विराटनगर–नेपाली कांग्रेसका संसदीय दलका नेता विजयकुमार गच्छदारले कांग्रेससँगको एकता भंग नहुने स्पष्ट पारेका छन् । एकता भंग हुने अभिव्यक्ति आफूबाट नआएको उनले जिकिर गरे । “मैले कांग्रेससँगको पार्टी एकीकरण भंग गर्ने कुरै गरेको छैन, मिडियाहरूले त्यतिकै उचालेका मात्रै हुन्,” विराटनगरमा सञ्चारकर्मीसँग आइतबार कुरा गर्दै गच्छदारले भने, “एकताको समयमा भएका सहमति कार्यान्वयन हुनुपर्छ मात्रै भनेको हुँ ।”
एकीकरण भएको ९ महिना बितिसक्दा पनि सहमति कार्यान्वयन नभएकोमा असन्तुष्टिमात्रै पोखेको उनले बताए । एकीकरणपछि आफ्ना नेता कार्यकर्ताको बिचल्ली भएको उनले बताए । गच्छदारले तत्काल नेता कार्यकर्ताको व्यवस्थापन गर्न नेतृत्वलाई आग्रहसमेत गरे ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न सरकारले उदासिनता देखाएको आरोप लगाए । सरकार माग सम्बोधन गर्नेतर्फ गम्भीर नभएको उनको भनाइ थियो । उनले पूर्ववर्ती सरकारले गरेको सहमति पछिल्लो सरकारले तोड्दै जाने हो भने राज्य सञ्चालनमा समस्या आउने बताए । “गोविन्द केसीसँग गरिएको सहमतिअनुसारको अध्याधेश वा कानुन ल्याएर तत्काल समस्या समाधान गर्नुपर्छ,” उनले भने ।