दमक, ९ साउन ।
अनसनरत डाक्टर गोबिन्द केसी र सरकारी वार्ता टोली वीच जारी वार्तालाई परिमाणमुखी बनाउन माग राख्दै झापाको दमकमा स्वतन्त्र युवा अभियानले आजदेखि रिले अनसन शुरु गरेका छन् ।
स्थानीय गणतन्त्र चौंकमा भेला भएर विहानैदेखि अनिश्चकालीन रिले अनसन शुरु गरिएको अभियानका संयोजक मोहन ढुंगानाले जानकारी दिए । उनले सरकार र डा. केसीका प्रतिनिधिबीच वार्ता सुरु भएको र त्यसलाई सकारात्मक दबाव दिनका लागि रिले अनसन थालिएको बताए । वार्तालाई निष्कर्षमा पुर्याँउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन रिले अनसन थालिएको ढुंगानाले जनाए ।
अभियानका संयोजक ढुंगानाका अनुसार गत असार २६ दिनदेखि लगातार आमरण अनसनरत डा. केसीको माग सम्बोधन गराउन र उनको जीवन रक्षाको लागि रिले अनसन थालिएको हो । आज बुधबार बिहान ८ बजेबाट सुरु भएको अनसनमा विहान ८–११, ११–२, २–५ बजेसम्म दैनिक पालो गरेर अनसन जारी राखिने छ । रिले अनसनको शुरुवातमा दमकका चिकित्सकहरु डा. सूर्यनारायण शाह, डा. बिपि कर्ण, डा. निरान्जनसिंह बोगटी, स्थानीय सामाजिक अगुवाहरुको सहभागिता छ ।
गत असार २७ गतेबाट सो अभियानको अगुवाइमा दमकमा डा. केसीको माग सम्बोधन गराउन विभिन्न दबावमूलक कार्यक्रम गर्दै आएका छन् ।