adv

प्रदेशको नाम कोशी सतप्रतिशतले खारेज गर !

 

प्रेम एक्तेन

१० कार्तिक, दमक ।

मैले २०८० असोज २ गते बिराटनगरमा भनेको थिए । सर्वदलीय सरकार बनाउनुहोस् । प्रदेशको नाम कोशी १०० प्रतिशतले खारेज गर्नुहोस् । आन्दोलनले सशक्त रूपमा बुलन्द गरेको स्थापित एजेण्डालाई पुनः नामकरणको सहर्ष स्वीकार गर्नुहोस् । र, यो भूमिको सभ्यता एवम् ऐतिहासिक पहिचानको आधारमा पुनः नामकरणको प्रस्ताव प्रदेश सभामा पेश गर्नुहोस् ।

यो भूमिको लिम्बुवान ऐतिहासिक पहिचान र किरात सभ्यता प्रदेश नं. १ का कुनै पनि बासिन्दाहरुले नकार्नै नसक्ने एजेण्डा बनिसकेको छ । यो एजेण्डा कोशी नाम खारेजीको आन्दोलनको ८ महिने दौरानमा फक्ताङलुङ हिमाल जस्तै अटल बनेर उभिसकोको छ । साथसाथै यहाँ यही भूमिमा स्थापित शेर्पालुङ, कोचिलालगायतका थुप्रै पहिचानहरुका मुद्दाहरु उत्तिकै सशक्त उठेका छन् ।

कुनै न कुनै प्रकृया र स्वरूपले यी पहिचानहरुलाई सम्बोधन गर्नै पर्दछ । यिनीहरुलाई सम्बोधन गर्ने गरी प्रदेशको पुनः नामकरण र स्वायत्तताका अधिकारहरु सुनिश्चित गर्ने बाटोमा लाग्नु नै पर्दछ । अहिले आन्दोलनलाई सही सम्बोधन गर्ने एकमात्र निर्विकल्प बाटो यो हो । यसको लागि तपाई सांसदहरुले जप्नु हुने मन्त्र जस्तै संवैधानिक र संसदीय मान्यतालाई पालना गर्दै प्रदेशसभा एवम् प्रदेश सरकार अगाडि बढ्नुहोस् । अब तपाई प्रदेश सांसदज्यूहरु र प्रदेश सरकार कसैले पनि पुनः यो वा त्यो बहाना बनाएर उम्कने बाटो बाँकी छैन । सबै बहानाहरु अब सिद्धिएका छन् । केदार कार्कीलाई ८६ मतका साथ मुख्यमन्त्री बनाउनु भएको दिनबाट ।

 

जनतालाई तपाईहरु आफैले प्रमाणित गरेर देखाईसक्नु भएको छ । हामी दुई तिहाई मतका साथ प्रदेश सांसदहरु एकै पक्षमा उभिएका छौं भनेर । त्यो भन्दा पनि बढी त सत्ता पक्षमा उभिएका छौं भनेर । त्यसैले अव फलानो वा चिलानो पार्टीले गर्दा दुई तिहाईको मत पुर्याएर प्रदेश नाम खारेजी र पुनः नामकरणको संवैधानिक वा कानुनी अडचन खुलेको छैन भनेर प्रदेश १ का जनतालाई अझै द्वन्द्वको भूमरीमा फसाउने बेइमानीपूर्ण कार्य गर्ने नैतिकता तपाई प्रदेश सांसदहरुसँग छैन ।

तसर्थ, यी सबै कामका लागि संवैधानिक र कानुनी प्रकृया अनुसार प्रदेशसभा बोलाउनुहोस् । कोशी नाम खारेजीको प्रस्ताव सके सर्वसम्मत नसके ८६ जनाको मतले पारित गर्नुहोस् । सोही प्रकृयामा, ऐतिहासिक पहिचानको आधारमा नयाँ नाम पेश गरेर सर्बसम्मत पारित गर्नुहोस् । यो ऐतिहासिक कार्यको उत्तम संयोग जुरेको छ । किनकि, हिजो कोशी नामको विपक्षमा उभिएर किरात–लिम्बुवान–सगरमाथा प्रस्ताव पेश गर्नुहुने र कोशीको विपक्षमा मतदान गर्ने र मतदान गर्ने बेलामा कारणवस् हराउने सांसदहरु सबै एउटै सत्ताको पक्षमा एकै ठाउँ हुनुभएको छ । यो मिलन प्राविधिक रूपमा समेत एक उपयुक्त संयोग बनेको छ । अब प्रदेश संसद्ले आन्दोलनलाई एकजुट भएर सम्बोधन गर्नुहोस् । फेरी कुमतीको बाटोतिर लागेर ‘सबै मिल्यौँ, अब आन्दोलनलाई सबै मिलेर दबाउँ’ भन्ने दुस्साहस नगर्नुहोस् ।

हिजो २०७९ फागुन १७ गते किरात–लिम्बुवान–सगरमाथा प्रस्ताव पेश गर्नुहुने सांसदहरुको पनि भोट मुख्यमन्त्री हुनलाई लिईसक्नु भएपछि वहाँहरुको यो नामाकरणको प्रस्ताव पनि ‘बा’ (केपी शर्मा ओली)को कोशीका मतदाता तपाईं सांसदज्यूहरुले स्वीकार्नुभएकै ठहर्छ । वहाँहरुले कोशी नाम खारेजी र नयाँ नामकरण प्रकृयामा साथ दिनु नै हुनेछ । अझ, हिजो कोशीमा मत हाल्ने राप्रपाका सांसदज्यूहरुलाई पनि आह्वान गर्नुहोस् । र, सय प्रतिशतले नयाँ सर्वस्वीकार्य नाम राख्नुहोस् । अनि हाम्रो प्रदेश सुन्दर अनि शान्त बनाऔँ, समृद्ध बनाऔँ । सबै प्रदेशवासीको हाम्रो प्रदेश बनाऔँ । सबैको साझा प्रदेश बनाऔँ । वर्तमान राजनीतिक निकासको सर्वोत्कृष्ट उपाय यहि हो ।

त्यसपछि जनताले बन्द गरेका तपाईं सांसदहरुका बाटाहरु खुल्ने छन् । तपाईहरुको गद्दारीका कारण जनताले रातो अविरको रंग बदलेर, बनाएर राखेको कालो अविर पुनः रातो रंगमा बदलिने छन् । बासनादार फूलका मालाहरुको रंग र बासना बदलेर काला–ेकालो रबरका मालाहरु पुनः जनताले सयपत्रीको मालामा बदल्ने छन् । तपाईंहरुको स्वागतको लागि ।

सबै भन्दा महत्वपूर्ण त कसैले जानेर र कसैले नजानेर इतिहासमा कहिले नमेटिने गरि लेखिने अनि नसच्चिने गरी निर्माण गर्नुभएको वंश गद्दारीको उपमा र पदवी तपाईहरुबाट नै सच्चिनेछ । आफैंबाट बिग्रिएको अपजसे कामको आफैंबाट सच्याउने सुनौले अवसर, संवैधानिक, कानुनी र प्राविधिक रूपमा ठीक बेला अहिले जुरेको छ । र, इतिहासको पानामा एउटा ऐतिहासिक पहिचानको आधारमा जनताको चाहनालाई सच्चा अर्थमा सम्मान गर्ने नेपालकै मधेश प्रदेश पछिको ऐतिहासिक प्रदेश निर्माण गर्ने सांसदको रूपमा तपाईहरुको नाम इतिहासमा सुनौलो अक्षरले हरेक इतिहासकारहरुले कोर्नेछन् । नत्र त वंश गद्दारी, जनगद्दारीको विल्ला त हटाउन नसकिने नै भयो ।

प्रदेश नं. १ का न्यायप्रेमी जनताले तपाई सांसदज्यूहरुलाई यो ऐतिहासिक कामको लागि कति दिन पर्खनु पर्ने हो ? महिनौँ दिन ? वर्षौं दिन ? त्यति लामो त पक्कै पनि धैर्य गर्न सकिँदैन । आज यो विचार मैले व्यक्त गर्दैगर्दा १३ दिन बढी भयो तपाई ८६ सांसदज्यूहरुको मतसहित दुई तिहाई भन्दा बढीको बहुमतको सरकारको नेतृत्व गर्दै केदार कार्कीज्यूले सपथ खानुभएको । तर कोशी नाम खारेजी र पुनः नामकरणको विषयमा सोच्न भ्याउनु भएको छ कि छैन ? मुख्यमन्त्रीज्यूले, मन्त्रिज्यूहरुले र बाँकी ८६ भित्रका सांसदज्यूहरुले ?

यदि छैन भने दशैँ त सकियो । अब तिहारले गर्दा भन्न पउनुहुन्छ होला । त्यसपछि अझै बहाना छठसम्म गर्न पाउनु होला । खासमा ती कुनै विषयमा निहुँ गर्न चाहिँ नपाईने हो ।  तैपनि चाडबाड भन्ने विषयले जनताले तपाईहरुलाई छुट नै देलान् । तर त्यसपछि त छुट कुनै पनि हालतमा हुने छैन । आन्दोलनकारीको तर्फबाट र शब्दमा यसलाई अल्टिमेटम भन्नु पर्ने हुन्छ । यहि अल्टिमेटमको जनाउ घण्टी बजाउँदै दोहोर्याउँछु  –

NO KOSHI

वीर सहिद लाजेहाङ – अमर रहुन् ।

(प्रेम एक्तेन किरात याक्थुङ चुम्लुङ संघीय कार्य समितिका अध्यक्ष एवम् प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका नेता हुन् ।)

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु