११ असार, झापा । जिल्ला खेलकुद विकास समिति झापाको अध्यक्षमा शेखर कँडेल मनोनित भएका छन् ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले मातहतका जिल्ला खेलकुद विकास समितिहरूमा लामो समयपछि मनोनित गरेको हो । बिर्तामोड ८ निवासी कँडेल करातेका पूर्व खेलाडी हुन् ।
उनी नेपाल सितोरियो सोबुकान कराते संघका केन्द्रीय सदस्य तथा कोशी प्रदेश अध्यक्ष रहेका छन् । युवा सामाजिक अभियन्ता कँडेल विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेका छन् । उनी साना किसान कृषि सहकारी संस्था गरामनीका अध्यक्ष हुन् ।
बोर्डका सदस्य सचिव विप्लव घोषले बिहीबार १२ जिल्लामा अध्यक्ष नियुक्त गरेसँगै गत चैतदेखि नेतृत्वविहीन बनेका समितिहरूले पूर्णता पाएको छ । सदस्य सचिव नियुक्तिमा भएको ढिलाइका कारण जिल्ला खेलकुद विकास समितिहरू लामो समयदेखि नेतृत्वविहीन थिए।

