adv
adv

लिम्बू विद्यार्थी मञ्च सबैखाले लिम्बू विद्यार्थीहरुको साझा घर हो

~अतित योङहाङ~
अध्यक्ष, लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमिति इलाम

लिम्बू विद्यार्थी मञ्च हजारौँ लिम्बू विद्यार्थीहरुको साझा संस्था हो । मञ्च एक विशुद्घ गैर राजनीतिक सामाजिक संस्था हो । यद्यपी मञ्च, विभिन्न राजनीतिक विचार धारामा आस्था राख्ने सबैखाले लिम्बू विद्यार्थीहरुको मिलनको केन्द्रविन्दु हो । मञ्च एक आफैँ स्वायत्त संस्था हो । यो कुनैपनि पार्टी या संस्थाको भातृ संगठन होइन । जस्तो कि अरु विभिन्न राजनीतिक पार्टीहरुको भातृ संस्था वा विभिन्न संघ संस्थाहरुको जनवर्गीय संगठन होइन ।

नेपालको सन्दर्भमा हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियू, नेपाली काङग्रेसको नेविसंघ, संघीय समाजवादी फोरमको समाजवादी विद्यार्थी फोरम, पूर्व नेकपा एमालेको अनेरास्ववियु, पूर्व नेकपा माओवादीको अखिल क्रान्तिकारी, पूर्व संघीय समाजवादी पार्टीको अग्रगामी विद्यार्थी युनियन, पूर्व नयाँ शक्ति पार्टीको नयाँ शक्ति विद्यार्थी युनियन, लिम्बुवान पार्टीको संघीय विद्यार्थी युनियन आदी जस्तो मञ्च कुनै पनि पार्टी, संस्थाको भातृ संगठन होइन । त्यसैले पनि मञ्च एक विशेष संस्था हो । त्यसो भए मञ्चले आफुलाई नै सर्वमान्य ठान्दछ त ? भन्ने प्रश्न उठ्न सक्छ । स्थापना देखी हालसम्मको २१ वर्षे दौरानमा मञ्चले किरात याक्थुङ चुम्लुङलाई आफ्नो अभिभावकीय संस्थाको रुपमा लिँदै आईरहेको छ । मञ्च र कियाचु दुवै अलग अलग स्वायत्त संस्था हुन् । यद्यपी यिनीहरुको उद्देश्य र मुद्दाहरु फरक फरक सायदै विगतमा थिएनन् । वर्तमानमा छैनन् र भविष्यमा हुने छैनन् ।

मञ्चमा हामीले हाम्रो मुखमा झुण्ड्याईरहने शब्द हो “राजनीतिक मुद्दाहरु सामाजिक संस्थाहरुमा मिसिन दिनुहुँदैन” अर्थात् मञ्चमा रहेर काम गर्दा राजनीतिक कुरा गर्नु हुँदैन । त्यसो भए सामाजिक संस्थाहरुले राजनीतिक मुद्दा बोक्नु हुँदैन ? यहाँ अर्को प्रश्न उठ्नु स्वभाविक हो । नेपालमा राजनीतिक पार्टीहरुको विद्यमान कायम रहेको राजनीतिक गतिविधिहरुले र आफ्ना जनवर्गीय संगठनहरुलाई परिचालन गर्ने पद्धतिले गर्दा सामाजिक संस्थाहरुमा यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छ । कारण मञ्चमा विभिन्न खाले राजनीतिक दलसँग आस्था राख्ने विद्यार्थीहरुको संलग्नता रहेको हुन्छ । राजनीतिक क्रियाकलापहरुमा तेरो–पार्टी, मेरो–पार्टी, मेरो–मान्छे, तेरो–मान्छे, हाम्रो–मान्छे, उसको–मान्छे भन्ने जुन किसिमको नेता कार्यकर्ताहरुकै आ–आफ्ना पार्टी भित्रका पद्धति र संस्कृतिको रुपमा विकसित भई त्यहि पद्धति, संस्कृति सामाजिक संस्थाहरुमा पनि मिश्रित हुनुले सामाजिक संस्थाहरुको मुद्दाहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपले ओझेल पारिरहेको तीतो यथार्थ सत्य हो । निश्चित रुपमा लिम्बू विद्यार्थी मञ्चमा पनि त्यसको असर यथार्थ रुपमा रहेको छ । यो हामी सामाजिक संस्थाहरुमा काम गर्नेहरुले प्रत्यक्ष रुपमा महसुस गरेको र बुझेको कुरा हो ।

मैले यहाँ उठान गर्न खोजेको विषयवस्तुको सन्दर्भ सायद पक्कै पनि अड्कल गर्नुभयो होला । निश्चित रुपमा यतिखेर मञ्चको संगठनको गतिविधि, संरचना, संस्कार, मूल्य मान्यताले यस्तै खालको परिस्थितिहरु निम्त्याईरहेको अवस्था छ । यस्तो हुनु मञ्च अगाडी बढ्नमा गलत बाटो भईरहेको छ । यसको विकल्प मञ्च सबैखाले लिम्बू विद्यार्थीहरुको साझा चौतारी बनाउन अपरिहार्य रहेको छ । मञ्चको मुद्धासँग ठ्याक्कै कुनैपनि राजनीतिक पार्टीको मुद्धा मिल्न सक्नु मञ्चको लागि सौभाग्यको कुरा हो । मुद्धा मिल्दा सहकार्य गर्न सहज हुन्छ । मञ्चको मुद्धा र राजनीतिक पार्टीको मुद्धाको सन्दर्भमा लिम्बूवान पार्टीको मुद्धा र मञ्चको मुद्धा उस्तै उस्तै भने पनि हुन्छ अझ लिम्बुवान पार्टीको विद्यार्थी संगठन संघीय विद्यार्थी युनियनको मुद्धासँग सतप्रतिशत मिल्छ भन्दा फरक नहोला । तर पार्टीले प्रत्यक्ष रुपमा आफ्नो मुद्धा शसक्त रुपमा उठान गर्न सक्छ र सक्नुपर्छ तर सामाजिक संस्थाले सिर्जनात्मक र रचनात्मक रुपले आफ्नो मुद्धाको उठान गर्ने हो र गर्नुपर्छ । यहाँनेर कुरा रह्यो मञ्चसँग मुद्धा मिल्ने राजनीतिक संगठनहरुमा आस्था राख्ने लिम्बू विद्यार्थी र मुद्धा नमिल्ने राजनीतिक विद्यार्थी संगठनहरुमा आस्था राख्ने लिम्बू विद्यार्थीहरुको मञ्चभित्र रहँदा हुने द्वन्द्वको कुरा । संगठनमा विचारको युद्ध हुनु आवश्यक छ तर वास्तवमा यस्तो द्वन्द्व राम्रो होइन । यिनीहरु सबैले एक अर्कालाई स्वीकर गर्न सक्नुपर्छ । अर्थात् राजनीतिक विचार र आस्था बेग्ला बेग्लै भएपनि लिम्बू विद्यार्थी मञ्चमा एउटै विचार बनाउन सक्नुपर्छ । मुद्धा मिल्ने विद्यार्थीले मुद्धा नमिल्ने विद्यार्थीलाई अलग्याउने प्रयत्न गर्नुहुन्न र मुद्धा नमिल्ने विद्यार्थीले मुद्धा मिल्ने विद्यार्थीहरुलाई अलग्याउने प्रयास गर्नुहुन्न ।

