भू कुमारी लिम्बू (भुमिका) ।
माङसेबुङ-६ टोड्केमा लगाईएको अदुवा खेती
पश्चिम इलामको माङसेबुङ गाउँपालिकाको हावापानी, भूबनोट र माटो अदुवा खेतीका लागि उपयुक्त मानिन्छ । यसपालिकाका ६ वटा वडाहरूमा ५ नम्बर वडा बाहेक सबै वडाहरूमा परम्परागत किसिमले अदुवा खेती गरिँन्छ । यहाँका अधिकांश किसानले परम्परागत रूपमा अदुवा खेती गर्दै आएका छन् । धेरै सिंचाइ आवश्यक नपर्ने, पहाडी तथा भिरालो जमिनमा पनि खेती गर्न सहज हुने भएकाले पनि प्राय किसानहरु अदुवा खेतीतर्फ आकर्षित हुने गरेका छन् । यहाँ वर्षेनी ५०मेट्रिकटन भन्दा बढी अदुवा उत्पादन हुने गरेको छ ।
माङसेबुङ गाउँपालिका–३ मानपुरकी नमिता राई विगत २० वर्षदेखि अदुवा खेती गर्दै आएकी किसान हुन् । यस वर्ष उनले प्रतिमन ३ हजार रूपैयाँका दरले ८ मन बीउ अदुवा खरिद गरेर रोपेकी छन् ।
उनका अनुसार अदुवा खेतीबाट एकैपटक राम्रो आम्दानी हुने भएकाले यो खेती फाइदाजनक र तुलनात्मक रूपमा सहज छ ।तर पछिल्ला वर्षहरूमा ‘पहेँले रोग’, बोट मर्ने र गानो कुहिने समस्या बढेपछि खेती विस्तार गर्न नसकेको राई बताउँछिन् । गतवर्ष अदुवा खेतीबाट उनले करिब २ लाख रुपैयाँ आम्दानी गरेकी थिइन् । रोग नलाग्ने हो भने यसबाट अझ राम्रो आम्दानी गर्नसकिने उनको विश्वास छ ।
पहेँले रोग लागेपछि बोट सुक्ने र गानोसमेत कुहिने हुन्छ,’ उनी भन्छिन् । रोगको कारण, रोकथामको उपाय वा कुन औषधि प्रयोग गर्ने भन्नेबारे आफूलाई जानकारी नभएको राईको भनाइ छ ।
हालसम्म उनले बीउ (माउ) अदुवा बिक्री गरेकी छैनन् । बजारमा प्रतिमन ४ देखि ५ हजार रुपैयाँसम्म मूल्य रहेको सुनेकी भएपनि बिक्री नगरेको नमिता बताउँछिन् ।
अदुवामा रोग लागेर बाली नष्ट भएका किसानलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउने, रोग पहिचान, औषधिको उपलब्धता तथा रोकथामसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउन सके किसानलाई ठूलो राहत पुग्ने राईको भनाइ छ ।

माङसेबुङ ३ चतुरेका तेजु राईसंग अदुवाखेतीका बारे कुराकारी गर्दै पत्रकार भुमिका फियाक
माङसेबुङ ३ चतुरेका तेजु राईको परिवारले पुस्तौंदेखि अदुवा खेती गर्दै आएको छ । उनले थाहा पाँउदा विगत ४५ वर्षदेखि नै उनको परिवार अदुवा खेतीमा आबद्ध थियो । तर, विगत १५/१६ वर्षदेखिमात्र उनीहरु व्यवसायिक अदुवा खेतीमा लागेका हुन्। यस वर्ष उनले करिब १० रोपनी जग्गामा ५० मन बीउ अदुवा प्रतिमन २५ सय रुपैयाँका दरले खरिद गरी खेती गरेका हुन् ।
राईका अनुसार अहिलेसम्म आफूले अदुवा उत्पादन गर्दा कुनै रोग देखा परेको छैन । अहिलेसम्म मैले रोपेकोमा रोग परेकोछैन, कोहीबाट सुनेको पनि छैन र रोग लागिहाले कसरी रोकथाम गर्ने पनि थाहा छैन,’ राईले भने । उनको परिवारले अदुवाखेतीबाट वार्षिक करिब डेढ लाख रुपैयाँ आम्दानी गर्दै आएको छ । कुनैकुनै वर्ष उत्पादन भएको अदुवा २–३ वर्षसम्म पनि बिक्री हुँदैन,’ दिग्दार मान्दै राईले भने ।
माङसेबुङ २ कै उमाकान्त कार्की विगत ३० वर्षदेखि अदुवा खेती गर्दै आएका किसान हुन् । सुरुमा २–४ मन बीउबाट अदुवाखेती थालेका कार्कीले समयसँगै खेती विस्तार गर्दै लगेको बताउँछन् । तर, खेती विस्तार भए पनि उत्पादन भने घट्दै गएको उनको अनुभव छ ।
पहिले एक मन बीउबाट ५–६ मनसम्म उत्पादन हुन्थ्यो, अहिले त्यही बीउबाट मुस्किलले ३ मनमात्र उत्पादन हुन्छ,’ कार्की भन्छन् । यस वर्ष उमाकान्तले १५ मन अदुवा रोपेका छन् । अदुवा खेतीबाट उनको वार्षिक करिब १ लाख २० हजार रुपैयाँआम्दानी हुने गरेको छ ।
कार्कीका अनुसार अदुवा खेतीमा अहिले विभिन्न समस्या थपिएका छन् । किराले खाने तथा बिरुवा मर्ने समस्या बढ्दै गएकोछ, जसका कारण उत्पादनमा प्रत्यक्ष असर परेको छ । अघिल्लो वर्ष गाउँपालिकाले अदुवा पकेट क्षेत्र कार्यक्रम अन्तर्गक ५ लाख रुपैयाँको साझेदारीमा १ सय ४० रोपनी क्षेत्रमा खेती विस्तार गर्ने योजना अघि सारेको थियो । तर सम्भब नभएकाले सोयोजना कार्यान्वयन हुन नसकेको उनी बताउँछन् ।
कार्कीले उत्पादन गरेको अदुवा मंगलबारे र झापाको धुलाबारी बजारमा बिक्री गर्ने गरेका छन् । उनका अनुसार बजार त पाइन्छ, तर रोग र उत्पादन घट्ने समस्याले किसानलाई बढी सताएको छ ।
उनको सुझाव छ, “पालिकाले अदुवामा लाग्ने रोगको औषधि उपलब्ध गराउने, रोग पहिचान र रोकथामका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरिदिए किसानलाई ठूलो राहत मिल्ने थियो ।”

माङसेबुङ-३ मानपुरमा एक कृषकको बेच्नलाई भर्खरै निकालिएको अदुवाको माउ
माङसेबुङ ६ टोड्केका काजीमान राई पनि विगत १५ वर्षदेखि अदुवा खेती गर्दै आएका कृषक हुन् । स्थिर मूल्य नहुँदा कहिलेधेरै त कहिले थोरै रोप्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । यस वर्ष उनले १५ मन बीउ अदुवा रोपेका छन् भने करिब ६० मनउत्पादन हुने अपेक्षा राखेका छन् ।
मूल्य एकै नहुँदा यति नै आम्दानी हुन्छ भनेर भन्न सकिँदैन, सबै भाउमा भर पर्छ,’ उनी भन्छन् । बीउ अदुवा उनी आफैं खाल्डो खनेप सुरक्षित राख्ने गर्छन् । राम्रो मूल्य पाए व्यवसायिक अदुवा खेतीबाटै जीविका चलाउन सजिलो हुने उनको भनाइ छ ।
राईका अनुसार सरकारले ५० प्रतिशत अनुदान दिए खेती गर्न अझ सहज हुने थियो । साथै बजारीकरणलाई ध्यान दिँदै अदुवाको न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिए किसानलाई ठूलो राहत हुने उनी बताउँछन् ।
टोड्केकी कल्पना राईले पनि परम्परागत रूपमै अदुवा खेती गरेको करिब ४ दशक भयो । वर्षदेखि निरन्तर अदुवा खेती गर्दैआएकी उनले पहिले अदुवा खेतीबाट राम्रो उत्पादन र आम्दानी गरेकी थिइन् । तर, पछिल्ला वर्षहरूमा उत्पादन निरन्तर घट्दैगएपछि कल्पनाले खेतीको क्षेत्रफल पनि क्रमशः घटाउँदै लगेकी छन् ।
पहिले एक मन बीउबाट १०–१२ मनसम्म अदुवा उत्पादन हुन्थ्यो, अहिले मुस्किलले ३ मन मात्र उत्पादन हुन्छ,’ उनी भन्छिन् ।यस वर्ष उनले १२ मन बीउ अदुवामात्र रोपेकी छन् । एउटै जमिनमा वर्षौंसम्म लगातार अदुवा खेती (एकबाली प्रणाली) गर्नु, रोगका कारण बिरुवा मर्नु तथा अन्य बालीमा प्रयोग गरिने विषादीको असरले पनि उत्पादन घटेको हुन सक्ने उनको अनुमान छ ।
विगतमा अदुवाको मूल्य निकै कम हुँदा प्रतिमन ३००, ५०० र ७०० रुपैयाँ सम्ममा बेच्नु परेको कल्पना सम्झिन्छिन् । अहिले उत्पादन घटे पनि बजार मूल्य भने पहिलेभन्दा राम्रो रहेको उनको भनाइ छ ।
राईका अनुसार तीन वर्षअघि गाउँपालिकाको अदुवा पकेट क्षेत्र कार्यक्रमअन्तर्गत २५ जना किसानको समूहले पहिलो वर्ष ६ लाख रुपैयाँ र दोस्रो वर्ष ४ लाख रुपैयाँ साझेदारी अनुदान प्राप्त गरेको थियो । सोही कार्यक्रमअन्तर्गत समूहले करिब ६० मन बीउ अदुवा रोपेको थियो । उत्पादन र बजार मूल्य दुवै अनुकूल रहेकाले त्यस वर्ष उनले करिब साढे ३ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको बताइन् ।
बीउ अदुवा सुरक्षित राख्न उनी खाडल खनेर मसिनो माटोले पुर्ने विधि अपनाउने गर्छिन् । यो उनको पुस्तेनी बीउ भण्डारण विधि हो । उत्पादन वृद्धि गर्न स्थानीय सरकारले माटो परीक्षण (soil test ) गरी माटोको वास्तविक अवस्था पहिचान गर्ने, आवश्यक पोषण व्यवस्थापन गर्ने तथा उत्पादन बढाउन उपयुक्त कार्यक्रम सञ्चालन गरिदिए किसानलाई ठूलो सहयोग पुग्नेकल्पनाको सुझाव छ ।

कृषकसंगै अदुवाबारीमा प्रतिक्रिया लिंदै
माङसेबुङ गाउँपालिका कृषि विकास शाखाकी कृषि प्राविधिक निरूपा राईका अनुसार गाउँपालिकाको कुल खेतीयोग्य जमिनमध्ये करिब २८ प्रतिशत क्षेत्रफल खेतीयोग्य रहेको छ, जसमध्ये करिब १५ प्रतिशत क्षेत्रफलमा अदुवा खेती हुने गरेको छ।
उनका अनुसार गाउँपालिकासँग अदुवा खेतीका लागि छुट्टै वार्षिक बजेट तथा वार्षिक उत्पादनको यकिन तथ्याङ्क उपलब्ध छैन ।किसानलाई नियमित रूपमा बीउ, मल, कृषि उपकरण वितरण तथा अदुवा केन्द्रित तालिम कार्यक्रम पनि सञ्चालन नभएको उनले बताइन् ।
यद्यपि, तीन वर्षअघि ६ नम्बर वडामा अदुवा पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको थियो । त्यस कार्यक्रममा किसानसँगको साझेदारीमा पहिलो वर्ष ६ लाख रुपैयाँ र दोस्रो वर्ष ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यसैगरी आर्थिक वर्ष२०८१/८२ मा २ नम्बर वडा कार्यालय .मार्फत अदुवा खेतीसम्बन्धी किसानलाई तालिम प्रदान गरिएको उनले जानकारी दिइन् ।पछिल्लो समय कृषि शाखामा किसानबाट अदुवाको गानो कुहिने, बिरुवा मर्ने तथा रोगको प्रकोप बढेको भन्ने गुनासाहरू आउने गरेका छन् ।
अदुवा नेपालमा परापूर्वकालदेखि खेती गरिने रैथाने जराबाली हो । यो नगदे बाली पनि हो । परापूर्वकालदेखि नै अदुवालाई औषधिको रूपमा प्रयोग गरिंदै आएको छ भने यसको छुट्टै साँस्कृतिक महत्व रहेका छन् । किराती समुदायले जन्मदेखि मृत्यु सम्मका सांस्कृतिक कर्महरूमा अदुवाको प्रयोग गरिन्छ । राई जातिमा अदुवाको व्यावहारिक वा सांस्कृतिक प्रचलन किरीत समुदायका सृष्टिकर्ताहरू पारुहाङ र सुम्निमाको पालाबाट आएको विश्वास छ । अदुवा पारुहाङको हातको पञ्जाको प्रतीक भएको मान्यता छ ।
यस समुदायमा अदुवाको कछुर काट्ने चलन छ । पितृ पूजा, विवाह, पास्नी, साकेलाजस्ता शुभकार्यमा धामीहरूले अदुवाको कछुर काट्छन् । किरातीहरू प्रकृति पूजक हुन् । उनीहरू प्राकृतिक विपत्ति, दुःख, रोग महामारी आई नलागोस् भनी भूमिको पूजा गर्छन् । कछुरको माध्यमले किरात राई जातिको परिवार तथा समाजमा रोगव्याधि आउने/नआउने, लक्ष्मीले बास बस्ने/नबस्ने, अन्नपानी हुने/नहुने र त्यसरी नै वस्तुुभाउ फैलिने/नफैलिने, आफ्ना पितृहरू खुसी छन्/छैनन् ? यसैमार्फत् अनुमानलगाउने र विश्वास गर्ने गर्दछन् । सांस्कृतिक रूपमा पवित्र वस्तु भएकाले पितृमा चढाइने अदुवालाई करेसाबारीको एकनिश्चित स्थानमा घरका मुलीले रोप्छन् । र, भरसक घरका मुली मान्छेहरूबाहेक अन्यले छुँदैनन् पनि । गैर किरात र बाख्राहरूले छोएको खण्डमा माङ (पितृ) बिटुलो भई घरमा शारीरिक, आर्थिक हानि हुने धार्मिक विश्वास छ ।
विवाहका लागि दुलही माग्न जाँदा, माइतीको चुलाबाट बाहिराउँदा तथा विवाह गरेर गएको घरको चुलामा भित्र्याउँदा अदुवाकैकछुर काटिन्छ । राई समुदायले वैशाखे पूर्णिमाको उभौली साकेला र मंसिरे पूर्णिमाको उधौली साकेलाका बेला तीन चुलामा खानेकुरा, जाँड–रक्सी र अदुवाले पुज्छन् । अदुवा बिना राईहरूको धार्मिक अनुष्ठान र कर्म नै चल्दैन, यसकारण सांस्कृतिक रूपमा यो महत्त्वपूर्ण छ ।
फाइल फोटो -पूजामा प्रयोग भएको अदुवा
त्यस्तै लिम्बू समुदायमा न्वांगी पुजा (नयाँ बाली भित्राउने) गर्दा अनिवार्य रूपमा अदुवा चढाउनुपर्छ भने मृत्यु पश्चात चोखिने बेला पनि अदुवा चाहिन्छ ।थारु जातिमा अदुवा लाई विशेष पर्वसँग जोडेर हेरिन्छ ।
साथै पछिल्लो अवस्थामा यो मानिसको मजबुद आर्थिक जिविको पार्जनको रूपमा पनि जोडिएको छ । पहिले भन्दा मूल्य दरबढी भए पनि अदुवामा लाग्ने विभिन्न रोगका कारण उत्पादनमा दिनानुदिन ह्राष आइरहेको पाइन्छ । मूल्यमा एकरूपता नहुनु साथै उचित बजारीकरणका अभाबले गर्दा किसानहरुमा निराशा छाएको छ ।
अदुवा किसानका समस्यालाई ध्यानमा राखेर उचित किसिमले सम्बोधन गर्न सके अदुवा खेतीको संरक्षण र प्रबर्दन हुँदै किसानहरूको आयआर्जनमा वृद्धि सँगसँगै माङसेबुङ गाउँपालिकालाई अदुवा उत्पादनको प्रमुख क्षेत्रका रूपमा स्थापित गर्न सकिने सम्भावना देखिन्छ । जसले रैथाने बालीको प्रवद्र्धनसँगै अदुवाका विभिन्न नयाँ परिकार अदुवा क्यान्डी, केक, ब्रेड, पाउडर,अचार, जिन्जर टी,अदुवा सिरप, अदुवा कुकी, अदुवा जाम, जेली, चकलेट, आइसक्रिम, जुस र मसला आदी तयार गरेर बिक्रीवितरण गर्न सकिन्छ । जसले स्थानीय अर्थतन्त्रको दरिलो माध्यम बन्ने कुरामा दुई मत छैन ।
अदुवाका प्रयोग तथा महत्वहरू
अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । दम खोकीमा एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर बेस्सरी फिटेर बिहान/बेलुका मनतातो हुने गरी तताएर खाने गरेमा खोकी ठिक हुन्छ ।
चिसोको बाथ र कम्मर दुखेमा आधा चम्चा सूठोको धूलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकता अनुसार नुन वा चिनी हालेर विहान काडा पिउने गरेमा ठिक हुन्छ ।
पेटको ग्यास ठीक गर्न
आधा–चम्चा अदुवाको रसमा हिंग र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या ठीक गर्ने बताइएको छ ।रुघा–खोकी लाग्दाको अवस्थामा २० ग्राम अदुवाको रसमा २ चम्मा मह बिहान–बेलुका लिएमा फाइदा गर्दछ । वात–कफप्रकृतिवालाको लागि अदुवा र पुदीना विशेष लाभदायक हुन्छ ।
हावापानी तथा माटो
अदुवा खेती समुन्द्र सतहदेखी १५०० मिटर उचाई सम्मको क्षेत्रहरुमा सफलताका साथ गर्न सकिन्छ । न्यानो तथा आद्रता भएको जलवायु अदुवा उत्पादनको लागि अनुकुल मानिन्छ । २०–३० डिग्री तापक्रमसम्म राम्ररी खेती हुने यसबाली १५ डिग्रीभन्दा कम तापक्रम भएको स्थानमाअदुवा बड्न सक्दैन । लामो समय सम्म ३० डिग्री भन्दा बढी हुने स्थानमा पनि अदुवाको व्यवसायिक खेती गर्न मिल्दैन । रोप्ने समयदेखि गानो टुसाउने बेलासम्म हल्का वर्षा हुने, बाली अवधिमा धेरै तर राम्रोसँग बितरित वर्षा हुने ठाउँमा अदुवाको सफल खेती गर्न सकिन्छ । प्राङ्गारिक पदार्थ प्रसस्त भएको र पानीको राम्रो निकास भएको माटो अदुवा खेतीको लागि उपयुक्त मानिएको छ । दोमट किसिमको माटो सबैभन्दा उत्तम हुन्छ ।
जमिनको तयारी
अदुवा लगाउने जमिनलाई ३–४ पटक जोतेर, ढुङ्गा र झारपात हटाई डल्ला फुटाई माटोलाई मसिनो पार्नुपर्छ । राम्ररी पाकेको कम्पोस्ट मल जमिन तयारी गर्दा नै माटोमा मिलाउनु पर्छ । तयार गरिएको जमिनमा लाईन बिचको दुरी ३० सेमी तथा बोटबिचको दुरी ३० सेमी कायम गरी २–४ ईन्च गहिरो गरी गानोहरु रोप्नुपर्दछ । पानीको निकास राम्रो नभएको ठाउँमा १५ सेमी अग्लोर १.२ मिटर चौडाइ र आवश्यक्ता अनुसारको लम्बाईको ढ्याङ बनाइ बिउ गानो रोप्नु रोप्नुपर्छ । यसरी रोप्दा प्रत्यक ड्याङबिच कारीब १ हात फराकिलो कुलेसो बनाउनमका साथै अदुवालाई राम्ररी गोडमेल पनि गर्न सकिन्छ ।
भण्डारण
अदुवा खनिसकेपछि उपभोक्ताको अन्तिम प्रयोग अवधिसम्म उचित ढुवानी व्यवस्था, उचित सरसफाई, उचित भण्डारणकोअभावमा ५ देखि १० प्रतिशतसम्म अदुवा सुकेर वा कुहिएर नोक्सान हुने गरेको छ । तसर्थ अदुवा उत्पादनलाई जति ध्यान दिईएको हुन्छ त्यो भन्दा बढी त्यसको भण्डारण लाई ध्यान दिनु पर्ने हुन्छ । एक ठाउँबाट अर्को ठाउँमा काँचो अदुवा ढुवानी गर्दा गानोहरूमा चोटपटक नलाग्ने गरी प्याकिङ ब्यबस्था मिलाउनु पर्दछ । अदुवा खनेपछि कुल उत्पादनबाट रोगकिरा नलागेको, ठूला आकारका छिप्पीएका गानाहरु बीउ प्रयोजनका लागी छुट्याउनु पर्दछ ।
बीउ अदुवा भण्डारण
अदुवा भण्डारणको प्रमुख समस्या नै गानो कुहिने रोग हो । अदुवा खन्ने वित्तिकै निरोगी र उच्च गुणस्तरका गानोहरु छानेर बीउअदुवाको लागि राखिएको हुनु पर्दछ । तसर्थ भण्डारण गर्ने बेलामा पनि उपयुक्त भण्डारण बिधि अपनाउनु पर्ने हुन्छ ।अदुवालाई १२ देखि १४ डिग्री सेल्सीयस तापक्रम र ६५ देखि ७५ प्रतिशत सापेक्षिक आद्रता मिलाउन सकिने कोठामा सजिलैसँग ५ देखि ६ महिनासम्म भण्डारण गर्न सकिन्छ । परम्परागत खाल्टोमा गरीने भण्डारणलाई केही सुधार गरी स्वस्थ बीउ भण्डारणका लागी आर्थिक दृष्टिकोणले पनि उपयुक्त मानिन्छ । एक घन मिटरको खाडलमा ३५० किलो गाना भण्डारण गर्नसकिन्छ । खाडल बनाउदा पानी नजम्ने र छायाँ भएको ठाउँ रोज्नु पर्दछ ।
भण्डारण प्रक्रिया
खाडलको पिंधमा धानको भुस, काठको धुलो, बाबियो वा पराल ३/४ से.मी. बाक्लो हुने गरी बिच्छाउने भण्डारण गर्नु पर्ने बीउगानोहरुले खाडल भर्ने । खाडलमा अदुवा राख्दा गानोहरुको प्रत्येक तहको बिचमा काठको धुलो वा धानको भुसको कमसेकम१ ईन्च बाक्लो तह राख्नु पर्दछ । खाडल माथी प्वालहरु भएको काठको फल्याकहरुले ढाक्ने । अदुवाको गानो जीवित बस्तुभएकोले यसलाई स्वास फेर्न हावा आवश्यक हुन्छ । तसर्थ आवस्यक हावा उपलब्ध गराउन फल्याकको बीचमा हावा जाने प्वालहरू छोड्नु पर्दछ ।

