adv

यसपटक भोट केमा ?

  • अन्वेश थुलुङ

बाटोहरुतिर अब चुनावको गीत बज्न सुरु गरिसक्यो । आफ्ना गुणगानले भरिएका गीतहरु । सामाजिक सञ्जालको बहस पनि उस्तै चर्को । केहि गरि अलिली भनिहाल्यो भने । जि–बब बनिदिइहाल्छन् । ‘मिलेन तेरो लेभल’ भनिदिन्छन् । र यस्तो विषम परिस्थितिमा म भने यतिबेला रामेश श्रेष्ठको गीत सुनेर बस्दैछु । ‘कोइ त भने जहाजमा सररर कोइ त भने पसिना तररर हाम्रो नेपालमा… ।’ सोच्छु यो गीतलाई नै आफ्नो चुनावी प्रचारप्रसारको गीत किन बनाउँदैनन् ? यस्तै अरु पनि गीतहरु छन् । जसले हिजोको समय पुरै व्यवस्था नै परिवर्तन गर्न जाउँ जाउँ बनाउँथ्यो । यसो आफैँ गाउँदा पनि मीठो सुनिने खालको । फेरि सोच्छु यो गीत समयअनुसार लेभल मिलेन की ? म्याद पो एक्सपायर भएको हो की ? नयाँ व्यवस्थाले गीतको स्वाद पनि फेर्छ क्यार यसै सोचेँ । काँचुली फेरेजस्तै ।
तर हालको समयमा सबैभन्दा बढि लुकाइनुपर्ने गीतहरु यिनै हुन् । किन ? यसको कारण धेरै सजिलो छ । बिच सडकमा जो राजनिति गरेर हिँड्छु भनेको छ उसलाई यो गीतले नाङ्गो बनाउँछ । एकदम नाङ्गो । सक्नुहुन्छ ? आफ्नो राजनैतिक प्रचार प्रसार यहि गीत घन्काएर ? आँट छ ? साहित्यको शक्ति कति छ यसबेला आकुँ । तपाईको राजनिति कतिको सफल यसबेला जाचुँ । हामी कहाँबाट के भनेर कसरी हिँडेको थियौ र कहाँ पुग्यौँ ?

त्यसो त एउटा गीतले हालको सत्ताको करंग चिसो हुन्छ । डरले धम्काउँछ । बन्देज लगाउँछ । हिजोको समयमा साहित्य वा वाकस्वतन्त्रतालाई गरिएको बन्देज र हालको समयमा गरिएको बन्देजमा धेरै भिन्नता पाउनुहुन्न । जुन व्यवस्थालाई जहाँनिया, निरंकुश भनेर भन्थिम् सोहि व्यवस्था विरुद्ध उभिएर स्थापना भएका नयाँ व्यवस्थामा उति फरक लाग्दैन । संख्यागत रुपबाट ‘डिस’ हान्ने काम अलि कम अलि बेसि होला । तर भको कार्यको ‘पारा’ले लोकतन्त्रमाथि नै शंका गराउँछ । तर यो कुनै “नयाँ चोट” लागेको हैन । “पुरानो घाउ” नै बल्झेको हो । मान्छेहरु रै पनि विकल्प देख्दैनन् । किन देख्दैनन् ? किनकी तपाईँहरुलाई संरचनाबाट नैँ उहिल्यैबाट ‘उधोँ’ बगाइसकिएको छ । अनि तपाईँ ‘उभोँ’ खोजिरहनु भएको छ ।

‘उभोँ’ भनेको के हो थाहा पाउनु भयो ? जहाँ धेरै लगानी भयो नी यसपटक । निसाना लाग्यो ? जहाँबाट आफु वरपरको हरेकको घरघर देखिन्छ । ठेक्कामा बाँडेको बाटो देखिन्छ । देखिने कुरा धेरै छन् । भन्न थाल्यो भने मलाई नै निषेध गर्देलान् भन्ने डर । आखिर गाउँ गाउँमा सिंहदरबार भएपछि गाउँ गाउँमा धरहरा हुन परेन त ? (सिं)हदरबार र (ध)रहरा नछुटिने मदनकृष्ण र हरिवंशकै जोडी हो नी । वास्तवमा मदनकृष्ण र हरिवंशको ‘मह’ जोडीको कुरा गरेर मैले ‘सिंध’ कै अपमान गर्न खोजेको हैन । आखिर यो सिँधको ‘गुटबन्दी’ भन्ने कुरा त राजनिति हो नी । फस्ट क्लासको राजनिति । अब वैचारिक धरातल नै नमिल्ने आस्थाहरु एकै ठाउँ यसै आउँछ र सरकार बनाउँछ त ? यो त हो नी असली चिज । आस्था नै सबथोक भनेर मानिदिने हो भने त भागी नै मिल्दैन नी । अब सिंहदरबार हेर्नको लागि धरहरा अत्यन्त आवश्यकीय कुरै त हो नी ।

आवेगहरु धेरै छन् । असन्तुष्टीहरु धेरै छन् । यो लेखको उद्देश्य कसैलाई चिढ्याउनु हैन । न कसैलाई सुझाव दिनलाई लेखिएको हो । बेवास्ता, वास्ता तपाईँको स्वतन्त्रता । यी मेरा नितान्त व्यक्तिगत बुझाईहरु हुन् । जनताको एक भोटले कति फरक पार्दो रहेछ भन्ने बुझाईहरु । योजनाहरुले कति फरक पार्ने रहेछ भन्ने बुझाईहरु । यसमा कमजोरीहरु हुन सक्छन् । धरातलिय ज्ञान नहुन सक्छ । यसको लागि म क्षमाप्रार्थी छु । यतिबेला मेरो मोबाइलमा ‘अरुण तरेर नाना, तमोर तरेर…’ गीत बजिरहेको छ ।

केहि समय अघि मैले फेसबुकमा एक स्टाटस लेखेको थिएँ । यदि तपाईँसँग वार्षिक १० लाख बजेट छ र तपाईँ कुनै स्थानिय तहको नेतृत्व हुनुहुन्छ भने के योजना बनाउनु हुन्छ ? मजाक जस्तो लागे पनि यो मजाक थिएन । मानिलिनुस् तपाईँको स्थानिय तहमा भोकमारीले सयौँ मान्छे मरिरहेका छन् वा महमारीले हजारौँ मानिसको जिन्दगीलाई कष्टकर बनाएको छ । अथवा एक शक्तिशाली राष्ट्रले आक्रमण गरेर तपाईँको क्षेत्रलाई तहसनहस पारेको छ । यस्तोबेला सिमित बजेटले तपाईँ के योजना बनाउनु हुन्छ ? यो जटिल परिस्थिति (Worst Case scenario)मा तपाईको पहिलो निर्णय के हुन्छ ?

तपाईँलाई यी तर्कहरु बेतुक लाग्न सक्छ । तर कोरोना मजाक थिएन । सम्पुर्ण विश्वकै होस उडाएको महामारी मजाक थिएन । एक विकसित देशको तुलनामा हाम्रो बजेट निक्कै कम हो उहि १० लाख जस्तै । तर भएको स्रोतहरुको परिचालन कसरी गर्ने भन्ने कुरा महत्वपुर्ण छ । महामारीको समय देखिएका समस्या पक्का पनि भ्युटावर, मुर्ति, आदिले समाधान गर्ने कुरा थिएन । सामान्य जनजीवनले भोगेको व्यथाहरु पक्का पनि ती योजनाहरुले पार लाउने कुरा थिएन । तपाईको एक भोटले यहि कुराहरुको निर्णय गर्छ । एक भिजनरी नेतृत्वको परिकल्पना हामीले गर्न आवश्यक छ । के विकल्प दिँदो रहेछ येल्ले चैँ भनेर सोचिरहनु भएको छ भने । म तपाईँलाई निरास बनाउनु सक्छु । तर यो लेख र मेरो खुट्टा चैँ नतानिदिनुहोला । बिन्ती गरेँ ।

अनि विगत पाँच वर्षभित्र भएको जति पनि योजना छन् त्यसलाई गहिरिएर सोच्नुस् । डाटा निकाल्नुस् । चौडा बनाइएका वा बिस्तार गरिएका सडकहरुले कसलाई फाइदा गरायो ? सडक बढाउनेलाई ? कृषकलाई ? व्यापारीलाई ? कृषकको आम्दानीमा यसले साँच्चिकै बढायो कि घटायो ? कृषि अनुदानहरु क कसले कति कति पाए ? कतिको प्रभावकारी भयो ? यसले कृषकहरुको जीवनस्तर कहाँ पु¥यायो ? शिक्षामा के कस्ता प्रभावकारी लगानी भए ? र यसले शैक्षिक स्तर कति उकास्यो ? उक्त शैक्षिक कार्यक्रममा स्थानिय तहले के नयाँ कुरा ग¥यो ? युवा जनशक्ति निर्माणमा के के तालिम, शिक्षा वा रोजगारी कार्यक्रमहरु सुरुवात भए ? सफलता के रह्यो ? स्वास्थ्यको सवालमा के के योजना बने ? अबको भोट यी आधारभुत कुराहरुकै आधारमा हुनुपर्छ । र तपाईँको एक भोटले यी प्रश्नहरुको जवाफ दिनैपर्छ । सिमान्तकृत समुदाय, महिला, युवा सम्पुर्णले आफ्नो आफ्नो दृष्टीकोणबाट हरेक पक्षलाई हेर्नु नै पर्छ । अबको लागि यो सिर्फ एक भोटमा मात्र कुरा रहेन । यो हाम्रो भविष्यको कुरा पनि रह्यो ।

भारतीय राजनितिमा हालको समय एक पार्टी निकै चर्चामा छ । जसले भर्खरै मात्र पंजावमा ठूलो जित हासिल गरेको छ । आम आद्मी पार्टी । रमाइलो कुरा के छ भने । यो पार्टीले कहिल्यै ठूला ठूला राजनैतिक बहस गरेन । गरेपनि अलि ‘पारा’ मिलाउँथेन । यद्यपी आफुले जितेको क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, आदिजस्ता कुरालाई जनमैत्री बनायो । र छोटो समयमा आफुले पाएको नेतृत्वको वर्चस्व अझै पनि कायमै छ । शिक्षा क्षेत्रमा महंगो बोर्डिङ्गको विकल्पमा सुधारिएका सरकारी विद्यालय हालको समय धेरैले उदाहरण लिने विषय बन्न सक्छ । उनीहरुले कहिल्यै पनि आफ्नो ठाउँलाई स्वीटजरल्यान्ड, सिंगापुर बनाउँछु भनेनन् । सिर्फ व्यवस्थाहरुलाई जनमैत्री र जवाफदेही बनाए । र यसपटक आफ्नो पंजाबले देशको पुराना ठूल्ठूला पार्टी नहेरेर दिल्लीमा काम गरेर आफैँलाई अब्बल प्रमाणित गरिसकेको आम आद्मी पार्टीलाई भोट दिए । विकिपिडिया, गुगल, युट्युवमा हेर्नुस् । कसरी बिजुलीको बिलले एक पार्टीको निर्माण गरिदियो र देशकै राजधानीमा हालसम्म पनि उनीहरुको उपस्थिति यथावत छ । नेपालमा यस्तो सोचको विकास होला नहोला थाहा छैन तर आस्थाकै कारणले भने जनताहरु हरेक चुनावपछि पनि ‘भुलिदिनेलाई सम्झिदिनेलाई माया त माया हो ।’ भनिरहन्छन् । र यहाँ मायाको फाइदा उठाको उठाकै । कमसेकम कोहि कोहि युवाहरु स्वतन्त्र उम्मेद्धारीको आँट गरिरहेका छन् । अँटेरी बनिरहेछन् । यसलाई पनि मध्यनजर गर्नुस् ।

यतिबेला इतिहासलाई सहि मुल्यांकन गरेर भविष्यको विषयमा सोच्न आवश्यक छ । हिजोको समय हामी कहाँ थियौँ र आज कहाँ छौ ? यसलाई गहिरिएर सोच्नै पर्छ । तपाई कृषकै भएर सोच्नुस् । युवा भएरै सोच्नुस् । पाँच वर्षमा कोरोना महामारी पश्चायत तपाईँमा आएको सोचहरुको विषयमा एकफेर गम्नुस् । यसो त एक महामारीले हाम्रो अवस्था के छ यसलाई नाङ्गो बनाइसकेको छ । कोरोनाकालको समय स्वास्थ्य क्षेत्रका भौतिक संरचना, शैक्षिक संरचना, आर्थिक संरचना सबैमाथि पुनः सोच्न बाध्य गराएको छ । यदि संसारबाट अलग्गाइदिने हो भने, यो जटिल परिस्थितिमा कतैबाट पनि । केहि कुरा । केहि कुरा पनि आयात नगरी इलाम, बिरामी कतै नलगी, अन्यत्र व्यापारै नगरी, आफ्नै बारीमा फलेको कुराहरु मात्र खाएर, धनी गरिब मान्छेहरु बस्न सक्छन् ? कतिसम्म बस्न सक्छन् ? निस्फिक्री पढ्दै बस्न सक्छन् ?

त्यसमा पनि हामी रहेकै स्थानिय तहमा सुविधायुक्त अस्पतालकै आवश्यकता कति रहेछ भन्ने कुरालाई नकार्न सकिन्न । भ्यु टावर भन्दा यो धेरै नै सह«ायिन काम हुन सक्थ्यो । युवाहरुमै लगानी गर्ने विषयमा सम्भावना भएको विद्यार्थीहरु मध्ये उत्कृष्टहरुलाई स्वास्थ्य क्षेत्रकै डाक्टर बनाउन लागि अक्षयकोष स्थापना गरेर लगानी गरेको भए पनि हुन्थ्यो । वा इलामका कृषि उत्पादनलाई स्टान्डराइजेनस गर्ने संरचना वा जनशक्ति निर्माण गर्न खर्चेको भए हुन्थ्यो । कोल्ड स्टोर नै बनाए पनि उत्पादनमुखी हुन्थ्यो । तर हामीलाई उपभोक्तामुखी बन्नु छ । सब कुरा आयात गरेर खानु छ ।

योजनाको विषयमा तपाईँलाई म एक भर्खरै भएको घटना सुनाउँछु । सोच बाइ मोहक नामक एक युट्युव च्यानल छ । यसैका अनुसार, चीनले केहि समय अघि केहि कम्पनीहरुलाई बन्देज लगायो । ती कम्पनीहरु इ—कमर्स, गेमिङ्ग र ट्युसन विज्नेस गर्ने कम्पनीहरु थिए । चाइनिज सरकारले अन्लाइन गेमिङ्गलाई ‘इलेक्ट्रोनिक ड्रग्स’ कै संज्ञा दिए । विश्वमै प्रसिद्ध रहेका यी खर्बौँ डलरको कारोबार गर्ने कम्पनीहरुलाई आखिर चीन सरकारले किन कडाई ग¥यो जबकी यी कम्पनीहरुलाई ब्यान गर्नाले स्वयम चीनकै अर्थतन्त्रमा पनि खर्बौँ डलरको घाटा हुन्थ्यो । जबकी चिनियाँ सरकारले यदि अलिबाबाको प्यारेन्ट कम्पनी एन्ट ग्रुपलाई नरोकेको भए उसले बजारबाट ३७ बिलियन डलरको लगानी उठाउँथ्यो । संसारकै सबैभन्दा बढ्ता ।

यसमा ट्युसन सेन्टरमा किन चिनले बन्देज लगायो त्यसको कारण एकदम महत्वपुर्ण छ । शैक्षिक हिसाबले चीनको युनिभर्सिटीमा स्थान पाउनु एकदमै कठीन विषय हो तर ट्युसन सेन्टरले चिनियाँ समाजमा ‘पैसा खर्च गरेर ट्युसन नपढे त पार लाको लाकै हो ।’ भन्ने मानसिकता भरिदिएको थियो । यसको कारणले चिनियाँ समाजमा बच्चाको शिक्षालाई लिएर अभिभावकमाथि ठूलो आर्थिक तथा मानसिक भार परिरहेको थियो । वर्गिय असमानता त छँदै छ । सँगै यस कारणले चिनियाँ परिवारहरु परिवार बढाउने इच्छा गरिरहेका थिएनन् । जबकी चीनले एक सन्तान पोलिसीलाई खारेज गरिदिइसकेको छ । र दुइ सन्तानको नयाँ पोलिसी निर्माण गरिदिएको छ । आफ्नो सैद्धान्तिक उपस्थितिको लागि उसले यी कार्यहरु गरेको विज्ञहरुको भनाई थियो ।

टेक्नोलोजिको विषयमा चिनियाँ राष्ट्रप्रमुख सि जिन पिङ्गको टेक्नोलोजिप्रतिको देखाई अलि महत्वपुर्ण छ । सायद यी कुरा हाम्रो योजनाहरु कसरी बन्नुपर्ला भन्ने कुराको लागि महत्वपुर्ण बुझाई हुनसक्छ । उनको देखाई अनुसार टेक्नोलोजि दुइ भागमा विभाजित हुन्छ । ‘पहिलो ‘नाइस टु ह्याभ’, राम्रो लाग्ने र दोस्रो ‘निड टु ह्याभ’, आवश्यक पर्ने वा राम्रो गर्ने ।’

अन्लाइन गेमिङ्गहरुले पैसा त कमाइरहेका छन् तर के समाजको लागि त्यति नै प्रभावकारी छ त ? यसले समाजको कुन आवश्यकतालाई पुर्ति गर्छ ? यहि कुराहरुलाई मध्यनजर गर्दै युवाहरुमाझ ‘अफिमको नसाको जस्तो काम गरेको’ निष्कर्ष निकाल्दै चिनियाँ सरकारले यी योजनाहरुलाई घाटा सहेरै कडाई ग¥यो । र देशलाई अबको लागि आवश्यक पर्ने कम्प्युटर माइक्रोचिप्स, ब्याट्री, आदि जस्ता कुरालाई अग्रसर गरायो । यसले सामाजिक रुपबाट रोजगारीको निर्माण त ग¥यो नै । त्यो भन्दा बढ्ता उनको देशलाई आत्मानिर्भर बनायो । भलै प्रसंगको हिसाबले यो अलि महत्वकांक्षी देखिन्छ । तर यसको आधारभुत कुरालाई नजरअन्दाज नगरौँ । हामीले हाम्रो योजनालाई ‘राम्रो लाग्ने’ वा ‘आवश्यक पर्ने’ ? यी अलोचनात्मक चेतबाट हेर्नुपर्छ । यसमा कोहि नयाँ स्वतन्त्र युवा समाजको गहन अध्ययनसँगै अटेरी बनेर आउँछ भने उसलाई पनि किन विश्वास नगर्ने ? हामीलाई हेरौँ यसपटक ।

यसमा हामीले निर्माण गरेको योजना कस्ता खाले योजना रहे त ? यसमा एक महत्वपुर्ण प्रसंग है । सडक निर्माणको मानसिकतालाई हेर्ने हो भने अधिकांश इलामका सडकले झापालाई केन्द्र बनायो । अधिकांश नेतृत्वको भनाई, ‘हाम्रो ठाउँको उत्पादन झापामा लगेर बेच्ने ।’ तर बढेको बाटोले झापामा पहिलाभन्दा साँच्चिकै इलामका कृषि उत्पादन बढि बेच्यो कि, उताबाट चाउचाउ बढि आयात ग¥यो ? अनि त्यसको लागि बाटो बाहेकका के के कार्ययोजना बनायो ? स्थानिय तहको व्यापारिक रणनिति के रह्यो ? कस्ता कस्ता विज्ञहरुलाई परिचालन ग¥यो ? उत्पादन र त्यसले पाएको आर्थिक सफलताको बाटो निर्माण अघि र पछिको आँकडा के छ ? घटबढ भए त्यसको स्तर कसरी बढाउने ? यी कुराहरु चैँ सडक बिस्तार, निर्माण, सुधारसँगै भए कि भएनन् ? उत्पादन झापामा लगेर बेच्ने सवालमा स्थानिय तहले बनाएका रणनिति, विकास योजनाहरुको गम्भीरता कति थियो ? कृषकको लागि भन्न जति सजिलो छ त्यो हिसाबले कृषक जस्तो कृषक हो या असली कृषक हो । हिजो आजको कुराहरुलाई समग्रमा हाम्रो आँखाबाट बुझेर यसलाई हेर्न जरुरी छ । पहिले जस्तो ‘मुख खोलेर भन्न पो भा छैन कल्लाई था छैन’ भन्ने हुनुहुँदैन । तपाईँको भोटले यो कुराको पनि मुल्यांकन गर्छ ।

मेरो बुझाईको कमजोरी हुनसक्छ तर इलामले जुन हिसाबले आफैँलाई नेपालको महत्वपुर्ण पर्यटकीय गन्तव्य भन्छ त्यसले वास्तवमा इलाम आफैँलाई चैँ केन्द्र बनाउनु पर्ने हो हैन र । पोखरा जसरी नै । झापाको परिचय त फेरि पनि पर्यटकीय नगरी हैन होला । बरु ऊ औधोगिक केन्द्र बन्न सक्छ । यसमा हामी केको केन्द्र हो ? यसमा स्पष्ट हुन जरुरी हुन्छ जस्तो लाग्छ । ‘ठूलो बोली’ गरेको भने हैन तर समग्र स्थानिय तहको आर्थिक, सामाजिक योजना यहि स्पष्टताको वरिपरि घुम्छ जस्तो लाग्छ । यसमा हामी केको केन्द्र हो ? यसमा अबको लागि हाम्रो योजना के रहने ? यसपटकको भोटको लागि यी कुरालाई गहिरोगरि मध्यनजर गरौँ । कसैले यसमा स्पष्ट धारणा राख्छ भने उसलाई भोट दिनुस् ।

कुरा पर्यटनको उठेपछि अब अन्तिममा मैले यहि कुरालाई मध्यनजर गर्दै बिट मार्ने योजना गरेँ । अहिले मेरो छेउ ‘गाउँ गाउँबाट उठ…’ गीत बजिरहेको छ । अघि चीनको कुरामा उसले पूँजीलाई मात्र महत्वपुर्ण मानेन । पुँजीसँगै समाजमा भइरहेको योजनाहरु, उद्योगहरु, व्यवस्थाहरुले के प्रभाव पारिरहेको छ भन्ने कुरा पनि जाँच्यो ।

समाजलाई आनन्द मात्र प्रदान गरिरहेका ठूला गेमिङ कम्पनी, शैक्षिक रुपबाट वर्गहरुको निर्माण गरिरहेको ट्युसन सेन्टरहरु उसले बन्देज गर्न हिच्किचाएन । भलै ती कम्पनीले चीनलाई अर्बौँ कर तिथ्र्यो । उसको लागि त्यस्ता उद्योगहरुले समाजलाई कतातिर लगिरहेछ भन्ने कुरा महत्वपुर्ण थियो ।

पर्यटनहरुको पनि अनेकन प्रकार हुन्छन् । स्वास्थ्य पर्यटन, शैक्षिक अनुसन्धान पर्यटन, कृषि पर्यटन, यौन पर्यटन, आदि इत्यादि ।

पर्यटन उद्योग हो । व्यापार हो । र व्यापारले सिर्फ पूँजीमात्र बोक्दैन । यसले समाजको विचार, संस्कृति, राजनिति, कला धेरै कुरालाई बोक्छ र प्रभाव पार्छ । समाजलाई पर्यटनले राम्रो लागेको आभाष गराईरहेछ वा राम्रो नै गरिरहेछ । समाज, प्रकृति, पर्यावरणहरुले पैसा कमाउनकै लागि बढि सम्झौता गर्ने खालको पर्यटकहरु आइरहेछ वा लियोनल कप्लान जस्तो इलामे समाजको सामाजिक व्यवस्थामाथि पुस्तक लेख्ने वा केअार खम्बू जस्ताे जिवविज्ञानको, विश्वको परिवेशमाझ चिनाउने प्राणी, वनस्पतिका अध्ययन गर्ने गम्भीर पर्यटकहरु भित्राएर समाजको छविलाई विश्वमा चिनाइरहेछ ? र जानकारीको लागि जुनबेला इलाममा चप्पल लगाउने पनि चलन खासै थिएन त्यसबेला कप्लान आफ्नो पिएचडी थेसिस गर्न महिनौँ इलाममा बसे । त्यसबेला उनले इलाममा आफ्नै खर्चमा हेलिकप्टर ल्याएका थिए । यी कुरालाई पनि मध्यनजर गरुँ । पैसाले सबै क्षतिको हर्जना तिर्न सक्दैन । हामीलाई चाहिने पर्यटक कस्ता खाले पर्यटक हुन् ? अनि यहि पर्यटनको आयामलाई केस्रा केस्रा केलाऔँ ।

एक भोट चान्चुने कुरा हैन । यो एक ठूलो भिटो हो । जसले भन्छ । तिमी र म बराबर हौँ । र यो बेला विचारको हो । वैचारिक हस्तक्षेपको । एक भोट सम्हालेर दिनुहोला । र माथि उल्लिखित कुरा कसैको विरोधमा लेखिएको कुरा हैन । लागेका कुरा हुन् । यसपटक भोट राम्रो मान्छेलाई । धेरै भए हाम्रो मान्छे अबको पालो राम्रो मान्छे ।

Advertise Expired !

One thought on “यसपटक भोट केमा ?

  1. निक्कै महत्वपुर्ण लेख । बिकास गर्न बिबेक र ज्ञानको पनि अबश्यक पर्छ । धरहरा र फरकिलो रोड अनि कनक्रिडको घरलाई मात्र बिकास देख्ने जनप्रतिनिधिहरुले आर्थिक संकट त निम्ताउदै छ नै साथमा परनिर्भर पनि बनाउदै छ । स्थानिय संस्कृती र ऐतिहासिक स्थानहरुको पनि लोप गराउदैछ भने जताततै डोजर कुदाउदा पहिरोको जोखिम पनि निम्ताइरहेको छ । इतिहास बोकेर उभिएको बिसाल रुखहरु ढाल्नु केहि बेर लाग्दैन अहिलेको नेताहरुलाई तर त्यस्तै बिशाल रुखहरुको संरक्षण गरेर पर्यटनलाई लोभ्याइरहेको फ्रन्स र क्यानडाबाट सिक्ने फुर्सद पनि छैन उनीहरु सित ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु