मंसिर,१९ ।। किरात राई समुदायबाट प्रथम महिला पाइलट बनेकी साहारा चाम्लिङले मंगलबारदेखि व्यवसायिक उडान सुरु गरेकी छन् ।
उदयपुर जिल्लास्थित लिम्चुम्बुङ गाउँपालिका–४ बलम्ता स्थायी घर भएकी चाम्लिङले यति एयरलाइन्सको जहाज उडाउन थालेकी हुन् ।

मंगलबार उनले पहिलोपटक नेपालगञ्ज–भैरहवा दुई सिफ्ट उडान गरेकी छन् । साहाराले फिलिपिन्सबाट तीन वर्षसम्म पाइलटको ट्रेनिङ लिएकी छन् ।
उनी समाजसेवी ज्ञान राईकी छोरी हुन् । ज्ञान राई किरात राई यायोक्खाका उपाध्यक्ष समेत हुन् । सामाजिक कार्यमा क्रियाशील रहँदै राईले आफ्नो छोरीको सपना पुरा भएकोमा खुसी व्यक्त गरे ।
‘छोरीले आजदेखि जहाज उडाउन थालेकी छन्,’ मंगलबार साँझ मोबाइल फोनमा उनले भने- ‘दुई सिफ्ट उडान भरेर भर्खर मात्रै घरमा आइपुगेकी छन् ।’
सामाजिक कार्यको सिलसिलामा उदयपुर–काठमाडौं गरिरहने ज्ञान राई परिवार काठमाडौंको अनामनगरस्थित घट्टेकुलोमा बसोबास गर्छन् ।
छोरीले व्यवसायिक उडान सुरु गरेको पहिलो दिन उनले पाइलट छोरीसँग तस्बिर लिएर हामीलाई समेत पठाएका छन् ।

