adv

विदेश पलायन भएर नेपाली पुस्ताहरु सकिन्दैछन

नेपालबाट बेलायती गोर्खा सेनामा भर्ती भएर युके आएर यतैको नागरिकता, रातो पासपोर्ट लिएर स्थायी नागरीक बनेर बसीरहेका भु.पु लाहुरे समाज र रोजगारीको शिलशिलामा युके, अमेरिका, युरोप, हंगकंग लगायत विभिन्न देशमा त्यतैको स्थायी नागरीक भई बसीरहेका नेपालीहरुको पुस्ता, सन्ततीहरु वास्तवमै परदेश भासिएर (पलायन) भएका नै हुन,आफनो वंशावली, पुस्ताबाट नासिएका सकिएका नै हुन भनेर मैले धेरै पहिला देखी चर्चा गरीरहेको थिए र अझै यस विषयमा गहन रुपमा बहस हुन आवश्यक छ ।

त्यसैले हामी पारीवारीक आर्थिक जीवनस्तर उकास्न रोजगारीको शिलशिलामा विदेशीए पनि अन्तमा स्वदेश नै फर्कनै पर्दछ भन्ने मान्यता, ढृडता संकल्प राख्दछु।हामी विदेशमा रहेपनि नेपाली सामाजिक, सांस्कृतिक, धार्मिक मुल्य र मान्यतामा नेपाली संस्कार, संस्कृती, चालचलन, रीतीरीवाज, चाडपर्व, रहनसहनमा नै बाचीरहेका छौ,तर हामी पछाडीको हाम्रो भावी सन्ततीहरुको सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था कस्तो रहला ? के हाम्रो भावी सन्ततीहरु नेपाली भएरै बाच्लान त ? यस विषयमा गम्भिर भएर सोच्नु पर्ने अवस्था आएको छ। हाम्रो छोराछोरीहरु यतै विदेशमा नै जन्मिन्छन, यतै अंग्रेजी समाजको परीवेश बाताबरणमा, शिक्षा दिक्षा, मुल्य-मान्यता, चालचलन, रहनसहन, रीतीरीवाजमा नै हुर्कन्छन ।

ऊनीहरुको कलिलो मस्तिष्कमा बोली फुट्ने बितिक्कै गर्वको साथ आइ एम ब्रिटिश भन्न थाल्दछन। यहाँ जन्मिएर हुर्किएका नानीहरुको ज्ञान छिप्पिन नपाऊदै, बाल मनोविज्ञानमै म ब्रिटिश हुँ भन्ने गहिरो छाप बसीसकेको हुन्छ। यदि नेपालको विषयमा सोध्ने हो भने “नेपाल इच् माइ ड्याडी कन्ट्री” भन्दछन। अर्थात म चाहि यहिको अंग्रेज हुँ नेपाल चाहि मेरो बाऊको देश हो भन्ने बुझेका हुन्छन । अनी तिमि चै ? भनेर सोधियो भने म त ब्रिटिश, अंग्रेज हुँ भन्दछन । यदि हाम्रै Generation (पुस्ताको) पालामा हाम्रै छोराछोरीहरुले म यहि देशको (विदेशी) हुँ भनेर गर्वको साथ भन्दछन । नेपाल चाँही बाऊको देश हो भनेर भन्दछन ।  नेपाली भाषा बोल्न सक्दैनन, नेपाली सामाजिक, सांस्कृतिक, धार्मिक मुल्य र मान्यतासँग विशुद्ध टाढा भईसक्दछन र पुर्ण अंग्रेजी समाजको भाषा, संस्कृति, रहन-सहन, रीतीरीवाजमा लिप्त भएर ऊ भित्र म नेपालको हुँ भन्ने भावना समेत हुदैन ऊ पुर्णत विदेशी हुन्छ भने हाम्रो छोरा-छोरी भन्दा पछाडिको नाती, नातीनी Generations पुस्ताहरुको सामाजिक, सांस्कृतिक अवस्था कस्तो हुन्छ होला ?

गम्भिर भएर सोच्नु पर्ने अवस्था आएको छ । यहाँको नानीहरुको मुख्य समस्या भनेको भाषा हो । नेपाली भाषा बोल्न नआऊने भएपछि घरमा आफनै आमाबुवासँग पनि अंग्रेजी भाषामा मात्र बोल्न बाध्य छन । आफनो आमाबुवाले त जसोतसो अंग्रेजी भाषामै कुरा गर्लान तर नेपालबाट आएका बाजे, बोजु पुस्ताहरुको लागी आफनै नाति, नातिनी पनि भाषाको समस्याले को हो ? पराई जस्तो हुनु परेको छ । विदेशी सामाजिक परीवेशमा जन्मिएर हुर्किएको कारण अंधिकांशले उमेरसँगै बिदेशका गोरा, गोरेनी, काले, कालीहरुसँग विवाह घरजम गर्नु स्वाभाविक नै हो । यस्तो अवस्थामा उनीहरु नेपाली सामाजिक, सांस्कृतिक, धार्मिक मुल्य र मान्यतामा नै बाच्लान भनेर कल्पना समेत गर्न सकिन्दैन ।

हाम्रो सन्ततीहरु अबको २-४ पुस्ता पछाडि नेपाल र नेपाली पुर्णत विर्सीसकेका हुनेछन भने नेपालमा रहेको हाम्रो परीवार आफनो-आफन्त वंशजहरुसँग पनि हाम्रो भावी सन्ततीहरु सम्पर्कबिहिन, बेखबर हुनेछन । हाम्रो वंशावली पुस्ता नामवली हेर्ने हो भने कतिपय बाबु, बाजे पुस्ताहरुको हाँगा आसाम, मुगलान भासिएर हराएको भन्ने देखिन्छ । हाम्रो सन्ततीहरु पनि हाम्रो वंशावली पुस्ताबाट त्यसरी नै पलायन, बेखबर भएर सकिने कुरा निश्चित नै छ ।

तसर्थ, हाम्रो पुस्ताहरुको लागी यो विषय जटिल बन्दै गईरहेको छ। हाम्रो पुर्खाहरुले हामीलाई हाम्रै देश नेपाली माटोमा आफनै गाँऊघरमा जन्माएर हुर्काएर गए, हाम्रै आफनै भाषा, संस्कार, संस्कृती, चालचलन, रहन-सहन, रीतीरीवाज र चाडपर्वमा रमाउन सिकाएर गए । त्यसकारण आज हामी नेपाली भनेर या मेरो सवालमा (हामी किराती)भनेर गर्वको साथ बाचीरहन पाईरहेका छौ । तर हामीले पनि हाम्रो सन्ततीहरुलाई कस्तो कुन अवस्थामा छोडेर जाने ? भन्ने जिम्मेवारी पनि हाम्रै काँधमा नै रहेको छ । हाम्रो भावी सन्तती, पुस्ताहरुलाई पलायन बनाऊने ? वंशावली पुस्ताबाट हराएर सकिएर जाने अवस्थामा पुर्याऊने ? या पुर्खाहरुले हामीलाई जुन अवस्थामा आफनो भाषा धर्म, संस्कार, संस्कृती चाडपर्व, रीतीरीवाज भेषभुषा सहित हामीलाई हाम्रो वंशावली छाडेर गएका थिए त्यसरी नै हाम्रो भावी सन्ततीहरुलाई पनि हामीले आफनै माटोमा एक नेपाली भएर बाच्ने अवस्थामा छाडेर जान आफनै देश मातृभुमी स्वदेश फर्किने ?

हामी आफनै देश फर्किनु आवश्यक छ कि छैन ? हामी स्वदेश फर्किनु किन आवश्यक छ ? बहस हुन जरुरी छ । किनकी हामीले आज कोरीदिएको बाटोमा नै भोलीको दिनमा हाम्रो सन्ततीहरु हिड्नेछन तसर्थ हाम्रै काँधमा जिम्मेवारी बढेको छ ।

~मुलघरे कान्छा~हाल बेलायत

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु