२६ असार, काठमाण्डौ ।
राष्ट्रसेवक कर्मचारीबीच मर्यादाक्रमअनुसार समान तलबमान कायम गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । अदालतको आदेश आउँदो आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि नै लागू गरिनुपर्ने फैसला भएको हो ।
आउँदो साउन १ बाटै कर्मचारीबीच तलबमान समायोजन गर्नुपर्ने भएको छ । सर्वोच्चले समान मर्यादाक्रममा रहेका तर अन्य सरकारी सेवाको भन्दा कम सुरु तलब रहेको कर्मचारीको तलब समायोजन गर्न असार १० गते परमादेश नै जरी गरेको थियो ।
सर्वोच्चको परमादेशमा भनिएको छ –‘कर्मचारीको मनोबल उच्च राख्न नसकेको तथा थप अनिश्चितता सिर्जना भएकाले आगामी आव २०८१/८२ को सुरुबाट नै सुरु तलबमान आवश्यक समायोजन गरी विभेद र असमानता सम्बोधन हुनुपर्ने नै देखिन्छ ।’
आदेश अनुसार निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीको सुरु तलबमान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवामा रहेका कर्मचारीसरह हुने छ ।
अहिले समान मर्यादाक्रममा अघि रहेका निजामती सेवाका सहसचिव र सोसरहका अन्य पदमा रहेका कर्मचारीभन्दा मर्यादाक्रममा पछि रहेका सुरक्षा निकायका अधिकारीको पारिश्रमिक बढी छ । सहसचिव मर्यादाक्रमको १६ औँ स्थानमा छन् । सहसचिवको सुरु तलब ५६ हजार सात सय ८७ छ तर १७ औँ नम्बरमा रहेका सहायक रथी, प्रहरी नायब महानिरीक्षकलगायतको पारिश्रमिक ६० हजार नौ सय ५० रहेको छ । आदेश अनुसार अब पारिश्रमिक पुनरवलोकन हुने भएको हो ।
यस्तै, समान मर्यादाक्रममा रहेका निजामती सेवा उपसचिव वा सोसरहका कर्मचारी र प्रमुख सेनानी र प्रहरी उपरीक्षकको तलब फरक छ । उपसचिवको सुरु तलबमान ४८ हजार सात सय ३७ छ भने सुरक्षा निकायमा ५२ हजार दुई सय ७९ रहेको छ ।
निजमती सेवाका शाखा अधिकृत वा सोसरहका अन्य कर्मचारीको सुरु तलबमान ४३ हजार छ सय ८९ रहेको छ । तर, मर्यादाक्रममा शाखा अधिकृत भन्दा पछि रहेका नेपाली सेनाका उपसेनानीको तलब ४५ हजार एक सय तीन रूपैयाँ छ । सुरक्षा निकायतर्फ पनि प्रहरी निरीक्षकको तलबमान भने निजामतीसरह छ ।