adv
adv

मेचीनगरमा ४ महिनामा ६४ जना नयाँ क्षयरोगी फेला

काँकरभिट्टा, १५ जेठ । झापाकोे मेचीनगरमा चारमहिनामा ६४ जना नयाँ क्षयरोगी फेला परेका छन् । यो सँगै मेचीनगरमा नयाँ र पुराना गरी वा नियमित क्षयरोेगको औषधि सेवन गर्नेको संख्या ९२ जना पुुगेको छ ।

यसअघि नगरमा २८ जनाले क्षयरोगको औषधि सेवन गरिरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । विहीबार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत मेचीनगर नगरपालिका अन्तर्गतका स्वास्थ्य केन्द्र्रहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुसँग सम्पन्न क्षयरोग कार्यक्रम सम्बन्धि दोस्रो चौमासिक गोष्ठीमा सम्बन्धित केन्द्रका क्षयरोग फोकल पर्सनहरुले प्रस्तुत गरेको तथ्याङ्कले नगरमा क्षयरोेगका नयाँ विरामी फेला परेको जनाएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको गोष्ठीमा शाखा संयोजक शशीकला राईले नगरभित्र धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रसहित आधा दर्जन स्वास्थ्य केन्द्र रहेको जानकारी दिईन् ।

गोष्ठीमा धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रका क्षयरोगका फोक पर्सन दीपेन्द्र चौधरी, काँकरभिट्टा स्वास्थ्य केन्द्रका लेखनाथ खतिवडा, धाइजन स्वास्थ्य केन्द्रका सविता सापकोटा, दुहागढी स्वास्थ्य केन्द्रका अमृत बहादुर कार्की, ज्यामिरगढी स्वास्थ्य केन्द्रका दीवाकर पौडेल र बाहुनडाँगी स्वास्थ्य केन्द्रका क्षयरोगका फोकल पर्सन दुर्गादेवि गौतमले आ आफ्नो केन्द्रको क्षयरोगको चौमासीक विवरण प्रस्तुत गरेका थिए ।

संयोजक राईका अनुसार एक व्यक्तिमा चौथो पटकसम्म क्षयरोग पोजेटिभ देखिएको छ । पहिलो पटकमै क्षयरोग पुष्टि भएपछि नियमित औषधि सेवन गरेको व्यक्तिलाई चौथो पटकसमम क्षयरोग देखिएको उनको भनाई छ । खकार, छाला तथा एक्स–रे बाट क्षयरोगका किटाणु पत्ता लाग्ने भएपनि मेचीनगरमा धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रबाहेक अन्य स्वास्थ्य केन्द्रमा खकार परीक्षण नहुने भएकाले समस्या पैदा भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

स्वास्थ्यकर्मीका अनुसार क्षयरोगको सबैभन्दा खतरा फोक्सोमा किटाणु फेला पर्नु हो । यसबाट पत्ता लागेका क्षयरोगीले समयमै उपचार नपाए एकबर्ष भित्रमा उस्ले १० देखि १५ जना निःरोगीलाई यो रोग सार्न सक्छ । फोक्सो तथा खकार परिक्षणमा किटाणु नदेखिने भए पनि विशेषज्ञहरुले मात्र शरीरका अन्य भागमा क्षयरोगका किटाणु फेला पार्ने गरेकाछन् ।

सन २०५० सम्ममा नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य अनुरुप “दुईहप्ते खोकी क्षयरोग पो हो की” भन्ने मुलनाराका साथ स्वास्थ्य मन्त्रालय स्वास्थ्य विभागले विभिन्न अभियान सञ्चालन गरिरहेको भएपनि झापामा हरेक वर्ष क्षयरोगी थपिरहेका छन् । सन् २०५० सम्ममा क्षयरोगलाई पूर्ण रुपमा निवारण गर्ने योजना अन्तर्गत नेपाल सरकारले २०५९ देखि २०६९ सालसम्म दशबर्षे दीर्घकालिन योजना अघि सारेको थियो । विसं २०२१ सालमा नेपाल सरकार, विश्व स्वास्थ्य संगठन र यूनिसेफबीच क्षयरोग नियन्त्रणका लागि त्रिपक्षीय सम्झौता भएको थियो । तर, यी अभियान खासै प्रभावकारी बनेका छैनन् ।

सरकारले यहि नारा साकार र लक्ष्य पुरा गर्न प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा क्षयरोगको औषधी सेवन गर्ने “डष्ट प्रोग्राम” पनि अघि सारेको छ । तर, पनि कार्यक्रम खासै प्रभावकारी बन्न सकेको छैन् । विश्व स्वास्थ्य संगठन २०१५ को प्रतिवेदन हेर्ने हो भने विश्वभर करिब एक कारेड मानिसमा क्षयरोगका कारण ग्रसित छन् । क्षयरोगका कारण १५ लाख मनिसको मृत्यू भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैका कारण नेपालबाट क्षयरोग क्रमस नियन्त्रण हुदै गईरहेका बेला विदेशबाट फर्किने नेपालीहरुबाट यो रोग नसरोस भन्नका लागि क्यानडा सरकारले नेपाल सरकार संग मिलेर विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा टिबी रीच परियोजना समेत शुरु गरेको थियो ।

राष्ट्रिय क्षयरोग कार्यक्रम अन्र्तगत भारतमा बसोबास गरि नेपाल फर्किने श्रमिक, संभावित यौनकर्मी, लागूऔषध प्रयोगकर्ता, तथा अन्य संभावित क्षयरोगीहरुको खोज पडताल गरि उपचारमा राख्न टिबी रिच कार्यक्रम झापासहित मोरङ्ग, पर्सा, कास्की, रुपन्देही, कैलाली र कन्चनपुरमा यो अभियान शुरु गरिएको थियो ।

१४ देखि ४९ उमेर समुहका महिला तथा पुरुषमा यसको बढी संक्रमण देखिने गरेको स्वास्थ्यकर्मीहरुको भनाई छ । मेची अञ्चल अस्पतालका प्रमुख डाक्टर पिताम्बर ठाकुरका अनुसार नेपालमा करिब ६० प्रतिशत बयस्क र ४५ प्रतिशत अन्य समूहका व्यक्ति क्षयरोगबाट संक्रमित छन् । डा ठाकुरका अनुसार कमजोर प्रतिरोधात्मक क्षमताका कारण शारीरिक दृष्टिकोणले कमजोर व्यक्ति क्षयरोगी संग बढी हेलमेल गरे सहजरुपमा यो रोग सर्न सक्छ ।

हरेक बर्ष क्षयरोगका कारण हुने मानिसको मृत्यु र नयाँ रोगीको संख्यामा कमि गर्न सरकारले बिभिन्न दातृ संस्थाको सहयोगमा बर्षेनी करोडौ रुपैयाँ खर्च गर्ने गरेको छ । अन्य गैरसरकारी संघ संस्थाहरुले समेत संयुक्तरुपमा सचेतना अभियान सञ्चालन गर्ने गरेको जनस्वास्थ्यले जनाएको छ । शुरुमा क्षयरोगको लक्षण देखिने वित्तिकै उपचारका लागि रोगी नआउनु , लामो समयसम्म नियमित औषधि सेवन गर्नुपर्ने बीचमै औषधि सेवन गर्न छाड्ने्लगायत नै क्षयरोग नियन्त्रणको सबै भन्दा ठुलो चुनौती संयोजक राईको भनाई छ ।

उमेर अनुसार तौल घटनु , छाती दुख्नु, राती राती ज्वरो आउनु, खकारमा रगत देखिनु, श्वास प्रश्वासमा समस्या हुनु दुईहप्ता सम्म लगातार खोकी लागि रहनु लगायत क्षयरोगका लक्षण रहेको संयोजक राईको भनाई छ । खकार वा अन्य परीक्षणबाट फेला परेका सबैमा क्षयरोगका रोगीलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्ने र डष्ट कार्यक्रम अन्तर्गत सबैको उपचार गर्ने गरिएको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु