adv

खुवालुुङ फुटाउने सरकारी कदमको विरोधमा अभियन्ताहरूले गरे प्रदर्शन

सुनसरी । किरातीहरूको आस्थाको धरोहर खुवालुङ क्षेत्र पुगेर अभियन्ताहरूले सोमबार प्रदर्शन गरेका छन् । सप्तकोशीमा जहाज चलाउने भन्दै तमोर, अरुण र दुधकोशीको संगमस्थलमा रहेको खुवालुङ “किरातीहरूकाे सांस्कृतिक बिम्ब खवालुङ ढुंगा” फुटाउने सरकारी कदमको विरोधमा प्रदर्शन गरिएको हो ।

बृहत् नागरिक आन्दोलन, आदिवासी जनजाति लेखक संघ तथा सम्पदा संरक्षणकर्मी खुवालुङ ढुङ्गा रहेको स्थानमा पुगेर विरोध गरेका हुन् ।

किरात सभ्यता र मुन्धुमका मिथ जोडिएको उक्त ढुंगा उदयपुर, धनकुटा र भोजपुरको सीमानामा पर्छ । वराह क्षेत्र नजिकै रहेको खुवालुङ क्षेत्रमा किराँतहरूले पूजा तथा अनुष्ठान गर्दै आएका छन् ।

८ फागुनमा विराटनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त ढुंगा फुटाएर भए पनि कोशीमा जहाज चलाइछाड्ने उद्घोष गरेका थिए ।

यसैको विरोधमा सोमबार गरिएको प्रदर्शनमा बोल्दै साहित्यकार एवं आदिवासी जनजाति लेखक महासंघका संयोजक राजन मुकारुङले विकासको नाममा संस्कृतिमाथि धावा बोल्ने हरेक शासकविरुद्ध जनता उभिने उद्घोष गरे । मुकारुङले भने, ‘किराँतहरूको सांस्कृतिक बिम्बका रुपमा रहेको खुवालुङलाई राज्यले ढुंगाको रुपमामात्रै नदेखोस् ।’

 

यस्तै बृहत् नागरिक आन्दोलनका अभियन्ता बच्चु हिमांशुले राज्यले आदिवासी, जनजातिहरूको संस्कृतिमाथि बारम्बार प्रहार गरिएको भन्दै आक्रोश पोखे। उनले भने, ‘कतै रंगशालाको नाममा, कतै पानीजहाज त कतै मन्दिरको नाममा आदिवासीमाथि दमन गरिएको छ ।’

यस्तै खुवालुङ बचाउ समितिकी सचिव दिला राईले स्थानीय जनताको आस्था र भावना मिचेर सरकारले खुवालुङ ढुंगो भत्काउन लागेको बताइन् । उनका अनुसार बहुसंख्यक स्थानीय ढुंगा भत्काउन नमिल्ने पक्षमा छन् ।

संरक्षण र सम्वर्धनका लागि सरकार लाग्नु पर्नेमा एतिहासिक कुराहरू माथि निरन्तर विनास र दमनको विरुद्धमा ससक्त रुपमा आन्दोलन गर्ने किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राईले बताए । खुवालुङ क्षेत्रमा स्थलगत अध्ययनका लागि विद्यार्थीको टोलि यस अघि नै आइसकेको जानकारी दिदै उनले भने–हाम्रो संस्कार संस्कृती माथि धावा बोल्ने जोकोहिलाई हामि छाड्दैनौ ।

विरोध कार्यक्रममा  पूर्वी नेपालका विभिन्न स्थानबाट लेखक, कलाकार, विद्यार्थी अभियन्ता तथा संस्कृतिकर्मीहरूको उपस्थिति थियो ।

स्थानीय इन्द्रहाङ खम्बूका अनुसार खुवालुङको शाब्दिक अर्थ पानीमा रहेको ढुगो भन्ने बुझिन्छ । किरातका पूर्खाहरू यही ढुंगालाई केन्द्र मानेर अरुण, तमोर, दुधकोशी, सुनकोशी क्षेत्रतिर प्रवेश गरेको इतिहास रहेको खम्बूले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु