सजन राई
१. पृष्ठभूमि:

पोहोर साल माङसेबुङ ६ मा लटरम्म फलेको सिलाम
नेपालको सुदुरपूर्वी जिल्ला इलामको दक्षिण–पश्चिममा छ, माङसेबुङ गाउँपालिका । साविक बाँझो, इभाङ र गुजुरमुखी गाविसलाईमिलाएर बनेको माङसेबुङ गाउँपालिका धार्मिक, सांस्कृतिक, भाषिक, प्राकृतिक आदि विविधताले भरिपूर्ण रहेको गाउँपालिका हो । लिम्बू र राई जातिको सघन बसोबास रहेको यस पालिकाको प्रमुख पेशा कृषि रहेको छ । भौगोलिक हिसाबले समुन्द्र सतहबाट ५१.५मिटर देखि २०२० मिटरको उचाइ सम्म रहेकोले यो पालिकामा गर्मी वा जाडो मौसममा हुने सबै प्रकारका बाली लगाउने गरिन्छ । यहाँ कृषि नै पहिलो आयस्रोतको रूपमा रहेको छ । माङसेबुङमा अन्नमा धान, मकै, कोदो, आलुसाथै रैथाने तथा नगदे बालीहरु अम्लिसो, अलैंची, अदुवा, अकबरे, टमाटर, बेसारसहित सिलाम प्रमुख बालीको रूपमा लगाउने गरिन्छ ।
२. परिचय:
प्याकेजिङ गरिएको सिलाम
सिलाम एक बास्नादार तेलहन रैथाने बाली हो । यस्को बोट झुसिलो प्रकारको हुन्छ । चारपाटे डाठ भएको सिलामको झण्डै पानको पात आकारको हरियो पात पनि झुसिलो नै हुन्छ । लगभग ४ फुट सम्मको ऊचाइ हुने सिलाम बोटको टुप्पोमा साना साना दानाको रुपमा फल्ने गर्दछ । प्राय गरेर नेपालमा सेतो र कालो दुई प्रकारको सिलाम खेती गर्ने प्रचलन रहेको छ । कालो भन्दा सेतो सिलाम मिठो तथा स्वादिलो हुने हुँदा सेतो सिलामको खेती धेरै गर्ने गर्दछ । माङसेबुङमा १२०० मिटरदेखि २००० मिटरसम्म सिलामको खेती गरेको पाइन्छ ।
३. बाली लगाउने तरिका:
मकैबारीमा लगाएको सिलाम(अगुवा)
माङसेबुङ गाउँपालिका भित्र प्रचलनमा रहेको रैथाने बाली मध्ये सिलाम खेती सबैभन्दा सजिलो र सहज खेतीको रुपमा रहेको छ । माङसेबुङमा यसलाई परम्परागत विधिबाट खेती गर्दै आइरहेको छ । सिलाम खेतीलाई प्राय मिश्रित खेतीको रुपमा लागाउने गर्दछ भने एकल बालीको रुपमा समेत लगाउने गर्दछ । सिलामको बियाड वैशाख महिनामा राखिन्छ र असार देखि साउन पहिलो हप्तासम्ममा रोप्ने गरिन्छ । यसलाई मकै खेती गरेको ठाउँमा दोहोरे लगाएपछि रोप्ने चलन छ । हातले अथवा कुटेले थोरै खनेर ५ इन्च जतिको विरुवालाई रोप्ने गरिन्छ । सिलामलाई यसरी मकै तथा अन्य बालीसँग रोप्दा छुट्टै मलको प्रयोग गर्नु नपर्ने र गोडमेल समेत त्यति आवश्यक नपर्ने हुँदा यो चलन चल्तीमा छ । समय कम लाग्ने, मिहेनत कम लाग्ने, खर्चको हिसाबले यो खेती सस्तो पर्ने हुँदा किसानहरु सदियौ देखि यसको खेती गर्दै आइरहेका छन् ।
४. उत्पादनको अवस्था:
पाकेको सिलाम काटेर त्रिपालमा राख्दै माङसेबुङका किसान
माङसेबुङ गाउँपालिकामा हुने सिलाम उत्पादनलाई रेकर्डको रुपमा कहि राखिएको छैन । किसान प्रतिक्रियालाई आधार मान्ने हो भने १ जनाले १ क्विटलसम्म उत्पादन गरेको पाइन्छ । विशेषगरी माङसेबुङ ४ र ५ बाहेक अन्य चार वटा वडामा सिलाम खेती प्रसिद्ध रहेको छ । वडागत हिसाबले हेर्ने हो भने २ नम्बर अग्र स्थानमा आउने गर्दछ यसका साथै क्रमशः ६,३ र १ रहेको छ । ठ्याक्कै यति क्षेत्रफलमा सिलाम खेती हुन्छ भन्ने कुनै तथ्यांक नभए पनि माङसेबुङमा रहेको २८% खेतीयोग्य जमिनको ५ देखि ६% मा सिलाम खेति गरेको पाइन्छ । गर्मि भन्दा चिसो मौसममा फस्टाउने हुँदा सिलाम खेती हुने वडाहरुको माथिल्लो भेगमा प्रशस्त पाउने गरिन्छ । सिलाम उत्पादन हुने ठाउँमा भने यसलाई प्रत्येक घरमा खेती गरेको पाइन्छ ।
५. कृषक प्रतिक्रिया:
कृषकसँग अन्तरक्रिया
माङसेबुङ ६ हस्टे निवासी ३३ वर्षीय पवित्र राई संजोकले सिलाम रोप्दैगर्दा भेटिइन् । हातमा करिब ५ इन्च लम्बाइ भएको विरुवा बोकेकी पवित्रले सिलाम रोप्ने उपायबारे भनिन्, यतिको विरुवा रोप्दा मर्ने, भाचिने हुँदैन । यो भन्दा सानो विरुवा हुँदा पानीले कुटेर नसप्रिन सक्छ । यो साल २ रोपनी जतिमा मात्र सिलाम लगाएकी छु । आधा रोपि सकेको र आधा रोप्न बाँकी छ । मकैबारीमा रोपेर बाँकी रहेको बीउ खुला जग्गामा समेत रोप्छौँ । खुला बारीमा चाहिँ प्राय भुङ्गे डढाएर खरानीको मलमा रोप्ने गर्छौ ।’
आव २०८१/८२ मा माङसेबुङ गाउँपालिकाबाट सिलाम खेतीका लागि साझेदारी कार्यक्रम अन्तर्गत २ लाख रुपैयाँ अनुदान पाएर ३ जनाले मिलेर ६–७ रोपनीमा सिलाम लगाएको पवित्राले सुनाइन् । फल्न त टन्नै फल्यो । तर हामीले यति नै भनेर तथ्यांक चाहिँ राखेनौं । राख्नु पर्छ भनेर पनि थाहा भएन’, उनले भनिन् । पुनः अनुदान पाए खेती बढाउने चाहना रहेको बताउने पवित्र सिलामको भण्डारण सजिलो रहेको बताउँछिन् । राम्रो सिलाम एक वर्षसम्म नबिग्रने उनको अनुभव छ । बट्टामा बिर्को लगाएर राखे बीउलाई समस्या हुँदैन । सिलाममा विषादी प्रयोग गर्नु नपर्ने, रोप्न सजिलो अनि १ माना बीउले २०–३० पाथी फल्ने हुँदा यो खेती सजिलो रहेको उनको अनुभव छ ।
माङसेबुङ ३ की ५६ वर्षीया रिता राई अघिल्लो वर्ष पालिकाको साझेदारी अनुदानबाट ४५ पाथी सिलाम उत्पादन गरेको बताउँछिन् । सिलाम प्याकेजिङ गरेर मानाको १०० देखि १२० रुपैयाँमा बिक्री पनि गर्यौँ,’ राईले भनिन् । यस वर्ष पनि ४०–४५ पाथी फलाएर बिक्रीगर्ने तयारी रहेको उनको भनाइ छ । उत्पादन गर्न सके बजार र मूल्य राम्रो छ । माग पुरा गर्न गार्हो भइरहेको छ,’ रिताले अनुभव सुनाइन्।
जति सजिलो खेती भए पनि केही समस्याहरु रहेको भन्दै रिता भन्छिन्– अहिले सम्म रोग देखिएको छैन । हामी गाईवस्तुको मल नै प्रयोग गर्छौ । तर एक साल अगाडि विरुवामा डढुवा जस्तो सेते रोग लागेर थोरै फल्यो अनि बाँझोगाउँ (माङसेबुङ–६) बाट बीउ ल्याएपछि अहिले त्यस्तो समस्या आएको छैन । चराले चै पाक्न थालेपछि खान थाल्छ । चरा खेदाउन बाँस गाडेर प्लास्टिक, कपडा, टिन झुन्डाउने गर्छौं ।’
विषादी प्रयोग नगरेको बताउने रिता आफैले बीउ गाउँभरी बाडेको बताउँछिन् । मकैबारीमा सिलाम रोप्दा मल ज्यादा भए पनि बोट नलड्ने उनको बुझाइ छ ।
सिलामको विरुवा
जितबहादुर थापा ६८ वर्ष पुगे । आफ्ना बाबुबाजे देखिकै परम्परागत सिलाम खेती गर्दै आएका उनीहरुको यो बालीसँगको सम्बन्ध कति पुरानो छ भन्ने उनैलाई थाहा छैन । माङसेबुङ २ चित्रेका थापा भन्छन्, उहिले जान्दादेखिको खेति हो सिलाम । बीउ कहिल्यै नासिँदैन ।बाजेले चलाउनु भएको बीउ यो नै हो । मकैबारीमा नै रोप्ने गर्छौं । त्यसो गर्दा छुट्टै मल लगाउनु पर्दैन । जनावरले त खाँदैन चराले चै खादोँहो तर याद नै हुँदैन । फलेपछि अलि झन्झटिलो हुन्छ । धेरै पाकेपछि जोगाउन गार्हो अलिकति हल्लायो भने झरिहाल्छ ।’
थापाले उत्पादनबारे भने, अन्तिम वर्ष १ क्विटल फल्यो । हामीले घरमै ६५ रुपैयाँ मानाले व्यापारीलाई बेच्यौँ । रोग पनि लागेको थाहा छैन । गाईवस्तु पालेपछि मल प्रशस्त छ । फलाउन र बेच्न समस्या छैन ।’
माङसेबुङ ६ का प्रणेश(विष्णुराम) राई ४९ वर्षको हुँदासम्म सिलाम खेतिमै छन् । प्रत्येक वर्ष सिलाम खेती गर्ने प्रणेश लगायत गाउँका कोही पनि व्यवसायिक भने बनेका छैनन् । अघिल्लो वर्ष अनुदान कार्यक्रमबाट उत्पादन गरेको सिलाम भने थोरै मात्रामा नजिकै रहेको पञ्चमी बजारमा बिक्री गरेको अनुभव उनको छ । सधैँ रोप्छौँ, टन्न फल्छ तर बेचेको थिएन । इष्टमित्र, साथीभाइलाई कोसेली बाँढ्ने अनिघरमा नै उपयोग गर्ने चलन छ । पहिला–पहिला धेरै उत्पादन गर्दा बजारको समस्या होला जस्तो लाग्थ्यो तर माग सुन्दा बजार र मूल्यराम्रो रहेछ,’ उनी भन्छन्, लटरम्म फलेको समयमा रहरलाग्दो देखिन्छ । फल्ने समयमा मकै थन्काइसकेको हुन्छ । सिलामको बोट झ्यामिदा मुनि झारसमेत उम्रिन पाउँदैन । त्यो बेला बोट रहरलाग्दो देखिन्छ ।’
धनकुमार लिम्बूले यो वर्ष सिलाम रोपेनन् । माङसेबुङ ३ मानपुरका धनकुमार अघिल्लो वर्ष रोपेको सिलाम चराले खाइदिएपछि निराश छन् । रैथाने बालीको रूपमा सिलाम खेती गर्दै आएका लिम्बू भन्छन्, घर छेउमा रोप्दा मात्र हुने रहेछ । हामिले त जङ्गल छेउमा रोप्ने गरेका थियौँ सबै चराको लागिमात्र भयो । पाखामा भस्मे डढाएर सिलाम छरिदिने र बाकुलो उम्रेको बिरुवालाई उखेलेर फ्याँक्ने गर्छौ ।झार चाहिँ गोड्नुपर्छ । कतिपय ठाउँमा बीउ राख्ने अनि उखेलेर अर्को ठाउँमा सार्ने चलन पनि छ ।’
सबै प्रकारको सिलामको स्वाद लिएका धन कुमार कालो सिलाम खस्रो र ह्लका तितो हुने र सेतो स्वादिलो हुने अनुभव सुनाउछन ।
६. परिकार जानकारी:
कोरिया, जापान जस्तो देशहरुमा सिलामको पत्तालाई सलादको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ भने नेपालमा पातको प्रयोग कहिकतैमात्र गर्छन । सिलामलाई सुपको रुपमा समेत प्रयोग गर्न सकिन्छ । सिलामबाट तेल उत्पादन भएको भए पनि दुर्गम क्षेत्रमा यस्तो प्रयोगपाइन्दैन । सम्भावनालाई हेर्ने हो भने सिलामबाट कुकिज बनाउन सकिन्छ । माङसेबुङ गाउँपालिकामा उत्पादित सिलामलाई भनेविशेषगरी अचारको रुपमा प्रयोग गर्छन । मम, चपको लागि अचार बनाउन, धुले अचार बनाउन, सलादी अचार, चटपटेहरुमा छोपकोरुपमा, साथै चप, रोटीमा लगाएर पकाउदा यस्तो स्वाद विशेष हुने गर्दछ । मंसिर १५ मा चामलसँग सिलाम खाने हुँदा यस्तो महत्त्व धेरैरहेको छ । खिर पकाउदा सिलाम लगाउने चलन अझै छ ।
७. सिलामको महत्त्व:
सिलाममा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, फलाम, जिङ्क, तामा/कपर, लिपिड, कार्बोहाइड्रेट, प्रोटिन जस्ता तत्व पाइने हुँदा यसको महत्त्व अधिक छ । सिलाम खाँदा शरीरमा कुनै हानी नोक्सानी गर्दैन । बहुउपयोगी सिलामको लागि त्यति धेरै मेहनत गर्नु नपर्ने, बीउ किन्नु नपर्ने, मल किन्नु नपर्ने, विषादी प्रयोग गर्नु नपर्ने र बजार तथा मूल्य राम्रो हुँदा यो खेती सहज पनि छ । यसैगरी सिलामको बोटबाट वस्तु गोठ बार्ने, गोठको छानो लगाउने समेत गरेको पाइन्छ ।
सिलामको बोटले वस्तु गोठ बारेको
८. पालिकाको योगदान:
माङसेबुङ गाउँपालिकाले प्रदेश सरकारबाट रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत आएको कार्यक्रमलाई आर्थिक वर्ष २०८१/८२ मा सिलाम खेतीमा लगानी गरेको थियो । ५० प्रतिशत लागत साझेदारी कार्यक्रमका लागि २ लाख रुपैयाँको विनियोजित गरिएको थियो । पालिकाको वडा नम्बर ६ र ३ मा सञ्चालित कार्यक्रमबाट कृषकहरुले मनग्ये आम्दानी लिएका थिए । तर, पालिकासँग आज पनि सिलाम कति परिमाणमा उत्पादन हुन्छ भन्ने यकिन तथ्यांक भने छैन । माङसेबुङ कृषि विकास शाखाकी कृषि प्राविधिक निरुपा राईले उत्पादन हुने गरेको भए पनि यकिन तथ्यांक नरहेको बताइन् ।
९. बजार सम्भावना:
माङसेबुङ गाउँपालिकाको तल्लो भेग(गर्मी) मा सिलाम उत्पादन नहुने हुँदा धेरै परिमाणमा पालिकामा नै यस्तो खपत हुने गर्दछ । यस्कासाथै झापाको बजारहरुमा यस्को माग उच्च रहेको छ । रेस्टुरेन्ट, होटलहरुमा अचार साथै अन्य परिकारको लागि प्रयोग हुने हुँदा बजार राम्रो छ । अहिले खुलेका अर्गानिक पसलहरुमा स्तरीय प्याकेजिङ गरी बिक्री गर्ने चलन बढ्दो छ । यति मात्र नभई विदेशमा समेत सिलामको माग बढ्दो छ । माङसेबुङ ६ का रत्न राई भन्छन्, छिमेकी जिल्ला पाँचथरको मिक्लाजुङ गाउँपालिकासँग त्यहाँ उत्पादित चामल हामी सिलामसँग साट्ने समेत गर्दछौँ । उहिले चाहिँ मोरङ मधुमल्ला बोकेर लगेर चामल र नुन साटेर ल्याउने चलन थियो ।’ माङसेबुङ २ का अर्का किसान पूर्ण काफ्ले सिलामको लागि घरमै व्यापारी आउने बताउँछन् । पूर्णका अनुसार उत्पादन भएको सिलाम घरमै बिक्ने र मूल्य समेत राम्रै पाउने हुँदा यसको बजार सम्भावना उच्च रहेको छ । पालिकाभित्रै मंसिरपछि सिलाम अभाव हुने गरेको छ ।
छिमेकी जिल्ला झापाको दमकमा क्याफे सञ्चालक रहेका बिमल राईका अनुसार माङसेबुङमा सिलाम खेती र उत्पादन राम्रो हुने भए पनि त्यसले छिमेकी बजारलाई नै धान्न सकेको छैन । हामीलाई क्याफेमा विभिन्न परिकारमा प्रयोग गर्नका लागि वर्ष भरीनै सिलाम चाहिन्छ तर २,४ महिना पछि सिलाम नै सकियो भन्छन किसानहरु । उत्पादन बढाउन सके बजार अभाव छैन ।’
१०. संरक्षणको उपाय:
सिलाम खेती पुरानो र सजिलो भए पनि माङसेबुङमा व्यवसायीक रूपमा भने कमै मात्र यसको खेती हुन्छ । सिलाम फल्ने ठाउँमा प्रत्येक घरमा थोरै थोरै भए पनि खेती त गरिन्छ । तर कतिपय क्षेत्रमा भने बसाइँसराइ तथा कृषिबाट युवा पलायन हुने कारण सिलाम खेती समेत संकटमा पर्दै गरेको छ ।
माङसेबुङ १ का किसान पूर्णकला(खिनमाया) मुखियाका अनुसार सिलामबाट मनग्ये आम्दानी लिने अवस्था बनाउन किसानलाई धेरैभन्दा धेरै सहज किसिमका अनुदान कार्यक्रमहरु दिइनु पर्दछ । पालिकाले विभिन्न रैथाने बाली सम्बन्धि प्रोत्साहन कार्यक्रम ल्याउने साथै एक वडा २ रैथाने बाली कार्यक्रमलाई अगाडि बढाउनु पर्ने अवस्था आएको छ । रैथाने बालीको लागि बीउ बैंकको स्थापना गर्ने, अहिलेमाङसेबुङमा उत्पादित सिलामलाई अझ गुणस्तरीय ब्राण्डिङ गर्ने हो भने सिलाम खेती बढ्दै जान सक्छ,’ पूर्ण कला भन्छिन् ।
सन्दर्भ स्रोत:
सागर जिसी, अनिता गौतम, पीताम्बर श्रेष्ठ (२०७८/७९) जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल(ली–वर्ड)
माङसेबुङ गाउँपालिकाको बेवसाइट ।
कुराकानी:
१. निरुपा राई – नायव प्राविधिक सहायक, कृषि शाखा माङसेबुङ (२०८३/०३/१७)
२. पवित्र राई– कृषक, माङसेबुङ ६ हस्टे (२०८३/०३/१७)
३. रिता राई– कृषक, माङसेबुङ ३ लाक्तापा (२०८३/०३/१६)
४. जित बहादुर थापा– कृषक, माङसेबुङ २ चित्रे (२०८३/०३/१७)
५. प्रणेश राई– कृषक, माङसेबुङ ६ उत्तिसे (२०८३/०३/१७)
६. धन कुमार लिम्बू– कृषक, माङसेबुङ ३ मानपुर (२०८३/०३/१६)
७. रत्न राई– कृषक, माङसेबुङ ६ पञ्चमी (२०८३/०३/१६)
८. खिनमाया मुखिया– कृषक, माङसेबुङ १ (२०८३/०३/१८)