यतिखेर लिम्बू समुदाय विभिन्न पार्टीको नाममा, भाषा, धर्मको नाममा अलग अलग हुने परिपाटी विकसित हुँदै जानु समग्र लिम्बू समुदायको लागि विडम्बनाको विषय बनेको छ । यस सम्बन्धमा लिम्बू समुदायका अग्रपंक्तिमा नेतृत्व गर्ने अग्रज विज्ञहरुले अति संवेदनशील भएर सोच्न आवश्यक छ । एक समुदायको पार्टीले अर्को पार्टीको समुदायलाई स्वीकार गर्न नसक्नु, एउटा धर्मको समुदायलाई अर्को समुदायले स्वीकार गर्न नसक्नु र एक अर्कामा हिंसात्मक गतिविधिहरु सिर्जना गरी विभिन्न परिस्थितिहरु निम्त्याईरहेको लिम्बू समुदायले एकले अर्कालाई स्वीकार गरी एक अर्कामा नङ र मासुको सम्बन्ध कायम गरी अगाडी बढ्नको विकल्प छैन । यस्तै तरिकाले मञ्चमा पनि सोही समस्या सिर्जना हुन सक्छ भन्ने हामीले अड्कल गरिरहेका छौँ ।

मञ्चमा आबद्ध नेतृत्वले पार्टीको जस्तो गुडबन्दी, लाइनको राजनीति गर्नाले सक्षम विद्यार्थीहरु त्यसको सिकार हुन बाध्य छन् । संगठनको मूख्य उद्देश्य सबैलाई संगठित बनाउनु पर्ने हुन्छ । तर राजनीतिक पार्टीहरुले सिर्जना गरेको गुडबन्दीको मोह, सत्तारोहन मोह, पार्टीगत हाबी, दाबीका कारण मञ्चमा आबद्ध नेतृत्व विद्यार्थीहरुले यसको चूनौती खेपिरहनु पर्ने अवस्था नौलो होइन । मञ्चमा भित्रभित्रै प्रश्न उठ्न सक्छ– जाबो लिम्बू विद्यार्थी मञ्च जस्तो जातिय सामाजिक र सानो संस्थामा संगठित गराउन नसक्ने विद्यार्थीहरुले राजनीतिक विद्यार्थी संगठन जस्तो ठूलो संस्थामा कसरी एक अर्कालाई एकै ठाउँमा संगठित गराउन सक्छ ? आखिर संगठनको प्रमुख आधार नै सबैलाई संगठित बनाउनु हो । अतः लिम्बू विद्यार्थी मञ्चमा सबै पार्टी, विभिन्न धर्म र विभिन्न विचार राख्ने लिम्बू विद्यार्थीहरुलाई अटाउनुपर्छ । लिम्बू विद्यार्थी मञ्चलाई सबैखाले लिम्बू विद्यार्थीहरुको साझा फुलबारी बनाउनुपर्छ ।

चार वर्ष यता लिम्बू विद्यार्थी मञ्च इलामको गतिविधि

२०७३ साल पौषमा मञ्चको आठौँ राष्ट्रिय महाधिवेशन इलामको माङसेबुङ लारुम्बामा सम्पन्न भयो । महाधिवेशनबाट इलाम जिल्लाको तर्फबाट तत्कालिन जिल्ला अध्यक्ष राम कुमार लिङदम, उपाध्यक्षहरु ताराविर मोरोहाङ र ममता लावती तीनै जना केन्द्रीय सदस्यमा निर्वाचित भए । त्यसपश्चात् कार्यसमितिले जिल्ला अधिवेशन गर्न सकेन । त्यसकारण तत्कालिन सचिव शिब थेगिम हालको केन्द्रीय सदस्यको संयोजकत्वमा तेस्रो जिल्ला अधिवेशन आयोजक समिति गठन भयो । २०७३ चैत्र ६ गते मञ्चको स्थापना दिवशको अवसरमा आयोजित एक कार्यक्रम पश्चात् गठन भएको समितिमा म सदस्य–सचिव भए अन्य १७ जना सदस्यहरु यसको आयोजक समिति भए । आयोजक समितिले लिखित रुपमै ६ महिनामा तेस्रो जिल्ला अधिवेशन सम्पन्न गराउने निर्णय र तय ग¥यो । जव सदस्य–सचिवको जिम्मेवारी आफ्नो काँधमा आयो त्यसपछिदेखी लिम्बू विद्यार्थी मञ्चमा विशेष रुपले काम गरेको महसुस भयो । तेस्रो जिल्ला अधिवेशन आयोजक समिति र अधिवेशन पश्चात् अहिलेको कार्यसमितिलको ४–५ वटा कार्यक्रमहरु म यहाँ चर्चा गर्न गईरहेको छु । त्यसभन्दा अतिरिक्त मञ्चले मञ्च सम्बद्ध धेरै कार्यक्रमहरु गरेका छन् ती सबै यहाँ चर्चा गर्न सम्भव छैन ।

