२६ असार, पोखरा ।
निरन्तरको वर्षासँगै पोखरामा गएको पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ ।
पोखरा महानगरपालिका–२७ सहेलापाटामा पहिरोले घर नै पुरिँदा २२ वर्षीय भीमबहादुर थापाको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।
घटनास्थलबाट ५० वर्षीया कमला थापालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
मनबहादुर थापाको ब्लकले बनेको घर बुधबार बिहान पहिरो पुरिँदा उनका छोरा भीमबहादुरको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली, स्थानीयवासी, सशस्त्र प्रहरीको २४ नं गणबाट परिचालित सुरक्षाकर्मीसमेतको प्रयासमा उद्धार कार्य भएको प्रहरीले जनाएको छ ।
पोखरामा मंगलबार साँझदेखि नै निरन्तर वर्षा भइरहेको बताइएको छ ।