११ मंसिर, दमक ।

प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले किरात धर्मका संरक्षक गुरू लाफयङ देउबहादुर तुम्बापोले देखाएको बाटोलाई अनुशरण गरे मात्रै समाजमा एकता र शान्ति कायम हुने बताएका छन् ।
शनिबार चुलाचुली १ को कमलमा आयोजित किरात धर्म दर्शनका संरक्षक गुरू लाफयङ तुम्बापोको ७९औं जन्मजयन्ती सारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् ।
गुरू तुम्बापोको पूर्णकदको शालिक समेत अनावरण गरिएको सो कार्यक्रममा बोल्दै प्रदेश प्रमुख खापुङले भने –‘नेपालको संविधानले सबै भाषा, धर्म, संस्कृतिको समान विकास र संरक्षण गर्ने कुरा गरेको छ । यसर्थ यहाँ जसरी तपाईहरुले काम गरिरहनु भएको छ यो संविधान सम्मत छ । यस क्षेत्रको विकासका लागि नीतिगत रूपमा मेरो साथ र सहयोग रहन्छ ।’
फल्गुनन्द नोमाङगेना सेवा संघ, इलामले किरात धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्बापोको ७९ औं जन्मजयन्ती तथा फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको सातौ वार्षिकोत्सव कार्यक्रमका बीच खापुङले सबै जाति, भाषा, लिपि र संस्कृतिको विकासले मात्रै समाज र राष्ट्रलाई समृद्धि र विकासतर्फ उन्मुख गराउने र आपसी एकता र शान्ति प्रवद्र्धनमा मद्दत पुग्ने सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले गाउँ सरकारको तर्फबाट सबै भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि नीति बनाएर कार्य गरिने प्रतिबद्धता व्यक्त गरे ।
चुलाचुली १ का वडा अध्यक्ष पूर्ण लावतीले फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको शैक्षिक उन्नयनका लागि गाउँपालिका, प्रदेश सरकार र संघ सरकारले पनि ध्यान दिनुपर्ने भन्दै लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा किन मान्यता नदिइएको ? भनेर प्रश्न गरेका थिए ।
किरात सत्यहाङ्मा सेवा संघका अध्यक्ष ज्ञानोदय लावतीले गुरू लाफयङ तुम्बापोको जीवनी र उनले राणा शासन र पञ्चायती कालमा धर्म, संस्कार, लिपिको संरक्षणका क्रममा भोेगेका कठिनाईहरुका बारेमा चर्चा गरेका थिए ।
फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाका संस्थापक अध्यक्षसमेत रहेका डम्बरकुमार तुम्बापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापो, युएन नवोदय कलेज धरानका एसोसिएट प्रोफेसर ज्ञानेश्वर झा लगायतको उपस्थिति थियो ।
सो अवसरमा प्रदेश प्रमुख खापुङले चुलाचुलीबाट एसईईमा परीक्षामा प्रथम हुने मौलिका जबेगु र चुलाचुलीबाट सक्रिय पत्रकारिता गरिरहेका इलाम टाइम्स डटकमका जीतमान राई सविनलाई फल्गुनन्द लाफयङ सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरेका थिए ।
त्यस्तै संस्थागत सहयोग गर्ने विभिन्न सहयोगी महानुभावहरुलाई समेत कार्यक्रमका बीच सम्मान गरिएको थियो ।
संगीता लावतीको सञ्चालन रहेको कार्यक्रममा प्रदेशस्तरीय एसईई डान्सिङ स्टार नुमा लिम्बूको नृत्य तथा गायिका दीपा लामाको गीत प्रस्तुत भएको थियो ।

