adv

कविता – ‘पेरुङ्गे चेप’

पेरूङ्गे बाटाे

कविता-

‘पेरुङ्गे चेप’

ऊ तल निर…..
मैना चुलीदेखि अलि मास्तिर
बोहरा गाउँदेखि अलिकति मुन्तिर
शिरमा ठाकल रोपेर
शरीरमा सिरु उमारेर
सालको हाँगामा नाच्ने एकदुई हुल मयूर पालेर
युगौँदेखी चिरिएको आफ्नो अजङ्गको छाती बोकेर
अझैसम्म जीवित छ पेरुङ्गे चेप ।

कतै लेखिएको छैन विस्तृतमा
ती सुदूर ठाउँको इतिहास
न त प्राविधिक ड्रोनले नै चियो गर्ने हिम्मत गरेको छ
न त टिभीमै भिजल बनेर देखिएको छ
न त मोबाईलभित्रै डिजिटल तस्बिर बनेर बसेको छ !
ऊ जे छ नितान्त गुपचुप छ
र आफैंभित्र मौन छ ।

उसकै छातीको बाटो हुँदै
झोला र ढाकरमा जिन्दगी बोकेर हिड्ने
कयौं बटुवा, भरिया र खरिते दाइहरुको मस्तिष्कबाट
दूर सम्झना हुँदै बिलाइ सके पेरुङ्गे चेप ।

खरिते दाइहरुको चिच्याहट आवाज
बटुवाहरुको पालाम, जुहारी र हाक्पारे
भरिया दाइहरुको थकाइको सुसेली
गुन्जी रहेको छ अझैसम्म
पेरुङ्गेको मन मस्तिष्कभित्र ।

आज उसलाई
हिड्ने, देख्ने, चिन्ने
सबै–सबैले भुलिसके !
तर
उसले कसरी भुलोस्
उसकै मुटु कुल्चेर हिड्ने
–खरिते दाइहरुको चिच्याहट आवाज
–बटुवा र भरिया दाइहरुको लस्कर
–उनीहरुले बोक्ने झोला र ढाकरको भारी
–उनीहरुको थकाइ
–उनीहरुको भोक
–उनीहरुको प्यास
–उनिहरुको निद्रा

त्यसैले त अझै
एउटा झिनो आशा बोकिरहेछ उसले
कतै फेरि खरिते दाइहरु
जिम्मेवारीको चौपाया डोर्याउदै आउँछ कि भनि
बटुवाहरु र भरिया दाइहरु
परिस्थितिको भारी बोकेर आउँछ कि भनि
सफा गर्दै आफ्नो चिरिएको छातीको बाटो
साँचेर राखेको छ उसले अझैसम्म !
–भारी बिसाउने ढुंगा र माटोको ढिस्कोहरु
–थकाइ मार्न अडेस लाग्ने जमुनाका बोटहरु
–भोक लाग्दा खाना पकाउने ढुंगाका चुल्होहरु
–प्यास मेटाउने चिसो पानीका छुस्के धाराहरु
–रात कटाउन सुत्न मिल्ने ढुंगाका ओडारहरु ।

तर विडम्बना !
आजभोलि ऊ एक्लो छ
सुनसान छ
अब उसले बुझिसक्यो
आफ्नै छाती चिरेर कसैलाई प्रेम नगर्नु रहेछ ।

तर ऊ एक्लै भएपनि निडर छ
आफ्नै पहिचानमा विश्वस्त छ
आफ्नै अस्तित्वमा अडिग छ
त्यसैले त ऊ
समयको भेल, बाढीहरुसंग डराउदैन
उसलाई परिस्थितिको डढेलोहरुले बिगार्दैन
उसलाई दुःखको महा–भुकम्पहरुले हल्लाउँदैन ।

°°°

-मनिभक्त राई ‘गाउँले’
(माङ्सेबुङ, इलाम)

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु