१० मंसिर, दमक ।

नेपालमा प्रयोग भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक गरी मिश्रित निर्वाचन प्रणाली अपनाएको त विदितै छ । जसअनुसार १६५ निर्वाचन क्षेत्रलाई आधार मानेर प्रत्यक्ष निर्वाचनमार्फत सांसद चयन गरिन्छ भने १६५ निर्वाचन क्षेत्रलाई नै एउटा निर्वाचन क्षेत्र मानेर विभिन्न क्लस्टरका आधारमा ११० जना सांसदका लागि बन्द सूचीमा विभिन्न दलले उम्मेद्वार चयन गरेका हुन्छन् ।
त्यस्तै प्रदेश सभातर्फ विभिन्न ७ प्रदेशमा गरी ३३० जना सांसद् प्रत्यक्ष निर्वाचित हुनुपर्दछ भने २२० जना सांसद् समानुपातिकतर्फको बन्द सूचीबाट दलले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुने प्रावधान छ ।
तर, यसरी प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिकतर्फबाट सांसद चुनिएर जाने विधि भने प्रत्यक्ष भन्दा फरक छ ।
संविधानमै उल्लेखित प्रावधान अनुसार समावेशी प्रतिनिधित्वको सिद्धान्त अनुसार प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेद्वार सूचीमा खस–आर्य ३१.२ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, मधेसी १५.३ प्रतिशत, दलित १३.८ प्रतिशत, थारु ६.६ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत, पिछडिएको क्षेत्रबाट ४ प्रतिशत उम्मेद्वार चयन गर्नुपर्दछ । जसमा कम्तीमा ५० प्रतिशत महिला अनिवार्य सहभागी गराउनुपर्ने व्यवस्था छ ।
त्यस्तै प्रदेश सभाहरुको हकमा भने सम्बन्धित प्रदेशको जातीय जनसंख्याको क्लष्टरमा हुन आउने प्रतिशतका आधारमा यसरी समानुपातिक उम्मेद्वारका लागि क्लष्टरको प्रतिशत निर्धारण गरिएको हुन्छ ।
समनुपातिक सिटका लागि राजनीतकि दलहरुले प्राप्त गर्न सक्ने सांसद् संख्या पत्ता लगाउने विधि :
१) प्रतिनिधि सभातर्फ देशभरि खसेको समानुपातिक तर्फको मतको कुल संख्याबाट ३ प्रतिशत मत कति हुन्छ पत्ता लगाउने । (प्रदेशहरुको हकमा कुल संख्याको १.५ प्रतिशत)
२) ३ प्रतिशत (प्रदेशको हकमा १.५ प्रतिशत) को थ्रेस होल्ड कटाउने र नकटाउने दलको पहिचान गर्ने ।
३) समानुपातिक सिटका लागि ३ प्रतिशत (प्रदेशको हकमा १.५ प्रतिशत) मत कटाउने दलहरूलाई लिने र ३ प्रतिशत (प्रदेशको हकमा १.५ प्रतिशत) मत कटाउने दलहरूले पाएको मतलाई जोडेर कुल योगफल निकाल्ने ।
४) सो कुल योगफललाई समानुपातिकको कुल सिट संख्या ११० (प्रदेश सभाको हकमा प्रत्यक्ष सिट संख्याका आधारमा हुन आउने ४० प्रतिशत) ले भाग गर्ने ।
५) ११० (प्रदेशको हकमा प्रत्यक्ष सिट संख्याका आधारमा हुन आउने ४० प्रतिशत अंक) ले भाग गर्दा जति अंक आउँछ त्यो अङ्कले फेरि ३ प्रतिशत (प्रदेशको हकमा १.५ प्रतिशत) मत कटाएका राजनीतिक दलले पाएको समानुपातिक तर्फको कुल मतलाई भाग गर्ने ।
६) सो भाग गर्दा जुन अंक आउँछ त्यति हाराहारीको सिट पाउने अवस्था हुन्छ ।

