झापा , २२ जेठ। झापामा थप ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरु कचनकवल र भद्रपुरस्थित क्वारेन्टिनका हुन् ।
कलबलगुडी क्वारेन्टिनमा बसेका भद्रपुर १ का ५६ वर्षीय पुरुष र ३ नम्बर वडाका १९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । कलवलगुरीकै क्वारेन्टिनमा बसेका कचनकवल ६ का ४५ वर्षीय पुरुषमा कोरोना भेटिएको हो । उनीहरू सबै भारतबाट आएका हुन् ।
कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा झापामा थप ५ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
त्यस्तै, कचनकवलमा पनि दुईजनामा कोरोना पुष्टि भएको छ । पथरिया माविको क्वारेन्टिनमा बसेकाहरूको दोस्रोपटक स्वाब परीक्षण गर्दा दुईजना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएकाहरू ६ नम्बर वडाका १७ वर्षीय पुरुष र ४ नम्बर वडाका २५ वर्षीय पुरुष रहेका छन् । कचनकवलमा संक्रमितको संख्या १०२ पुगेको छ ।
पथिरयामा माविमा बसेका २३ जनाको स्वाब दोस्रोपटक परीक्षणका लागि पठाएकोमध्ये १९ जनाको रिपोर्ट आएको हो । अन्यको रिपोर्ट नेगेटिभ आएको छ । चारजनाको रिपोर्ट आउन बाँकी छ । यो संगै जिल्लामा संक्रमितको संख्या १२३ पुगेको छ ।