भूमिका लिम्बू फियाक

बुद्द विहारमा निर्मित भवन र बुद्दको प्रतिमा राख्नका लागि निर्मित संरचना ।
१.पृष्ठभूमि :
नेपालको सुदूरपूर्वको जिल्ला इलामको दक्षिण–पश्चिमी भागमा अवस्थित माङसेबुङ गाउँपालिका इलाम जिल्लाका साबिक बाँझो, इभाङ र गजुरमुखी गाउँ विकास क्षेत्र समेटेर २०७३ फागुन २७ गते गठन भएको हो पालिका हो । ६ वटा वडा रहेको यो गाउँपालिका भाषिक, सांस्कृतिक, प्राकृतिक र धार्मिक रुपमा धनी हुनुका साथै प्राकृतिक रुपमा समेत सुन्दर रहेको छ । लिम्बू जातिको बाहुल्यता (४२.८३ प्रतिशत) रहेको यस पालिकामा अर्को ठूलो जनसंख्या भएको जाति राई रहेको छ । यस पालिकामा बसोबास गर्ने मध्ये (३३.६ प्रतिशत) राई जनसंख्या छ । त्यस्तै, मगर, तामाङ, सुनुवार (मुखिया), गुरुङ, याक्खा (देवान), भूजेल, कामी, दमाई, बाहुन, क्षेत्रीलगायतको बसोबास रहेको माङसेबुङ गाउँपालिका एक मिश्रित र समावेशी बसोबास रहेको पालिका हो ।
माङसेबुङलई झापासँग जोड्न निर्माणाधीन दमक–रवि–चिसोपानी (फाल्गुनन्द मार्ग), बिर्तामोड–माई हुँदै आत्मानन्द मार्ग, इलाम सदरमुकाम हुँदै मंगलबारे–गजुरमुखी–इभाङ–चतुरे सडक, पाँचथर र धनकुटासँग जोड्ने राँके–रवि–भेडेटार सडक, पालिकाभित्रकै चतुरे–फुलुङ्गी सडक आदि सडक सञ्जाल यस पालिकामा निर्माणाधीन छन् ।अलैँची, अदुवा, अम्लिसो, अकबरे, किबी, दाल, केरा, कफी खेती यहाँको मुख्य नगदे बाली हो भने पशुपालन, दुग्ध उत्पादन, बाँस रोपण र गोलीया व्यापर स्थानीय अर्ततन्त्रको मेरुदण्डका रुपमा रहेको छ ।
यस गाउँपालिकामा पूर्वकै प्रसिद्ध धाम गजुरमुखी रहेको छ भने माङमाङलुङ, नाक्वालुङ, खरानेथुम्का, तीनथुम्की डाँडा, ढेंगुरे डाँडा, अन्धाराजा अन्धारानी, तीर्थस्थल फुलुङ्गी, चमेरे गुफा (देउमाईको किनारा, इभाङ) पाङबुहाङ गुफा (कुसुण्डे), छाँगे झरना (इभाङ), घोर्लेभीर, गिद्धेभिर जस्ता पर्यटकीय स्थलहरु समेत रहेका छन् । यसै गाउँपालिकामा किरात धर्मावलम्बीहरु लगायत अन्य विश्व मानव जगतको आस्थाको केन्द्रको रूपमा विकसित माङसेबुङ (लारूम्बा), १६ औं राष्ट्रिय विभूति तथा महागुरू फाल्गुनन्द र वर्तमान विश्व किरात धर्मगुरू सेइङ लिङदेन आत्मानन्दको जन्मस्थल चुक्चिनम्बा (अगौटे), विराट ज्योति माङहिम, सर्व शान्ति बुद्धबिहार जस्ता धार्मिक पर्यटनको सम्भावना पनि प्रशस्त रहको छ ।

बुद्ध बिहारको अवलोकन तथा अनुसन्धानमा पत्रकारहरूको टिम ।
२. सर्व शान्ति बुद्ध बिहारको पृष्ठभूमि तथा महत्त्व :
फाकफोकथुम ५ र माङसेबुङ १ को सिमानामा अवस्थित सर्व शान्ति बुद्ध बिहार फाकफोकथुमको नवमी बजार नजिकै रहेको धनबिरे डाँडामा अवस्थित छ । यो बुद्ध बिहार धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको स्थान मध्ये एक हो । माङसेबुङ १ मा नै अवस्थित प्रसिद्ध धार्मिक धाम गजुरमुखी धामबाट करिब १० किलोमिटर उत्तर पहाडतिर पर्दछ । यसै डाँडामा निर्माणाधीन रहेको सर्व शान्ति बुद्ध विहारमा २० फिट अग्लो वरदान मुद्रामा उभिएको बुद्धको मूर्ति निर्माण गरी पूर्वी क्षेत्रलाई धार्मिक, साँस्कृतिक, पर्यटकीय तथा आध्यात्मिक शान्तिको रूपमा विकास गर्न सके टेवा पुग्नेछ । बुद्धविहारसम्म पुग्न करिब ६० मिटरको पक्की सिँडी बनेको छ । जुन करिब २० लाखको लागतमा बनेको हो । करिब एक करोडको लगानीमा ३ कोठे भवन पनि बनेको छ । त्यसैगरी भगवान बुद्धको प्रतिमा राख्नको लागि २० फिटको गोलाई र १० फिटको उचाईको संरचना पनि बनिसकेको छ ।
३. बुद्ध विहार बारे पूर्वचर्चा :
‘गौतम बुद्धको समयमा भिक्षु भिक्षुणीहरु विहारमै बस्ने गर्थे । त्यसैले बुद्ध धर्मको प्रचार प्रसारमा ठूलो महत्त्व रहेको’ भनी बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित युट्युव च्यानलमा भनिएको छ । सुरुमा वर्षायामको समयमा भिक्षु–भिक्षुणीहरु बस्नको लागि विहार बनाउन सुरु भएको र कालान्तरमा यिनै विहार बुद्ध धर्मको शिक्षालयका रुपमा विकसित भएको उल्लेख छ ।\
सर्व शान्ति बुद्ध बिहारको निर्माण कार्य प्रारम्भिक चरणमै रहेको हुनाले यस बारे खासै पूर्व चर्चा गरेका पाइँदैन । केही पालीकास्तरीय लिखतहरुमा यस बारे उल्लेख छ । माङसेबुङ दर्पण (२०८१, पृ. १५) मा सर्वशान्ति बुद्ध विहार बारे तस्वीरसहित संक्षिप्त जानकारी समावेश छ । पालिकाको वडा सिलिङमार्फत पहिलो पटक आ. व. २०७६÷०७७ मा यस बुद्धविहार र लामिडाँडा शिवालय मन्दिर निर्माणका लागि भनेर चार लाख ८५ हजार रकम विनियोजन भएको उल्लेख छ ।

बुद्विविहार परिसरमा बुद्दको प्रतिमा राख्न निर्मित संरचना ।
४. वर्तमान अवस्था :
सर्वशान्ति बुद्दबिहार २०७३ सालमा भिक्षु गुरू (अर्जुन राना मगर) को अध्यक्षकतामा ११ सदस्यीय कार्य समिति गठन गरि २०७४ साल जेठ ७ गतेदेखि निर्माण कार्य सुरू गरेको हो । अहिलेसम्म बुद्धविहारको निर्माण कार्यमा दुई करोड भन्दा धेरै लगानी भैसकेको छ । आफ्नै पहलमा देश तथा बिदेशबाट १० लाख, फाकफोकथुम गाँउपालिकाबाट एक लाख र बाँकी सहयोगी दाताहरूबाट जुटाइएको रकम र आफ्नो निजी योगदान रहेको अध्यक्ष अर्जुन राना बताउनुहुन्छ । (कुराकानीमा आधारित)
माङसेबुङ गाउँपालिकामा विभिन्न जातजातिका बासिन्दाहरुको बसोबास रहेको छ । यस पालिकामा यो पहिलो बुद्धबिहार हुने भएकाले यसले धार्मिक विविधता र मानवीय सम्बन्धहरूलाई अझ दरिलो बनाउने विश्वास स्थानीय प्रविन सुनुवारको छ । ‘यस क्षेत्रकै पहिलो विहारको रूपमा कहलिने भएकाले यस ठाँऊको प्रचार हुने र आन्तरिक र बाह्य पर्यटकको ध्यान खिच्न सक्छ भन्ने लाग्छ’, सुनुवारको भनाइ छ । (कुराकानीमा आधारित )
५. सर्वशान्ति बुद्धविहारको सम्भावना :
माङसेबुङ १ को धार्मिक पर्यटकीय कोरिडोर बनाउन गजुरमुखी धाम, नाक्वालुङ हुँदै सर्वशान्ति बुद्धविहारपछि साहसिक पर्यटकको लागि घोर्लेभिर जान सकिने माङसेबुङ गाउँपालिका वडा नं १ का वडाध्यक्ष भूपाल योङहाङ बताउनुहुन्छ । स्थानीय पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनले गाउँको अर्थतन्त्र सुधारमा सहयोग पुग्ने उहाँ बताउनु हुन्छ । साथै, यो विहार माङसेबुङ गाँउपालिकाकै प्रथम बुद्धविहारको रुपमा रहेको र इलाम जिल्लाको पश्चिमी भेगको बौद्ध धर्मावलम्बीहरुलाई गर्व गर्न लायक तीर्थस्थल बन्ने वडा अध्यक्ष योङहाङको बुझाइ छ । (कुराकानीमा आधारित)

बुद्दविहारमा पैदल पुग्नका लागि निर्मित पक्की सिंडी ।
६. भावी योजना :
यस बुद्धबिहारमा नेपालकै सबैभन्दा अग्लो तामा पित्तलबाट बनेको भगवान बुद्दको २० फिट अग्लो प्रतिमा निर्माणाधीन अवस्थामा छ । त्यसको कुल लागत १५ करोड रहेको अध्यक्ष रानाको भनाई छ । भविष्यमा दुई वटा गेटहरू र आकर्षक बगैँचाहरूसहितको सर्वशान्ति बुद्धविहारको समग्र विकासका लागी भर्खरै माङसेबुङ गाँउपालिकाको तर्फबाट विस्तृत् लागत अनुमान गरिएको साथै प्रदेश सरकार र सङ्घीय सरकारसँग बजेट मागको लागि तयारी भइरहेको माङसेबुङ गाँऊपालिका वडा नम्बर १ का वडाध्यक्ष भूपाल योङहाङले बताउनुभयो । (कुराकानीमा आधारित)
माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले पालिकाभित्रका सम्भावना बोकेका धार्मिक तथा पर्यटकीयस्थलहरूको विकास, संरक्षण तथा प्रचार–प्रसार गर्न आफू र पालिका टीम कटिबद्ध रहेको बताउनुभयो । सर्वशान्ति बुद्धविहार जस्ता सम्भावना बोकेका धार्मिक पर्यटकीय क्षेत्रहरूको विकास, संरक्षण तथा प्रचार–प्रसार गर्न सके सिङ्गो पालिकाको विकासमा टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ । (कुराकानीमा आधारित)
७. निष्कर्ष :
माङसेबुङ गाउँपालिका एक धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको पालिका हो । यस पालिकामा अवस्थित सर्वशान्ति बुद्धविहारलाई धार्मिक पर्यटकीस्थलका रूपमा स्थापित गर्न यहाँसम्म आउने पक्की सडक र आवश्यक पूर्वाधार निर्माण गर्न सके यस क्षेत्रकै महत्त्वपूर्ण धार्मिक र नमूना बुद्धविहारको रूपमा स्थापित हुने सम्भावना देखिन्छ । नयाँ पुस्तालाई धार्मिक क्रियाकलापहरूमा संलग्न गरी नैतिक शिक्षाको लागि उत्प्रेरित गर्ने आदर्श शिक्षालय बन्न सक्नेछ सर्वशान्ति बुद्धविहार । साथै यस बुद्धविहारको स्थापनाले सम्पूर्ण मानवमा शान्तिको शिक्षा छर्दै स्थानीय बासिन्दा र राज्यकै निम्ति आयश्रोतको दरीलो माध्यम बन्न सक्छ । यस थलोले बुद्ध दर्शनको ज्ञान र शिक्षा बाँढ्न मद्दत पुग्ने देखिन्छ ।
सन्दर्भ सामग्री
एनबी टिभी (सन् २०२२), बुद्ध बिहार किन बनाउन थालियो ? बुद्धले किन अनुमती दिनु भयो ? (१४ अगष्ट) https://www.youtube.com/watch?v=aU6HN6Rp_Rk
माङसेबुङ दर्पण (२०८१), ज्ञानु केदेम र अरु … (सं.) । माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, इभाङ (माङसेबुङ पब्लिकेशन एण्ड मिडिया प्रा. लि. र किरात इङभो पान्जुम्भो)
कुराकानी
१. हेमन्त राई –अध्यक्ष, माङसेबुङ गाउँपालिका ।(२०८२/०१/३०)
२. भूपाल योङहाङ –वडा अध्यक्ष, माङसेबुङ १ ।(२०८२/०२/१३)
३. अर्जुन राना मगर – भिक्षु गुरू, माङसेबुङ १ ।(२०८२/०२/१३)
४. प्रविन सुनुवार –स्थानीय ।(२०८२/०२/१३)

