सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइ बापतको रकम उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सरसफाइ गरेवापत धुर्मस-सुन्तली फाउण्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
गत साउन ११ गते बसेको मन्त्रिपरिषद्को वैठकले धुर्मुस- सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइ गरेवापतको रकम उपलब्ध गराउन निर्णय दिएपछि मन्त्रालयले उक्त रकम उपलब्ध गराउन वीरलाई निर्देशनसमेत दिएको छ ।
‘वीर अस्पतालको सरसफाइ गर्ने क्रममा धुर्मुस -सुन्तली फाण्डेशनलाई रकम अभाव भएपछि स्वास्थ्य मन्त्रालयले उक्त रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । जस अनुसार कुल एक करोड नौ लाख रुपैयाँ खर्च भएकोमा मन्त्रालयले हाललाई ६९ लाख ८६ हजार रुपैयाँ दिने निर्णय गरेको हो’, स्वास्थ्य मन्त्रालय, निति, योजना तथा कार्यान्वयन महाशाखा प्रमुख डा. विकास देवकोटाले भने ।
मन्त्रालयसँग उक्त रकम नभएका कारण हाललाई मन्त्रालयले वीर अस्पतालमार्फत नै उक्त रकम लिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।
वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले भने मन्त्रालयबाट पठाएको पत्रबारे जानकारी नभएको बताए । उनले भने- ‘त्यो पत्र आएको भन्नेबारे मलाई जानकारी भएन । यदि आएको रहेछ भने बसेर चर्चा गरौला ।’