१. लालमोहर सन्धीको स्मरणमा कार्यक्रम
२०७४ सालको लालमोहर सन्धी स्मरण कार्यक्रम ऐतिहासिक रुपमा सबै भन्दा ठूलो कार्यक्रम गरी सम्पन्न भयो । पूर्वका लिम्बुवान क्षेत्रका लिम्बुवानबासीहरुले १८३१ को लालमोहर सन्धीलाई कालो दिवशको रुपमा मनाउने गरेका छौँ । वि.सं. १८३१ साल साउन २२ गते तत्कालिन राजा पृथ्वी नारायण शाहले लिम्बुवानी राजालाई जुक्याईँ कुटनीतिक रुपमा लालमोहर सन्धी गरी लिम्बुवान खोसेको तीतो दिनलाई लिम्बुवानबासीहरुले कालो दिवशको रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आईरहेका छौँ । विशेषतः यहाँका लिम्बुवानी र लिम्बुजन्य संघ, संस्था, संगठनहरुले ऐतिहासिक भूमी लिम्बुवान फिर्ता हुनुपर्छ, लालमोहर सन्धी खारेज हुनुपर्छ भन्ने उद्देश्यले विभिन्न दवावमूलक कार्यक्रमहरु आयोजना गर्दै आईरहेका छौँ । किरात याक्थुङ चुम्लुङ, लिम्बू विद्यार्थी मञ्च, याक्थुङ युवा मञ्च लगायत लिम्बुजन्य संस्था र लिम्बुवानजन्य पार्टीहरुले यस दिनलाई कालो दिनको रुपमा लिई सृजनात्मक, रचनात्मक तरिकाले सांकेतिक दवावमुलक शसक्त आन्दोलनहरु गर्दै आईरहेको छ ।

२०७४ सालको साउन २२ कालो दिवश मनाउने सन्दर्भमा रचनात्मक रुपमा एक कार्यक्रम आयोजना गर्ने निर्णय भयो र त्यसै अनुरुप लालमोहर सन्धी विषयक कार्यपत्र प्रस्तुत एवम् बृहत साहित्यिक कार्यक्रम–२०७४ आयोजना गरियो । कार्यक्रमको प्रमुख आकर्षणको रुपमा पद्मा श्री पुरस्कार विजेता तथा चर्चित युवा कवि एवम् कलाकार उपेन्द्र सुब्बालाई निम्त्याईयो । कार्यक्रममा विभिन्न विधाका चर्चित कवि तथा साहित्यकारहरु आमन्त्रण गरियो । कार्यपत्र प्रस्तुतको लागि इतिहासविद कमल तिगेला र कार्यपत्रमाथि टिका टिपण्णीको लागि किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष एवम् अधिवक्ता याम प्रसाद लिम्बू र इतिहासविद तथा लिवि सल्लाहकार मोहनसिंह थेवेलाई जिम्मेवारीको लागि अनुरोध ग¥र्यौ । तर कार्यपत्र प्रस्तुतकर्ता र टिपण्णीकारहरुको विशेष कारणवश उपस्थित हुन सकेन अतः कार्यपत्र लिम्बू विद्यार्थी मञ्चका पूर्व अध्यक्ष आङबुहाङ अवोध अविरलले गरेका थिए र कार्यपत्रमाथि टिकाटिपण्णी इतिहासविद युद्धप्रसाद वैद्य र जितेन पन्धाकले गरेका थिए ।

कार्यक्रम निश्चित रुपमा भव्य रुपले सम्पन्न भयो । उपेन्द्र सुब्बाको मीठो कविता र लिम्बुवान र पहिचान सम्बन्धित विभिन्न युवा कविहरुको व्यङ्ग्यात्मक मीठा–मीठा गजलहरुले त्यो दिन र त्यो कार्यक्रम एकदमै ऐतिहासिक बनायो । कार्यक्रमकै अवसरमा २०७४ सालको स्थानीय तहको चुनावबाट विजयी हुने २ जना जनप्रतिनिधिहरुलाई लिम्बू विद्यार्थी मञ्चको तर्फबाट सम्मान गरियो । जसमा माङसेबुङ गाउँपालिका इलामका अध्यक्ष एवम् किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय पार्षद् डिकेन्द्र इधिङगो र देउमाई नगरपालिका वडा नं. ९ का वडा सदस्य एवम् लिम्बू विद्यार्थी मञ्चका पूर्व केन्द्रीय सदस्य हेमराज लिम्बू ।

२. नाम्लिङगेक लारिङगेक (देउसी भैलो कार्यक्रम)
मञ्च सामाजिक संस्था भएकै कारण आर्थिक रुपमा सक्षम नहुनु स्वभाविक हो । विभिन्न व्यक्ति व्यक्ति वा निकायहरुको सहयोगबाट र समितिका पदाधिकारी, सदस्यबाट लेवी संकलन गरेर संगठनको आर्थिक पाटो धान्न धाउधाउ हुन्छ । आर्थिक रुपमा कसरी सबल बनाउने भन्ने विषयमा हरेक विकल्पहरु रोज्ने क्रममा नाम्लिङगेक लारिङगेकलाई पनि एक कार्यक्रमको रुपमा लियौँ र दिपावली २०७४ (यले तङबे–५०७८) वलिहाङ तङनामको अवसरमा इलामको जितपुर, धुसेनी मंगलबारे, बरबोटे लगायतका स्थानहरुमा बृहत देउसी भैलो कार्यक्रमको आयोजना ग¥र्यौ । कार्यक्रम सफल बनाउनका लागि जितपुरका कलाकार भाई बहिनीहरु र तत्कालिन मञ्चका केन्द्रीय सदस्य हाल केन्द्रीय सचिव ताराबिर लिम्बू र पूर्व केन्द्रीय सदस्य दे.न.पा.९ का वडा सदस्य हेमराज लिम्बू धन्यवादका पात्र हुन् ।

मञ्चको आर्थिक पाटो सबल बनाउने र गरिब तथा जेहेन्दार लिम्बू विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने, हौसला दिने, सम्मान गर्नको लागि फन्ट स्थापना गर्नको लागि तयार गरिएको कार्यक्रम उद्देश्य अनुसार उपलब्धिमूलक बन्न नसक्नु बेग्लै कुरा हो । चारदिन सम्म चलेको बृहत कार्यक्रले सांस्कृतिक अभियानमा ठूलो सघाउ पुगेकै हो । कार्यक्रमबाट करिव १ लाख ५० हजार नगदी आय भयो तर व्यय पनि १ लाख २६ हजार नै भएछ । त्यसैले आर्थिक रुपमा हामी चुकेकै हौँ । तर हामीले लिम्बू विद्यार्थी मञ्चलाई चिनायौँ । सांस्कृतिक अभियानको एक नौलो बृहत अभियानको संकेत गर्यौ ।

३. लिपी प्रशिक्षण तथा एस.इ.इ.सम्मान कार्यक्रम
२०७४ माघ २० र २१ गते मञ्चको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भयो । अध्यक्षमा म निर्वाचित भए । अधिवेशन सफल बनाउन संयोजक शिव थेगिम र मैले कुटनीतिक पहल कदमहरु चलेकै हौँ । निश्क्रिय सदस्यहरुको विकल्प खोजी १५ जनालाई आयोजक सदस्यमा मनोनयन गर्याे। यसका अतिरिक्त एस.इ.इ. सम्मान, लिवि फन्ट स्थापना, गरीब तथा जेहेन्दार लिम्बू विद्यार्थीहरुको लागि छात्रवृत्तिका लागि योजनाहरु बनाएर पनि हामीले सम्भव गराउन सकेनौँ ।

तेस्रो जिल्ला अधिवेशनपछि म नेतृत्वको १७ सदस्यीय नयाँ कार्यसमितिले २०७५ भाद्र १६ देखी २२ गतेसम्म किरात सिरिजङगा लिपी तथा लिम्बू भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन ग¥र्यौ । सायदै यो कार्यक्रम अति प्रभावकारी भयो । हुन त लिपी प्रशिक्षण इलाममा नयाँ होइन । एस.इ.इ.सम्मान कार्यक्रम भने नयाँ र ऐतिहासिक हो । लिपी प्रशिक्षणमा मरब क्याम्पस, मोर्डन क्याम्पस, आदर्श माविका विद्यार्थी लागायत इलाम सदरमुकामका ५७ जना प्रशिक्षार्थीहरु सहभागी भए । गर्वको विषय भनेको गैर लिम्बू विद्यार्थीको पनि सहभागी हुनु हो । भाषा प्रशिक्षणको लागि प्रशिक्षक माङसेबुङ इलामका सुनिल शेर्मा धन्यवादका पात्र हुन् भने कार्यक्रम सफल बनाउन सहयोग गर्ने व्यक्ति संघसंस्थाहरु महान् छन् ।

एस.इ.इ. सम्मानको लागि जिल्लाका सामुदायिक र संस्थागत विद्यालयको तर्फबाट एक–एक जना उत्कृष्ट लिम्बू विद्यार्थीहरु पहिचान गर्ने क्रममा सामुदायिक विद्यालयको तर्फबाट जितपुर माविकी पार्वता लिम्बू, संस्थागत विद्यालयको तर्फबाट समता शिक्षा निकेतन बोर्डिङ स्कुलकी हेञ्जिला लिम्बूलाई थप हौसलाका लागि जनही रु.५०००।– (पाँच हजार) का दरले प्रशंसा–पत्र सहित सम्मान ग¥र्यौ । पुरस्कारको लागि आर्थिक सहयोग प्रदान गर्ने किरात याक्थुङ चुम्लुङका अध्यक्ष गायत्री थेगिम लगायतका टिम धन्यवादका पात्रहरु हुन् । मञ्चले मात्र माध्यमको भूमिका मात्र निर्वाह गरेको हो । प्रचार प्रसारको लागि नयाँ बुलन्द डट कम र सम्पादक राम योङहाङलाई धन्यवाद नदिईरहन सकिन्न ।

४. शैक्षिक भित्ते पात्रो (क्यालेन्डर) प्रकाशन
मञ्चको शैक्षिक भित्तेपात्रो प्रकाशन एक रचनात्मक क्रियाकलापक हो । इलाम जिल्लाले २०७३, २०७४ र २०७५ मा निरन्तर रुपमा पात्रो प्रकाशन ग¥र्यौ । २०७३ सालको पात्रो प्रकाशनको संयोजक म थिए त्यतिखेर जिल्ला सदस्य थिए । २०७४ को पात्रो तेस्रो जिल्ला अधिवेशन आयोजक समितिले निकाल्यौँ र २०७५ सालको पात्रो निकाल्दा मञ्चको अध्यक्ष र संयोजक म आफैँ थिए । तीन पटकको पात्रो प्रकाशनको अनुभव मसँग छ । पहिला पहिला पात्रोमा आफ्नो नाम र फोटो आउँदो अत्यान्तै खुशी लाग्थ्यो । पात्रो प्रकाशनको लागि विज्ञापन, शुभकामना खोज्ने, माग्ने र तस्बिरहरु कलेक्सन गर्नु एक चूनौतीको विषय हो । कतिपय संघसंस्था, व्यक्तिहरुको शुभकामना, विज्ञापन राखिन्थ्यो रकम उठाउन गारो हुन्थ्यो । कार्यसमितिकै सदस्यहरुको फोटो कलेक्सन गर्नै पनि गाह्रै विषय हो ।

नयाँ कार्यसमितिले पात्रो निकाल्दा एक नयाँ ऊर्जा थियो हामीसँग । फेरी पहिलेको अनुभवले पनि धेरै कुरा सिकाई सकेको थियो । कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुबाट रु.५००।– का दरले जिम्मेवारी तोक्यौँ । त्यसपछि अरु सबै रकम संकलन विज्ञापन तथा शुभकामनामार्फत पूर्ति गर्ने । २०७५ को पात्रो अलिक ठूलै रकमको थियो । चारपत्ते भएको कारण पनि हो । यसभन्दा अगाडीका पात्रो १ पत्ते मात्र थिए । पात्रो प्रकाशनपछि कार्यसमितिका सबैले ५०।५० प्रति जिम्मा लिई विक्रि गर्ने र त्यसवापत अनिवार्य रुपमा रु.१५००।– संस्थालाई व्यहोर्ने हाम्रो निर्णय भयो । त्यसकारण हामी नाफामा पनि गयौँ । पात्रो प्रकाशन गर्दा खट्न आवश्यक छ घाटा हुन्न । नाफा भएकै कारण हामीले अन्य कार्यक्रमहरु गर्नमा सहयोग भयो । पात्रो प्रकाशनले मञ्चलाई जिवित राखेको अनुभूति दिन्छ । सांस्कृतिक रुपमा मञ्चको प्रचारप्रचार र आर्थिक पाटोमा सघाउ पु¥याउँदै आएको छ ।

५. लिम्बू विद्यार्थी मञ्च उत्कृष्ट जिल्लाको रुपमा सम्मानित हुुनु
२०७६ असोज १२, १३ र १४ मा ताप्लेजुङमा सम्पन्न भएको मञ्चको नवौँ राष्ट्रिय महाधिवेशनको अवसरमा इलाम जिल्ला उत्कृष्ट जिल्लाको रुपमा सम्मानित भयो । सम्मान पाउनुको श्रेय माथिका मूख्य क्रियाकलापहरु नै हुन् । यी वाहेक धेरै कार्यक्रमहरु मञ्चले सम्पन्न गरेका छन् । तीनीहरु यहाँ चर्चा गरेर सम्भव छैनन् । ऐतिहासिक रुपमा इलाम जिल्ला सम्मानित हुनु गौरवको विषय हो । यसको लागि लिम्बू विद्यार्थी मञ्च मरब क्याम्पस, किरात याक्थुङ चुम्लुङ लगायत अन्य शाखा समितिहरु पनि श्रेयका पात्रहरु हुन् । यीनीहरुको साथ सहयोगले गर्दा नै इलाम जिल्ला उत्कृष्ट बन्यो ।

६. लिम्बू विद्यार्थी मञ्च इलाम र मरब क्याम्पस शाखाको सम्बन्ध
मञ्चको इतिहास पल्टाउँदा लिवि मञ्चको सुरुवात इलामको मरब क्याम्पसबाटै भएको हो । त्यसैले लिम्बू विद्यार्थी मञ्च मरब क्याम्पस इलामको आफ्नै महत्व रहेको छ । सक् सक् यक् को रुपबाट मरब क्याम्पसबाटै मञ्चको सुरुवात भएको कारण अहिले हामी मञ्च भन्दै गर्वका साथ अघि बढ्दै छौँ । मञ्च विद्यार्थीहरुको संस्था भएको कारण पहिला पहिला जिल्ला भन्दा पनि क्याम्पस शाखाहरु बढी क्रियासिल र महत्वपूर्ण थिए । अझै पनि जिल्ला र क्याम्पसलाई मञ्चले समानन्तर शाखाका रुपमा लिन्छन् । इलामको सन्दर्भमा लिम्बु विद्यार्थी मञ्च मरब क्याम्पस र जिल्लाको नङ र मासुको सम्बन्ध रहेको छ । जिल्ला निष्कृय रहँदा क्याम्पसको क्रियाकलापले इलामलाई जिवित बनाईरहेको हुन्छ, क्याम्पस निष्कृय रहँदा जिल्लाका क्रियाकलापले मञ्चलाई जिवित र शसक्त बनाईरहन्छ । कहिले लिपी प्रशिक्षण, कहिले च्याब्रुङ, यालाङ, केलाङ, प्रशिक्षण, कहिले लोकसेवा सम्बन्धी अभिमूखिकरण कार्यक्रम, कहिले शिक्षक सेवा अभिमूखिकरण कार्यक्रम, कहिले ताम्भुङ चा (बनभोज) कार्यक्रमहरु मरब क्याम्पस र जिल्लाको एकमुस्ट कार्यक्रम हुन्छ । यसका अतिरिक्त मञ्च सम्बद्ध विविध उत्सव, जन्मजयन्ती, जन्मोत्सव लगायत भैपरी आउने विभिन्न खाले कार्यक्रमहरु आन्दोलनहरुमा यिनीहरुको पाइलाहरु एकसाथ अघि बढिरहेका छन् ।

तत्कालिन क्याम्पस अध्यक्ष रुद्र थेवेको नेतृत्वले २०७१ सालमा गरेको मरब क्याम्पसको नाम लिम्बू भाषामा लेख्ने क्रममा जिल्लाको भूमिका उच्च थियो । त्यतिखेर इलाम जिल्लामा कार्यवाहक अध्यक्ष जलन आङबुहाङ हुनुहुन्थ्यो । नाम लेख्ने काम चानचुने काम थिएन त्यतिखेरको समयमा । राजनीतिक परिस्थिति, समाजको भाषिक अधिकारप्रतिको चेतनामा विकास भएको थिएन । अहिले संघियतापछि त सबै भाषाहरुको महत्व बढ्दै गईरहेको छ । इलाम जिल्लाकै हकमा संविधानतः इलामकै माङसेबुङ गाउँपालिका वडा नं. ५ को वडा कार्यालयमा लिम्बू भाषा सरकारी काजको रुपमा औपचारिक रुपमा सुरु भई कार्यान्वयनमा रहेको छ । अधिकांश कार्यालयका नामहरु लिम्बू भाषामा लेखिएका छन् पोतिएका छन् । यिनीहरुलाई मञ्चले ठूलो उपलब्धीको रुपमा लिएको छ । मरब क्याम्पसको फक्ताङलुङ प्रकाशनले लिम्बू विद्यार्थी मञ्च र लिम्बू समुदायको संस्कार, संस्कृति, भाषा तथा धर्मको उत्थानमा ठूलो सहयोग मिलेको छ र मञ्चको शीर उच्च रहेको छ । आठौँ अंक सम्म प्रकाशन गर्ने सबै अध्यक्षहरु र वहाँहरुका नेतृत्वमा रहेर मञ्चका लागि योगदान गर्नेहरु मञ्चका लागि महान् छन् । अहिले तपाई हाम्रो हातमा फक्ताङलुङको नवौँ अंक आईपुगेको छ । साे अंक प्रकाशन गर्नको लागि अध्यक्ष शुक्र माबोले आफ्ना व्यक्तिगत जिम्मेवारी र परिवारहरुलाई समेत भूलेर काम गरेका छन् । छ महिनासम्म त फक्ताङलुङ शब्दले उसको दिमाक कहिलै खुल्ला हुन दिएन । शुक्रको नेतृत्वमा रहेका अन्य विद्यार्थीहरुको योगदान पनि त्यतिनै महत्वपूर्ण रहेको छ । –[email protected]

यो लेख फक्ताङलुङको ९औं अंकमा प्रकाशित भएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु