‘राती कुचो लगाउनु हुन्न है ।’ बाबुबाजेले यसरी सर्तक गराउँदा हामी ठान्छौं, बुढाको आडम्बरी कुरा । उहाँहरु सर्तक गराउनुहुन्छ, ‘फुटेको ऐना हेर्नु हुँदैन ।’ हामी यस्ता भनाईमा ढोंग वा अन्धविश्वास देख्छौं । ‘सन्को भाँच्दै बस्नु हुँदैन’ बुढाहरुले सजग गराउँदा हामी त्यसलाई कतिपनि पत्याउँदैनौ ।
तर, हाम्रा पितापूर्खाको मनगडन्ते कुरा हुन् यी ? अन्धविश्वास हुन् ? आडम्बर हुन् ?
सोचौं त, किन उनीहरुले यसो भने होलान् । विज्ञान र प्रविधिको युगमा बाँचिरहेका हामीलाई बुढाहरुको यस्तो कुरा वाहियात लाग्छ । हामी ठान्छौं, ‘बुढाहरुलाई केही थाहा छैन । अन्धविश्वासका कुरा गर्छन् ।’ यद्यपी हामीले कहिल्यै मनन गरेका छौं ? उनीहरुले किन यसो भने । यसको पछाडि केही कारण पो होला कि ?
वास्तवमा हाम्रा पिता पूर्खाले जुन प्रचलन स्थापित गर्न खोजे, त्यसको पछाडि ढोंग वा भ्रम छैन । बरु वैज्ञानिक कारण छ । उनीहरुले त्यसै यस्ता कुराहरु भनेनन्, जो हाम्रो व्यवहारिक जीवनका लागि उपयोगी छैन ।
-रुढिवादी होइन, वैज्ञानिक
हाम्रो समाजमा त्यस्ता धेरै धार्मिक मान्यता प्रचलित छन्, जसपछाडिको मूल कारण धर्मभन्दा बाहिरको छ तापनि तिनलाई समाजले धर्मकै नाममा स्थापित वा प्रचलित गरेको छ । देश, काल एवं परिस्थितिगत व्यवस्था तथा सामाजिक कल्याणका उद्देश्यले प्रचलित त्यस्ता मान्यतालाई आजको सन्दर्भमा वैज्ञानिकताको कसौटीमा राखेर हेर्नु आवश्यक छ ।
आजको तार्किक पुस्तालाई धर्मप्रति विश्वास जगाउन तथा पुराना चालचलन जति सबै रुढिवादी हुन् र ती त्याज्य छन् भन्ने भ्रम हटाएर व्यक्तिगत एवं सामाजिक कल्याणको माध्यम बनाउनु आवश्यक छ ।
यहाँ त्यस्ता केही सामाजिक मान्यताहरुको चर्चा गरिएको छ जसलाई स्थापना त धर्मको नाममा गरियो तर तीमध्ये अधिकांशको मूल उद्देश्य सामाजिक कल्याण नै थियो । यसैगरी कतिपय मान्यता पौराणिक आदर्शको अनुकरणका कारण समेत भएको पाइन्छ ।
साँझमा नबढार्नु, सिसा फुट्नु, फुटेको ऐना नहर्नु, सुन हराउनु, गर्भवती महिलाले खोलो तर्नु, दैलोमा नबस्नु, गोडा खापेर नबस्नु आदि कुराका पछाडि यही रहस्यले काम गरेको छ । हेरौँ केही मान्यता र ती पछाडिको कारण:
-राती किन नबढार्नु ?
साँझ तथा रातको समयमा कुचो लगाउनु अशुभ मानिन्छ । आजसम्म पनि कतिपय घरमा यो प्रचलनलाई दृढतापूर्वक पालन गरिन्छ । यसपछाडिको धार्मिक मान्यता के छ भने राति कुचो लगाउँदा लक्ष्मी अर्थात् सम्पन्नताबाट टाढा भइन्छ । यसको वैज्ञानिक एवं व्यावहारिक पक्ष केलाउँदा के अनुमान लगाउन सकिन्छ भने प्राचीन समयमा बिजुली बत्तीको व्यवस्था थिएन । टुकी, दियालो, लालटिन आदि बाल्दा अहिलेको जस्तो पर्याप्त उज्यालो आउँदैनथ्यो ।
मधुरो प्रकाशमा बढार्दा यदाकदा घरबाट महत्वपूर्ण वस्तु हराउने सम्भावना रहन्थ्यो । फोहोरसँगै मूल्यवान् सामान हराउनसक्ने सम्भावनामाथि विचार गरी बढार्न नै रोक लगाइयो । मूल्यवान् वस्तु लक्ष्मी अर्थात् सम्पन्नता प्रदान गर्ने वस्तु भएकाले राती बढार्दा लक्ष्मीले छाड्छिन् भनेर धार्मिकताको जलप लगाई बढार्न रोक लगाइयो ।
-सिसा फुट्नु
सिसा फुट्नुलाई पनि अशुभ मानिन्छ । यसका पछाडि लुकेको वास्तविक कारण केलाउँदा के देखिन्छ भने यो मानिसको कुशलतासँग जोडिएको छ ।
सिसा फुटेर भुइँमा छरिएपछि त्यसका मसिना कण जतिसुकै सफा गरे पनि भुइँमै टाँसिएर रहनसक्छन् । यसबाट परिवार तथा आगन्तुक व्यक्तिलाई त्यो कण बिझ्ने डर भइरहन्छ । खासमा पहिलेका घरहरुमा अहिलेको जस्तो ढलान, टायल, मार्बल आदिको चलन थिएन, भुइँमा माटो अथवा गोबरले लिपिएको हुन्थ्यो जसमा सिसाका कण सजिलैसँग टाँसिएर रहनसक्थे ।
त्यसले ठूलै समस्या निम्त्याउनसक्ने भएकाले धर्मको डर देखाएर सिसा फुट्यो भने अलच्छिन लाग्छ भन्दै मानिसलाई सचेत तुल्याउने काम गरिएको देखिन्छ । तसर्थ मानिसहरु सावधान रहून् र चोटपटक लाग्नबाट जोगियून् भन्ने मान्यताका साथ यसलाई अशुभ मानिएको हो भन्न सकिन्छ ।
-सुन हराउनु
हाम्रो समाजमा सुन हराउनुलाई आज पनि अत्यन्त अशुभ मानिन्छ । सुनमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता छ, तसर्थ सुन हराएपछि लक्ष्मीले छाडेर जान्छिन् भनेर विश्वास गरिन्छ । वास्तवमा सुन सर्वकालीन बहुमूल्य धातु हो ।
यो आकर्षक धातु मात्र नभई सम्पन्नताको प्रतीक समेत हो । आर्थिक संकट परेका बेला सुनलाई प्रयोगमा ल्याएर संकट निवारण गर्न सकिन्छ । पैसाको आखिरी परेका समयमा सुन छ भने सजिलै बन्धकी राखेर पैसा निकाल्न सकिन्छ ।
यस्तो बहुमूल्य धातु हराउनु निश्चय पनि ठूलो आर्थिक हानि हो । यही तथ्यलाई दृष्टिगत गरी सुनलाई संरक्षित गर्ने उद्देश्यका साथ सुन हराउनु अशुभ हुन्छ भन्ने धार्मिक मान्यताको विकास गराएको बुझिन्छ ।
-जुठोसुतक
धार्मिक मान्यताको कुरा गर्दा जुठोसुतकलाई भुल्न मिल्दैन । घरमा कसैको मृत्यु हुँदा जुठो तथा जन्म हुँदा सुतक बार्ने प्रचलन छ । जुठोसुतक बार्नुका पछाडि विशेष रुपले स्वच्छता एवं संक्रमणबाट जोगिने उद्देश्य रहेको पाइन्छ ।
-गर्भवतीले नदी पार गर्नु
गर्भवतीले नदी पार गर्नु अशुभ मानिएको छ । यसका पछाडि सुरक्षा चासो जोडिएको पाइन्छ । प्राचीन समयमा साँघु, पुल आदिको व्यवस्था थिएन तसर्थ उतिबेला हिँडेर, पौडेर वा डुंगा आदिमा बसेर नदी पार गर्नुपर्ने हुन्थ्यो जसबाट दुर्घटनामा पर्ने सम्भावना पनि बढी हुन्थ्यो । महिलाका लागि संवेलनशील यो अवस्थामा जोखिम मोल्दा आमा तथा शिशु दुवैको ज्यान खतरामा पथ्र्यो । त्यसबाट जोगिन वा गर्भवतीको सुरक्षालाई दृष्टिगत गरी गर्भवतीले खोला तर्नुहुँदैन भन्ने धार्मिक मान्यता स्थापित गरिएको पाइन्छ ।
-दैलोमा बस्नु
घरको दैलो वा ढोकाको संघारमा बस्नुलाई अशुभ मानिन्छ । यसो गर्नाले आयु क्षीण हुन्छ भनिन्छ । यसका पछाडि अन्य ठोस कारण भन्दा पनि पौराणिक मिथकलाई आधार बनाइएको पाइन्छ । भगवान् विष्णुले नृसिंह अवतार लिई हिरण्यकशिपुको वध गर्दा उसलाई दैलोमा राखेर काखमा लिई नंग्राले छाती चिरेर मारिएको थियो । यसैलाई आधार बनाएर दैलोमा बस्नु हुँदैन भनिएको देखिन्छ ।
-उपरखुट्टी लगाएर सुत्नु
उपरखुट्टी लगाएर सुत्दा पनि आयु क्षीण हुने सामाजिक मान्यता छ । यसका पछाडि पनि पौराणिक सन्दर्भ गाँसिएको देखिन्छ । कथाअनुसार भगवान् कृष्णको गोडामा मणि थियो जुन सदैव चम्किरहन्थ्यो । एक दिन कृष्ण जंगलछेउको चौरमा उपरखुट्टी लगाएर सुतिरहेका बेला सिकार खेल्न आएको व्याधाले टाढाबाट देख्यो ।
उसले चम्किरहेको वस्तु हरिणको आँखा होला भन्ने ठानेर निशाना साध्यो । व्याधाले हानेको वाण आएर कृष्णको गोडा छेड्यो । यसैलाई कारण बनाएर कृष्ण गोलोकधाम गए । यसैलाई आधार बनाएर के भन्न थालियो भने उपरखुट्टी लगाएर सुत्यो भने आयु घट्छ ।