माङसेबुङ । इलामको माङसेबुङमा बृहत् केलाङ प्रदर्शन कार्यक्रम हुने भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रम यही जेठ १६ गते माङसेबुङ १ गजुरमुखीमा हुन लागेको हो ।

किरात याक्थुङ चुम्लुङ माङसेबुङ गाउँ समितिको आयोजनामा र माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा केलाङ अर्थात च्याब्रुङ नाचको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको आयोजक समितिका अध्यक्ष बिपन लिम्बूले जानकारी दिए । उनका अनुसार माङसेबुङमा ऐतिहासिक कार्यक्रम हुन लागेको छ । कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको छ ।
कार्यक्रममा इलाम र पाँचथरबाट एक हजार च्याब्रुङ कलाकार सहभागी गराउने तयारी गरिएको छ । लिम्बू समुदायको मौलिक सांस्कृतिक पहिचान संरक्षण, युवापुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि तथा स्थानीय सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ कार्यक्रम तय गरिएको अध्यक्ष लिम्बूले बताए । उनी भन्छन्– कार्यक्रममा केलाङ प्रदर्शन सहित पालिका स्तरीय केलाङ प्रतियोगिता समेत रहने छ । आउने पुस्तालाई प्रोत्साहन होस भनेर पहिलो, दोस्रो र तेस्रो हुने टोलीलाई २० हजार, १२ हजार र सात हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ । यसका साथै विभिन्न सांस्कृतिक झाँकी, मौलिक भेषभूषा प्रदर्शन, स्थानीय सांस्कृतिक प्रस्तुति लगायतको कार्यक्रम सञ्चालन हुनेछन् । लिम्बू समुदायको इतिहास, सभ्यता र सांस्कृतिक पहिचानको जगेर्ना गर्नुसाथै प्रवर्द्धन गर्नु अहिले आवश्यकता रहेको छ ।

स्थानीय संस्कार तथा संस्कृतिको संरक्षण र विकासमा पालिका सधै सकारात्मक रहेको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । उनले अहिलेको बदलिदो आधुनिकताको समयमा मौलिक परम्परा हराउदै गएको समयमा यस्ता कार्यक्रमले समुदायमा सांस्कृतिक जागरण ल्याउनुका साथै माङसेबुङको सांस्कृतिक पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
माङसेबुङमा केलाङलाई विभिन्न कार्यक्रममा झाँक्रीको रुपमा प्रस्तुत गर्ने गर्दछन् । लिम्बू समुदायको संस्कृतिको रुपमा रहेको केलाङलाई अन्य समुदायले समेत चासोको रुपमा हेर्ने गर्दछ ।

