भुमिका लिम्बू फियाक

१. पृष्ठभूमि :
नेपालको सुदुरपूर्वी जिल्ला हो इलाम । इलामलाई सूर्योदयको जिल्ला पनि भनिन्छ । साथै, धार्मिक, साँस्कृतिक, प्राकृतिक सम्पदाका कारण पनि इलाम प्रख्यात छ । यो जिल्ला समुद्री सतहबाट १४० मिटर उचाईको तराईदेखि पहाडी भूभागको ३६३६ मिटरको उचाईसम्म फैलिएको छ । त्यसैले यहाँको मौसम पनि उचाईका आधारमा फरक फरक किसिमको रहेको छ । त्यसैले इलाम जैविक विविधतामा पनि धेरै धनी छ । नेपालमा पहिलो पटक व्यवसायिक चिया खेतीको सुरुवात भएको इलामका लागि चियाबारीको हरियाली सुन्दरतामा मनमोहकता थप्ने अर्को विशेषता बनेको छ । माई पोखरी सिमसार, सन्दकपुर, श्रीअन्तु, कन्याम, हर्कटे, कुटीडाँडा, टोड्के झराना, माङमालुङ आदि प्राकृतिक देनले प्रख्यात इलाम धार्मिकस्थलहरु माङसेबुङ (लारुम्बा), गजुरमुखीधाम, माईस्थान, सिद्धिथुम्का, माईबेनी आदि पर्दछन् । इलाम जिल्लाका १० वटा पालिका मध्येको पश्चिमी पालिका हो माङसेबुङ गाउँपालिका ।
यो गाउँपालिका जातीय, धार्मिक, साँस्कृतिक विविधता भएको गाउँपालिका हो । १६ औँ राष्ट्रिय विभूति तथा किरात धर्म दर्शनका पद प्रदर्शक, महान समाजसुधारक महागुरु फाल्गुनन्द, वर्तमान किरात धर्मका गुरु आत्मनन्द लिङ्देन, गुरु ज्योतिनन्द, गुरु सचितानन्द (विद्यापति) आदिको जन्मस्थल र तपोभूमि समेत यसै पालिकाका विभिन्न स्थानमा पर्दछन् । त्यसैले याक्थुङ लिम्बू भाषामा देवताले रुचाएको स्थान भन्ने अर्थमा यस पालिकाको नाम माङसेबुङ रहन गएको हो । माङसेबुङ गाउँपालिका धार्मिक, साँस्कृतिक र जैविक विविधताका लागि धनी मानिन्छ । यहाँका थुप्रै धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रमध्येको एक हो तीनथुम्की डाँडा ।

२.तीन थुम्की डाँडाको परिचय :
तीन थुम्की डाँडा इलाम जिल्लाको माङसेबुङ ६ मा अवस्थित छ । समुन्द्र सतहबाट करिब २ हजार १ सय मिटरको उचाईमा रहेको तीन थुम्की डाँडा पर्यटकीय गन्तव्य हो । दमक–रवि–चिसापानी (फाल्गुनन्द मार्ग) र अर्को भेडेटार–राँके–रवि सडक हुँदै पुगिने माङसेबुङ ६ को चिसोपानी पञ्चमी बजारबाट ४५ मिनेट पैदल उकालो हिँडेपछि तीन थुम्की डाँडा पुग्न सकिन्छ । चिसोपानी माविको छेवैबाट उकालो चढ्नको लागि पक्की सिँडी निर्माण भएकोले यहाँ आउने पर्यटकलाई उकालो चढ्न सहज भएको छ । यो डाँडाको टुप्पोबाट हेर्दा तीनवटा थुम्कीहरू देख्न सकिन्छ । त्यही तीनवटा थुम्कीहरू देखिने भएकाले यस डाँडालाई तीनथुम्की डाँडा नामाकरण गरिएको जानकारहरू बताउँछन् । हरियाली वनपाखा, स्वच्छ , शितल र शान्त वातावरण यहाँको मुख्य आकर्षण हो । जैविक, प्राकृतिक स्रोत र सम्पदाले भरिपूर्ण छ तीनथुम्की डाँडा ।
३. तीन थुम्की डाँडा बारे पूर्व चर्चा :
माङसेबुङ गाउँपालिकाले आफ्नो वेबसाइटमा तीन थुम्की डाँडा बारे उल्लेख गरेको छ । माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९ लगायतको नीति, बजेट तथा कार्यक्रम पुस्तिकाहरुमा तीन थुम्की डाँडालाई पर्यटकीयस्थल भनी उल्लेख गरिएको छ ।
माङसेबुङ गाउँपालिकाले प्रकाशन गरेको माङसेबुङ बुलेटिन, अङ्क १ (चैत–बैशाख २०७८/०७९) को आवरण लेखमा ‘माङमालुङ र तनिथुम्कीबाट देखिने सूर्योदय, सूर्यास्त, पहाडी भूभाग, हरियाली डाँडापाखा, तराईका समथर फाँट आदिले पर्यटकको मन लोभ्याउने …’(पृ. ५) उल्लेख छ ।
त्यस्तै, माङसेबुङ गाउँपालिकाबाट प्रकाशित ‘माङसेबुङ दर्पण’ (२०८१) मा तीनथुम्की डाँडा बारे तस्वीरसहित छोटो जानकारी समावेश छ । उजित राईले आफ्नो संस्मरण कृति ‘म उभिएको पहाड’मा ‘तीनथुम्कीको रङ्गीन छेपारो’ शीर्षकको लेखमार्फत यस ठाउँको बारेमा विस्तृत चर्चा गर्नुभएको छ ।

३.१ तीन थुम्की डाँडाछेपारोको कथा :
यहाँ पाइने विभिन्न रङका छेपारो बारे उजित राईले आफ्नो संमरण कृतिमा सविस्तार चर्चा गर्नुभएको छ । ‘तीन थुम्कीको रङ्गीन छोपारो’ शीर्षकमा लेखिएको संस्मरणमा यहाँको एउटा थुम्कीमा रहेको सानो ढुङगाको ओढारमा विभिन्न रङका छेपारो बस्ने गरेको उल्लेख छ । सो लेखमा राईले उल्लेख गरे अनुसार ती छेपारोहरू हेरेर आउने कसैले चार वटा देखेको, कसैले पाँचवटा त कसैले जति हेर्दा पनि एउटै नदेखेको किस्साहरू सुनाउथे । ‘यसरी एक जमानामा छेपारोको खुब चर्चा हुने गर्दथ्यो । तीनथुम्कीमा छेपारो हेर्न जानेको लर्को लाग्थ्यो । रोचक कुरा त ती छेपाराहरू हेर्नसँगै जानेहरूले पालैपालो चेपभित्र हेर्दा एउटै संख्यामा छेपारो देख्दैन थिए । एउटै रङमा पनि देख्दैन थिए’, (राई, २०७७) । यहाँ आफूहरुले बाल्यकालमा त्यस्ता छेपारो देखेको कुरा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई बताउनु हुन्छ । (कुराकानीमा आधारित)
प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिएको तीन थुम्की डाँडामा बिगतमा १२ प्रजातिको छेपारोहरू पाउने गर्दथ्यो । अहिले ति विभिन्न प्रजातिका छेपारो बस्ने ढुङगाको चेप भत्काएपछि त्यहां छेपारोहरू छैनन् । उक्त डाँडा परिसरमा रहेको छोटी आहालमा कालो प्रजातिको मात्र छेपारो पाउने गरेको छ ।
४. तिनथुम्की डाँडाको महत्त्व :
तीन थुम्की डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्य देखिनुका साथै इलाम, धनकुटा, पाँचथरका पहाडी भू–भाग र तराई क्षेत्रको सुन्दर फाँटहरू देख्न सकिन्छ । तीन थुम्की डाँडामा भ्यूटावर निर्माण गर्नुपर्ने र त्यहाँसम्म पुग्नका लागि ढुङ्गाको सिँडी निर्माण गर्नुपर्ने परिकल्पना गरेका चिसोपानी पञ्चमी बजारका पुराना वासिन्दा जितमान राई भन्नु हुन्छ –‘आकास खुला हुँदाको अवस्थामा तीन थुम्की डाँडादेखि पूर्वका १६ जिल्ला देखिन्थ्यो । भोजपुरको टेम्के डाँडा पनि हामीले देखेका हौँ ।’ (कुराकानीमा आधारित) आफूले २०४९ सालतिर विदेश (बेलायतबाट फर्किएपछि तीन थुम्की डाँडामा भ्यूटावर निर्माणको परिकल्पना किशोर अवस्थाका स्थानीय हेमन्त राई (पालिका अध्यक्ष), प्रदिप साम्पाङ राई (६ नम्बर वडाका वडा अध्यक्ष), शरण राई (शिक्षक, हाल बेलायत) लागायतलाई सुनाएको ६९ वर्षीय राई बताउनु हुन्छ । हाल उहाँ झापाको दमक ८ का स्थायी वासिन्दा रहनुभएको छ । ‘भ्यू टावर बनेको फेसबुक र अरु सामाजिक सञ्जालहरुबाट हेर्छु । एक पटक घर (चिसोपानी पञ्चमी बजार) गएको बेला जाउँ कि पनि भनेँ । तर, स्वास्थ्यको कारणले जान सकिनँ’, राईले कुराकानीका क्रममा भन्नुभयो ।
तीनथुम्की डाँडाको तल्लो भागमा चिया बगान रहेको छ भने माथिल्लो लेक र सेपिलो भू भागमा गोब्रे सल्ला, खोटे सल्ला, उतिस, कट्टुस, केसरी, काफल, खराने, विलौने, चुथ्रो, झिङ्गुने, गुँरास जस्ता विभिन्न रूख विरूवाहरू रहेका छन् । साथै, यहाँ जैविक महत्त्वका विभिन्न जडीबुटीजन्य वनस्पतिहरु समेत पाइन्छन् । यहाँ चैत्र–वैशाखको बताससँगै सल्लाका बोटहरू सुसाउँदा मनै आनन्दित हुने गर्दछ । फागुन चैतमा ढकमक्क फुल्ने लालीगुराँस दृश्यले अझ आनन्द थपिदिन्छ ।

५. तीन थुम्की डाँडाको अनुभव :
पर्यटकीय संगसंगै जैविक विविधताले भरिपूर्ण वनसंगैको डाँडा हो तीन थुम्की डाँडा । जहाँ १२ प्रजातिको छेपारो पाइने गरिन्थ्यो हाल लोपोन्मुख रहेको छ । विभिन्न जडीबुटी र वनस्पति पाइने यो ठाउँ रमणीय र प्राकृतिक हिसावले एकदमै सुन्दर छ । वर्तमान अवस्था प्रदेश सरकार र स्थानीय तह माङसेबुङ गाउँपालिकाको ६५ लाखको लगानीमा तीन थुम्की डाँडामा भ्यु टावर पनि निर्माण गरिएको माङसेबुङ गाँऊपालिका वडा नं ६ का वडा अध्यक्ष प्रदिप राईले जानकारी दिनुभयो । जुन टावरबाट कुम्भकर्ण, कञ्चनजङघा हिमालहरूको दृश्य हेर्न पाईन्छ । साथै पहाडी भू–भाग र तराईका सुन्दर फाँटहरूको अवलोकन गर्न पाइन्छ । त्यस्तै डाँडा सम्म पैदल हिंड्नका लागि स्थानीय तह माङसेबुङ गाउँपालिकाको प्रदेश सरकारको २० लाखको आर्थिक सहयोगमा अढाई मिटर लामो पक्कि सिँडीहरू निर्माण गरिएको छ । तीन थुम्की डाँडामा प्रत्येक दिन यति नै भन्ने यकिन नभए पनि विशेष चाडपर्वका बेलामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको भिड लाग्न् गरेको वडा अध्यक्ष राई बताउनु हुन्छ । (कुराकानीमा आधारित)
छोटो दुरीको हाइकिङका लागि यो डाँडालाई उपयोग गर्ने हो भने यात्रुको स्वास्थ्यलाई पनि राम्रो हुने र स्थानीय पर्यटनलाई पनि टेवा पुग्ने तीन थुम्की डाँडाको भ्यु टावरबाट अग्रज पत्रकार कमन देवानले आफ्नो अनुभव साट्नुभयो । यहाँको पर्यावरणले जो कोहीलाई पनि मोहित पार्ने देवानको दावी छ । (कुराकानीमा आधारित)
तीन थुम्की डाँडाबाट झुल्केघामको न्यानो स्पर्षसँगै सुनाखरी, लालीगुँरास आदि विभिन्न प्रजातिका वनस्पति देख्न पाइन्छ । यहाँ छेपारो र नाग सर्प पनि पाइने कुरा चिसोपानी पञ्चमी बजारकी स्थानीय रमा लिम्बूको भनाइ छ । तीन थुम्की डाँडाबाट जीपलाईन सञ्चालन गर्न सक्दा सहासिक पर्यटनको सुरु हुने र यसले आन्तरिक र बार्ह्य पर्यटकलाई तान्न सक्ने उहाँ बताउनु हुन्छ । (कुराकानीमा आधारित)
६. भावी योजना :
माङसेबुङ गाउँपालिकाको आयोजनामा गाउँ पालिकाभित्रका धार्मिक तथा पर्यटकीयस्थलहरूको अवलोकन, अनुसन्धानका साथै पर्यटन प्रवद्र्धनका लागि सात दिने पदयात्राको समापन कार्यक्रममा सञ्चारकर्मीमाझ बोल्दै माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले पालिकाभित्रका सम्भावना बोकेका धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास, संरक्षण तथा प्रचार–प्रसार गर्न आफू र पालिका टीम कटिबद्ध रहेको बताउनुभयो । तीन थुम्की डाँडाजस्ता सम्भावना बोकेका क्षेत्रहरूको विकास, संरक्षण तथा प्रचार–प्रसार गर्न सके सिङ्गो पालिकाको विकासमा टेवा पुग्ने अध्यक्ष राईको भनाइ थियो । त्यसैगरी माङसेबुङ वडा नम्बर ६ का वडा अध्यक्ष प्रदीप साङपाङले अब तीन थुम्की डाँडामा पार्क बनाउने योजना रहेको बताउनुभयो । र त्यसको लागि १५० बोट लालीगुँरासको बिरूवा रोपिसकेको बताउनुभयो । चिसोपानी पञ्चमीदेखि नजिकैको हाइकिङको रूपमा विकास गर्न स्थानीय तह पनि लागिरहेको माङसेबुङ गाउँपालिकाका प्रवक्ता सुसन राईले वताउनुभयो । (कुराकानीमा आधारित)
७. निकर्ष :
माङसेबुङ गाउँपालिका एक धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको पालिका हो । त्यही पालिकामा अवस्थित तीन थुम्की डाँडालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्न यहाँसम्म आउने पक्की सडक, पार्किङ स्थल, बिजुली, स्वच्छ खानेपानी, सञ्चार र आवासका लागि भवन निर्माणका कार्य हुन आवश्यक छ । यसो गर्न सके यहाँ आउने पर्यटकको दैनिक संख्यामा बृद्धि हुने देखिन्छ । यहाँका स्थानीयवासी र राज्यका निकायले मिलेर होमस्टे सञ्चालनको अवधारणालाई विकास गर्न सके स्थानीय उत्पादन र संस्कृतिको प्रवद्र्धन र बजारीकरणले पनि प्रथमिकता पाउन सक्छ । जसले स्थानीय अर्थतन्त्रलाई दर्विलो बनाउन मद्दत पुग्ने देखिन्छ । छेपारोसँग पनि जोडिएको यस डाँडामा छेपारोसँग सम्बन्धित बिज्ञहरूबाट अध्ययन अनुसन्धान गराउन सके त्यसले पर्यावरणको संरक्षणसहित छेपारोको संरक्षणमा समेत टेवा पुग्न सक्छ । जसलाई आवश्यक प्रचा रप्रसार गर्न सक्दा पर्यटकलाई आकिर्षत गर्न अरु बल पुग्न सक्छ ।
सन्दर्भ सामग्री :
माङसेबुङ गाउँपालिकाको बेवसाइट ।
https;|/mansebungmun.gov.np/
माङसेबुङ दर्पण (२०८१), ज्ञानु केदेम र अरु … (सं.), माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, इभाङ ।
माङसेबुङ बुलेटिन, अङ्क १ (चैत बैशाख २०७८/०७९), कमन देवान (सं.) । माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, इभाङ ।
राई, उजित (२०७७), म उभिएको पहाड । दमक, समदर्शी सञ्चार । कुराकानी :
१. हेमन्त राई – अध्यक्ष, माङसेबुङ गाउँपालिका । (कुराकानी मिति २०८२।०१।३०)
२. प्रदिप साङपाङ – वडा अध्यक्ष, माङसेबुङ ६ । (कुराकानी मिति २०८२।०१।०८)
३. सुसन राई – प्रवक्ता, माङसेबुङ गाउँपालिका । (कुराकानी मिति २०८२।०१।२७)
४.जितमान राई – पुराना वासिन्दा र जानकार । (कुराकानी मिति २०८२।०२।१२)
५.रमा लिम्बू – स्थानीयवासी । (कुराकानी मिति २०८२। ०२। ०९)
६.कमन देवान – पत्रकार एवम् जानकार । (कुराकानी मिति २०८२।०१।२७)

