३ साउन, दमक ।

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघकी स्वास्थ्य विभाग सचिव अम्बिका प्रसाई थापालाई प्रहरीले दुव्र्यवहार गरेको भन्दै मंगलबार एमाले निकट महासंघ र राष्ट्रिय युवा संघ नेपालले पत्रकार सम्मेलन गरेको छ ।
झापाका दमकमा आयोजित पत्रकार सम्मलेनमा थापाले आफू आइतबार साँझ ८ः४० बजे होस्टेलमा बच्चा लिन जाँदा सवारी चालक अनुमति पत्र नबोकी स्कूटीमा गएको र सोही समयमा ट्राफिक चेकिङमा परेर प्रहरीले स्कूटीको चाबी खोसेको बताइन् । उनले प्रहरी आफूलाई हातपात गरेको आरोप लगाएकी छन् ।
व्यवहारिक समस्या देखाएर अनुरोध गर्दा पनि प्रहरीले चाबी फिर्ता नदिएको र जरिवाना काट्न अनुरोध गर्दा पनि नमानेको साथै आफ्ना श्रीमान राजकुमार थापासमेतले अनुरोध गर्दा पनि इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीसहित प्रहरी टोलीले सो अनुरोध इन्कार गरेको थापाको भनाइ छ । राजकुमार थापा खेलकुद महासंघको प्रदेश नम्बर १ का अध्यक्षसमेत हुन् ।
पत्रकार सम्मेलन आयोजक संगठनहरुले भने विज्ञप्तिसमेत जारी गर्दै दमक प्रहरीले राजनीतिक पूर्वाग्रहका आधारमा एमाले निकटलाई दुव्र्यवहार गरिदै आएको आरोप लगाएका छन् ।
तर, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक गिरीले भने साउन १ गतेको घटनाको परिवेश थापाले भने भन्दा फरक किसिमको रहेको प्रतिक्रिया दिएका छन् ।
ट्राफिक प्रहरी र इप्रका दमकको संयुक्त चेकजाँचको क्रममा दमक ५ स्थित भृकुटी चोकमा लाइसेन्स नबोकेका, हेल्मेट नलगाएका, मादक पदार्थ सेवन गरेका, तोकिए भन्दा बढी संख्यामा यात्रु बोकेका सिटी सफारीदेखि मोटर साइकल र निजी कारसमेतलाई चेकिङ गरिएको र सोही चेकजाँचका क्रममा अन्य सवारी साधनसहित थापा पनि बिना सवारी चालक अनुमतिपत्र सवारी चलाएको अवस्थामा पाइएकाले उनको स्कूटी नियन्त्रणमा लिइएको गिरीको भनाइ छ ।
प्रहरीका तर्फबाट ट्रफिक नियम उल्लंघन गरेको पाइएकाले स्कूटी नियन्त्रणमा लिने कार्य भएको तर थापाले आरोप लगाए जस्तो हातपात वा कुनै प्रकारको दुव्र्यवहार नभएको गिरीले स्पष्ट पारे । उनले घटना करिब ९ः१५ बजेको समयमा भएको बताए ।
चेकजाँचकै क्रममा थापा सवार प्रदेश १/०४००१ प ८२४ नम्बरको स्कूटी बिना लाइसेन्स चलाइएको पाइएकाले नियन्त्रण लिइएको उनको भनाइ छ ।
स्कूटी प्रहरीले नियन्त्रणमा लिइसकेपछि थापाका श्रीमान राजकुमार थापा चेकजाँच भइरहेको स्थानमा आएको र प्रहरीलाई गालीगलौज गरेको गिरी बताउँछन् ।
उनले भने –‘स्कूटी इलाका प्रहरी कार्यालयमा राखेका छौं । उहाँले ट्राफिक कार्यालयबाट चिट काटेर आए छाडिदिन्छौं । कानून बमोजिमको कारबाही गर्न हामी प्रतिबद्ध छौं ।
यता संगठनहरुले भने विज्ञप्तिमार्फत दमक प्रहरीले स्थानीय शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ –‘दमक क्षेत्रमा लागु औषध, यौनजन्य क्रियाकलाप, जुवातास, चोरी निकासी व्यवसायिक रूपमा अत्यधिक बढिरहेको छ । यो नियन्त्रण गर्न दमक प्रहरी असफल भएको छ । आम जनमानसमा यस कार्यमा प्रहरीकै संरक्षण त छैन ? भन्ने जिज्ञासा पलाइरहेको छ ।
प्रहरी नायव उपरीक्षक गिरीले भने शान्ति सुरक्षाका विषयमा उठाइएका कुरालाई प्रहरीले सुझावका रूपमा लिएको बताउँछन् । प्रहरीले अपराध नियन्त्रण, अपराध अनुसन्धानको क्षेत्रमा संवेदनशीलताका साथ काम गरिरहेको बताएका छन् ।