adv

जनताको सार्वभौम शक्ति प्रयोग : निर्वाचन

–कमन देवान


निर्वाचनको आधारभूत पक्ष आवधिक रूपमा शासन र अख्तियारीको नवीकरण हो । हरेक निर्वाचनमा बालिक मतदाता नागरिक यसका निर्णायक हुन् । अपवाद बाहेक निर्वाचनलाई शासकीय वैधताको अनिवार्य जाँच, अनुमोदन र मतादेश प्रयोग गर्ने अभ्यासका रूपमा बुझ्नु पर्दछ ।

आवधिक निर्वाचनलाई राज्यअन्तर्गत तहगतका सरकार र तिनका शासनको कार्य मूल्यांकन र शासन अवधिको कार्य समीक्षाका रूपमा पनि केलाउन सकिन्छ । यद्यपि नेपाली राजनीतिमा यस्तो अभ्यास विरलै हुने गरेको छ । तापनि निर्वाचन शासनको वैधता ग्रहण गर्ने विधिवत माध्यम हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा मौजुदा नेपालको संविधान २०७२ अनुसार संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार अभ्यासमा छ । संविधानको भाग १७ देखि भाग १९ सम्म उल्लेखित धारा २१४ देखि २३० सम्म र अनुसूची ८ र ९ बमोजिम अधिकार र अख्तियारी प्राप्त स्थानीय तहहरु जनतालाई राज्य सत्ताको प्रत्यक्ष अनुभूति दिने आधारभूत सरकारहरु हुन् । बैशाख ३० गते शुक्रबार देशैभरका ७ सय ५३ वटा पालिकाहरुमा एकै चरणमा स्थानीय तह निर्वाचन हुँदैछ । काठमाडौं, पोखरा, बीरगञ्ज, बिराटनगर, ललितपुर र भरतपुर महानगरपालिकासहित ११ वटा उपमहानगरपालिका, २ सय ७६ वटा नगरपालिका र ४ सय ६० वटा गाउँपालिकामा प्रमुख र उप–प्रमुख, अध्यक्ष र उपाध्यक्षको प्रत्यक्ष र धेरै मत प्राप्त गर्नेले विजयी हुने मोडलमा निर्वाचन सम्पन्न हुने छ । त्यस्तै पालिकाअन्तर्गतका हरेक वडामा सोही मोडेलमा एक जना वडा अध्यक्षसहित एक महिला अनिवार्य, एक दलित महिला अनिवार्य र दुई खुला सदस्यको निर्वाचन गरिने छ ।

सरकार र निर्वाचन आयोग, राज्यको सुरक्षा संयन्त्र र अन्य सम्पूर्ण पक्ष निर्वाचनको पूर्वसन्ध्यामा छन् । आवश्यक सम्पूर्ण तयारी पूरा भएको यतिबेलाको मौन अवधि पनि शुक्रबारको बिहान ७ बजेबाट साँझ ५ बजेसम्म हुने मतदान प्रक्रिया पछि हट्ने छ र रहने छ केही दिन पत्र गणना र मत परिणामको घोषणा ।

निर्वाचन आचार संहिताका कारण चुनावी मैदानमा रहेका राजनीतिक दल विशेष र स्वतन्त्र उम्मेद्वारहरुको चुनावी आचरण, मर्यादा, हर्कत र हविगत बारे चर्चा गर्न मिलेन । यद्यपि प्रवृत्तिगत घटना परिघटना र सञ्चार माध्यमहरुबाट सार्वजनिक समाचारहरुलाई केलाएर सारंशमा भन्नु पर्दा सुधार गर्नुपर्ने थुप्रै विषयहरु छन् । तिनका बारेमा पछिल्ला कुनै असरल्ल वहसमा उल्लेख गरिने छ ।

आजको विकसित राजनीतिमा लोकतन्त्र देशको प्राण हो भने आवधिक निर्वाचन लोकतन्त्रमा शासन व्यवस्थाका लागि जनताले आफ्ना प्रतिनिधि चुन्ने सुनौलो अधिकार हो । निर्वाचन प्रक्रियामा मतदाता नागरिक वा जनताले आफ्नो मतका माध्यमबाट सार्वभौम अधिकार प्रयोग गर्दछन् । यो नै उनीहरुको निम्ति शासनमा सहभागी हुने माध्यम हो ।

जनताले मतदानमार्फत प्रयोग गरेको सार्वभौम अधिकार शक्तिशाली अधिकार हो, जो आवधिक निर्वाचनमा मात्रै उपलब्ध हुन्छ । यसको सुनिश्चितता अपवाद बाहेक लोकतान्त्रिक प्रणालीमा मात्रै सम्भव छ । जनताको असीमित शक्तिलाई कसरी प्रयोग गर्ने ? त्यो सार्वभौम जनताले नै विवेक पुर्याउनु पर्ने कुरा हो ।

जनताले आफ्ना लागि आगामी ५ वर्षसम्म स्थानीय सरकारमा रहेर शासन गर्ने प्रतिनिधि चुन्न पाएका छन् । वास्तवमा यो अधिकारको बहाली त्यति सजिलै भने प्राप्त भएको होइन । आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर मतदान गर्न र आफूले चाहेको जनप्रतिनिधि चुन्ने नागरिक अधिकारको बहालीका लागि इतिहासको लामो कालखण्डदेखि अनेकौं राजनीतिक क्रान्ति, बलिदानी, संघर्ष र आन्दोलनहरुका उपज हो आजको स्थानीय तह निर्वाचन, आजको संघीयता, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षता ।

यस मानेमा सचेत र बालिक उमेरका मतदाताले पक्कै देश, सार्वभौमसत्ता, जनताको स्वतन्त्रता, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, मौलिक हकलगायात अग्रगामी राजनीतिक मुद्दाका लागि इमान्दार, कर्मठ र स्थानीय आवश्यकता अनुसारको विकास, स्थानीय समस्या समाधानका लागि तदारुक, जनताका पक्षमा काम गर्न योग्य उम्मेद्वारहलाई तिनको कार्य क्षमता र प्रतिवद्धताका आधारमा चुन्ने छन् भन्नेमा शंका नगरौं ।

पाँच वर्षमा एक दिन मात्र सबै भन्दा शक्तिशाली हुने र फैसला गर्ने अधिकार आफ्नो हातमा पाइरहँदा जनता जनार्दनले कुनै पनि प्रकारको प्रलोभन, स्वार्थ, डर, धाक, धम्की र अन्य कुनै अवाञ्छित कारणले आफ्नो अहितमा मत जाहेर गर्नु भनेको स्वयम् उसका लागि त खतरा हो नै, सिङ्गो लोकतान्त्रिक प्रणालीका लागि गम्भीर धक्का र खतरा हो ।

नेपाली राजनीतिको दुष्चक्रलाई केलाउँदा कतिपय अवस्थामा जनताबाट निर्वाचितहरुको शासकीय अभ्यास मैजुदा संविधान र त्यसले अभ्यास गरिरहेको शासन व्यवस्थामाथि नै गम्भीर आघात पुर्याउने किसिमका पनि पाइएका छन् । जनताले चुनेको शासकले देश र जनताका हितमा काम गर्न नसक्दा कसरी राजनीतिप्रति आम जनतामा वितृष्णा जन्मिएको छ ? किन राजनीतिलाई सस्तो बोलीमा फोहोरी खेल भनिन्छ र अभ्यासहरुले त्यस्तै नतिजासम्मुख पुर्याउन कासिस गरिन्छ ? यावत विषयहरुलाई गहनताका साथ समीक्षा गर्नु आजका हरेक सचेत मतदाताको कर्तव्य हो ।

लोकप्रिय भनाइ छ –कर्तव्य र अधिकार एक सिक्काका दुई पाटा हुन् । कर्तव्य सही ढंगले पूरा गरिएन भने पूर्ण अधिकार प्राप्त नहुन सक्छ । हामीले मतदान गर्दै गर्दा कस्ता उम्मेद्वारलाई चुन्छौं, आगामी पाँच वर्षसम्म त्यसै किसिमको शासन र भोगाइका लागि हामीले तयार नहुनुको विकल्प रहँदैन ।

त्यसैले मतदान भन्दा केही घण्टा अघिको यो शून्य समयलाई विवेचनामा खर्च गरौं । लहडमा, प्रलोभनमा, स्वार्थमा वा त्रासमा परेर होइन, विवेक प्रयोग गरेर मतदान गरौं । सम्पूर्ण मतदाताहरुलाई हार्दि शुभकामना !

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु