adv
Advertise Expired !

कोरोनालाइ लिएर मन र ब्यवहारको दूरी नहोस्

   ~बबिता बस्नेत~

हामी आफू बिरामी भएका बेला अरुबाट कस्तो ब्यवहारको अपेक्षा गर्छौं ? निश्चय नै नजिकका मानिसहरूले ‘केयर’ गरुन्, चिसो–तातो सोधुन् । तिमीलाई केही भएको छैन, ठिक हुन्छ भनेर ढाडस दिउन् । खासमा कसैले सोधेर प्राविधिक रूपमा केही हुने त होइन, तर निकटवर्तीहरूले आफूलाई ख्याल गर है, औषधी खायौ ? समयमा औषधी खाउ, खाना खाउ मात्र भनिदिँदा आधा ब्यथा त्यसै निको भए झैँ हुन्छ । यो कुरा अस्पताल गएको बेला डाक्टरको बोली, ब्यवहार र दिने सल्लाह, सुझावमा पनि लागु हुन्छ । ‘यो खास ठुलो रोगै होइन, नडराउनुस्, तपाई चाँडो निको हुनुहुन्छ’ भनिदिँदा र ‘यो त धेरै ठुलो कुरा हो, तपाईंले सानोतिनो नठान्नुस् है’ भन्नुबीचको बिरामीको मनोविज्ञानमा ठुलो फरक पर्छ । दुवै आखिर बोली नै त हुन तर अघिल्लोले बिरामीलाई ‘ए मलाई चाँडै निको हुन्छ’ भन्ने महसुस गराउँछ भने पछिल्लोले ‘म निको नहुन पनि सक्छु’ भन्ने बनाउँछ । मानिसलाई लाग्ने कुनै पनि रोग र त्यसको निवारणमा मनोवैज्ञानिक पक्ष ठुलो कुरा हो ।

विश्वका विभिन्न मुलुकमा यस्तो भयो रे, उस्तो भयो रे भन्ने चर्चा गर्दै बसेका हामीले कोभिड–१९ आफ्नै घर–दैलोमा यसरी आइपुग्ला भनेर सोचेकै थिएनौँ । बडो भलादमी तालले बिस्तारै मुलुक प्रवेश गरेको कोरोना ठुला शहर भन्दा पहिला नै गाउँ–गाउँमा पुगिसकेको छ । एकार्कामा सर्ने भएकाले कोरोना अन्य बिरामी भन्दा असामान्य रोग हो । असामान्य भएकै कारण सचेतता अपनाउनु पर्ने कुरामा हाम्रो दृष्टिकोण पनि असामान्य हुनु आवश्यक छ । अन्य बिरामीलाई जस्तो कोरोना सङ्क्रमितलाई हामी नजिकै बसेर, छोएर, सुम्सुमाएर या धाप मारेर अपनत्व प्रकट गर्न सक्दैनौँ । तर परै बसेर राम्रो ब्यवहार गर्न सक्छौँ । अहिले कसैलाई कोरोना लाग्यो भनेको सुन्नासाथ उसको परिवारका सदस्यलाई समेत जुन प्रकारको ब्यवहार गर्ने गरिएको छ त्यो विवेकी मानिसले गर्न मिल्ने ब्यवहार होइन । कोरोनालाई लिएर हामीले शारीरिक दूरी कायम गर्ने हो मन र ब्यवहारको दूरी होइन ।

सङ्क्रमितको अवस्था हामीकहाँ अन्य मुलुकमा भन्दा दयनीय छ, थप दयनीय हुने अवस्था देखिँदैछ । अरुका देशमा ‘सिस्टम’मा चलेको सरकार छ, सुविधासम्पन्न अस्पतालहरू छन् । बिरामीलाई आफुले सकेको गरेर बचाउनुपर्छ भन्ने मान्यतासहित आफ्नो आचारसंहितामा बाँधिएका उत्तरदायी स्वास्थ्यकर्मी छन् । हामीकहाँ सङ्क्रमितलाई अस्पताल पुऱ्याउन एम्बुलेन्स ड्राइभरहरू तयार छैनन् । पुऱ्याइहाले भने पनि यो अस्पतालबाट त्यो अस्पताल गराइन्छ । उपचारका लागि स्वास्थ्यकर्मी तयार नहुन पनि सक्छन् । बाग्लुङ र प्रदेश नं २ का अस्पतालले पठाएको कोरोना–बिरामीलाई गरेको उपचार खर्चको बिल हेर्दा सारा अस्पताल र स्वास्थ्य क्षेत्रले शिर निहुऱ्याउनु पर्ने अवस्था छ । यस्तो लाग्छ, उत्तरदायित्व र जवाफदेहिता भन्ने कुरा कहीँकतै हुँदैन । दिन–प्रतिदिन सङ्क्रमितको संख्या बढ्दो छ । विभिन्न जिल्लामा सङ्क्रमितहरूलाई जसरी राखिएको छ त्यो सुन्दा, पढ्दा, हेर्दा, बुझ्दा अस्पताल भन्दा त बरु आफ्नै घरमा बस्दा बाँचिन्छ कि जस्तो लाग्छ । घरमा कम्तीमा तातोपानीको बाफ लिन पाइन्छ, चाहेको बेला बेसार–पानी खान त पाइन्छ । अहिले जे–जस्तो ब्यवस्था गरिएको छ त्यसको स्तरोन्नति गर्नैपर्छ । साथै सङ्क्रमितसँगका बोली–ब्यवहारमा पनि ढाडससहितको आफ्नोपनको आवश्यकता छ । आत्मविश्वास बढाउने गरी उनीहरूको रेखदेख र औषधोपचारको जरुरत छ ।

यता क्वारेन्टाइनको अवस्था त्यस्तै छ । अरुलाई रोग सर्न नपाओस् भनेर ब्यक्ति आफैंमा सीमित हुने गरी राख्नुपर्ने क्वारेन्टाइनमा हामीकहाँ मानिसहरू लहरै सुतिरहेका छन् । यो गर्मीको मौसममा न झुल छ न त खानपिनको उचित ब्यवस्था नै । अहिले जसरी कोचेर राखिएको छ त्यो भन्दा त आ–आफ्नो घरमा गएर सचेतता अपनाएर बस भन्नु नै राम्रो हो । क्वारेन्टाइन शब्द इटालियन ‘क्वारान्ता’ शब्दबाट आएको रहेछ । जसको अर्थ चालिस भन्ने हुन्छ । चालिस दिनसम्म सचेत रहने अर्थमा क्वारेन्टाइन शब्द प्रचलनमा ल्याइएको हो । सन् १३०० मा प्लेग रोगको महामारी फैलिएको बेला मानिसलाई ४० दिनसम्म क्वारेन्टाइनमा राख्ने गरिएको थियो भनिन्छ । क्वारेन्टाइनमा राख्नुको उद्देश्य सङ्क्रमण फैलिने सम्भावनालाई रोक्नु हो । तर अहिले हाम्रा कतिपय क्वारेन्टाइनले सङ्क्रमण फैलन मद्दत गर्लान् तर रोक्न सक्लान् जस्तो देखिँदैन । हेर्दाहेर्दै परिस्थिति यति अब्यवस्थित बन्दैछ कि बाँच्नका लागि क्वारेन्टाइनमा बसेका मानिसहरूको मृत्यु हुँदैछ । क्वारेन्टाइनको अवधारणा उपचारको ब्यवस्था र खानपानसहितको आफैंमा सीमित हुने गरी बस्ने सुरक्षित स्थान हो । हामीकहाँ यसका लागि निर्देशिका पनि बनेको छ तर ब्यवहारमा लागु नभएपछि त्यस्ता दस्तावेजहरू आफै कार्यान्वयनमा आउने कुरा भएन ।

अहिले जसरी कोभिड–१९ फैलिरहेको छ यसबाट कुनै पनि मानिस कुनै पनि बेला सङ्क्रमित हुन सक्ने देखिन्छ । सामान किन्ने ठाउँदेखि फलफुल पसल हुँदै अस्पतालसम्म भीडभाड रोकिएको छैन । नागरिक स्वयम् सचेत नहुञ्जेलसम्म पाइला–पाइलामा प्रहरी पुगेर साध्य हुँदैन । मर्निङ वाक, इभिनिङ वाक, तरकारी पसलका भीडभाडदेखि अस्पताल हुँदै आर्यघाटसम्म प्रहरीले नै आएर शारीरिक दूरी कायम गर्नुस् भनुन् भन्ने अपेक्षा नागरिकमा देखिन्छ । हामी नागरिकका पनि त उत्तरदायित्वहरू छ, कम्तिमा विशेष परिस्थितिमा विशेष जीवनशैली अपनाउन सक्यौेँ भने आफैलाई राम्रो हुने हो । हामी सबैलाई थाहा छ सरकारले गर्नुपर्ने धेरै काम गरेन, गरेको छैन । तर हामी नागरिकले पनि ‘मेरो भूमिका के हो ? मैले के गरेँ ? के गरिरहेका छौँ ?’ भनेर आफुले आफैलाई हेर्नु एकदमै आवश्यक छ ।

त्यसो त नागरिक तहबाट धेरै काम भएका छन् । यदि नागरिकले सीमाक्षेत्र र आसपास खाना नखुवाएका भए भारतबाट आउने धेरै नेपालीहरू कोरोनाले होइन भोकले मरिसकेका हुने थिए । राजधानीमै पनि धेरै सहयोग नागरिक तहबाट भइरहेको छ । कोरोनाबाट पहिलो मृत्यु भएकी सुत्केरी महिलाको लाश उठाउन शवबाहन पाइएन, नागरिक अभियन्ताहरूले नै उठाएर पशुपति पुऱ्याए । नागरिक तहबाट योगदान नभएको होइन– भएको छ, तर बुटबलमा गुल्मीका शिक्षकको मृत्यु भएपछि कोरोनाबाट भएकाले यो घाटमा जलाउन पाइँदैन भनेर घाटमा जल्नबाट रोक्ने काम गर्ने पनि यही देशका नागरिकले गरे । जुन नेपालको कोरोना कहरको निकै दुःखद इतिहासको रुपमा रह्यो, रहने छ । यस्ता इतिहास निर्माण नगर्नका लागि नागरिक सचेतता जरुरी छ । हामी एउटा कोठामा मान्छे मर्दा अर्को कोठामा बस्नेले थाहा नपाउने पृष्ठभूमिका मानिस होइनौँ, एउटा गाउँमा मान्छे मर्दा वरिपरिका गाउँका मानिस मलामी जाने संस्कार भएका मानिस हौँ ।

कोभिडविरुद्ध लड्न हामीकहाँ सामाजिक एकता आवश्यक छ । अहिले जुन प्रकारले छुवाछुतको ब्यवहार गर्ने गरी एकर्कामा दूरी बढाउने काम भइरहेको छ यसले भविष्यमा हामीलाई दुःख पर्दा कोही पनि साथमा नहुने अवस्थामा पुऱ्याउँछ । कोही आउला कि भनेर टोल–टोलमा भाटाका बार लगाउने भन्दा पनि कसैलाई कोरोनाले आक्रमण गरिहाल्यो भने कसरी सहयोग गर्ने भन्ने बारेमा चाहिँ टोल–टोलमा छलफल र तयारी हुन जरुरी छ । यो उसको घरमा आउने मेरोमा नआउने कुरा होइन, हामी जो–कोही कुनै पनि बेला सङ्क्रमित हुन सक्छौँ । बाँच्दाको केयर, औषधी–उपचारदेखि मरेपछि मृत्यु–संस्कारसम्मको तयारी अब हामीले गर्नुपर्ने हुन्छ ।

मानिसले आफ्नो संस्कारअनुरुप आफ्नो परिवारको सदस्यको अन्त्येष्टी गर्न पाउनुपर्छ । कुनै पनि मानिसको मृत्युसँगै अन्त्येष्टी निकै संवेदनशील कुरा हो । अरु देशमा के–के भयो होला तर हामीले तयारी गर्ने हो भने ब्यवस्थित गर्न सक्ने अवस्था छ । आफ्नो धर्म, संस्कारअनुसारको अत्येष्टि कसरी गर्न सकिन्छ ? यो कुराको ब्यवस्थापन सरकारले नै गर्नुपर्ने हो तर बुटवल घटनालाई हेर्दा सरकारी तवरबाट हुने देखिँदैन । आफ्नो टोलमा केरोनाबाट कसैको मृत्यु भएमा आफ्नै परम्पराअनुरुपको अन्तिम संस्कार कहाँ, कसरी गर्ने ? यो विषयमा नागरिक प्रयास आवश्यक छ । राज्यको निरीहता हेर्दा मर्दा या बाँच्दा दुवै अवस्थामा नागरिक आफैले आफ्नो ब्यवस्था गर्नुपर्ने देखिन्छ । नागरिक आफैले गर्छन् भनेर राज्यले आफ्नो उत्तरदायित्वबाट पन्छिनचाहिँ मिल्दैन ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु