धरान २२ जेष्ठ । सुनसरीको धरान १५ मा एक घरमा भएको आगलागीमा परेर वृद्ध आमासहित २ जनाको जलेर मृत्यु भएको छ ।
बिहीबार बिहान भएको आगलागीमा परि नरबहादुर श्रेष्ठको आमा ८७ वर्षीय धनकुमारी श्रेष्ठ र बहिनी ५८ वर्षीय बोल्न नसक्ने सीता श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागी हुनुको मुख्य कारण अझै खुल्न नसके पनि स्थानीयका अनुसार ग्याँस लिक भएर आगलागी भएको भन्ने अनुमान गरिएको छ । आगलागी हुँदा बोल्न नसक्ने छोरी लिन भित्र जाँदा आमा छोरी दुबै जना आगोमा जलेको स्थानियबासीहरुले बताएका छन् ।
एक तला गाह्रो लगाएको र अर्को तला काठले बनेको दुई तले घर जलेर पुर्णरुपमा नष्ट भएको छ । मृतक दुवै जनाको शव घरको तलामाथि जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् । आगालागीबाट अन्य क्षति को विवरण भने आउन बाँकी छ ।