हुन्छ । तर, विधानसभा सदस्यको मत मूल्य राज्यको जनसंख्याका आधारमा धेरथोर हुन्छ । ठूलो जनसंख्या रहेको उत्तर प्रदेश राज्यका एक जना विधायकको मतभार सबै भन्दा बढी २ सय ८ छ । तर, कम जनसंख्या भएको सिक्किमका एक जना विधानसभा सदस्यको मतभार ७ मात्रै छ ।
राष्ट्रपतिको चुनावमा ३५ वर्ष उमेर पुगेका लोकसभा सदस्य हुन योग्यता पुगेको जो पनि उम्मेदवार हुन पाउँछन् । तर, तिनले मतदाताहरूमध्येबाट ५०/५० जना प्रस्तावक र समर्थक राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपतिको चुनाव मतपत्रकै आधारमा हुन्छ र हरेक मतपत्रमा उम्मेदवारको नाम लेखिएको हुन्छ । मतदाताले आफूले मन पराएको उम्मेदवारको नाम अगाडि पहिलो प्राथमिकता १ र त्यसपछि क्रमश आफूले मन पराएको दोस्रो, तेस्रो उम्मेदवारको नाम अगाडि त्यहीअनुसार क्रम लेख्नुपर्छ ।
मतगणना पनि त्यसैअनुसार हुन्छ । पहिलो चरणमा १ लेखिएको मतपत्र मात्रै गणना हुन्छ । र, क्रमशः अन्य कुनै उम्मेदवारले पहिलो गणनामै निश्चित ५० प्रतिशत मत कटाएको खण्डमा विजेता घोषित हुन्छन् । गणनाको प्रक्रिया लामै हुन्छ ।
पहिलो चरणमा तय कोटाअनुसार कसैले मत नल्याएको खण्डमा दोस्रो चरणको गणना सुरु हुन्छ । दोस्रो चरणमा सबैभन्दा कम मत ल्याउने उम्मेदवार चुनावी रेसबाट बाहिर हुन्छन् । उसको भोट अन्य उम्मेदवारलाई ट्रान्सफर गरिन्छ । अर्थात् अन्तिमसम्ममा एक जना मात्रै उम्मेदवार बाँकी नरहेसम्म त्यो प्रक्रिया चल्दै जान्छ ।


