adv

चर्च ब्वाइज युनाइटेड अन्तिम चारमा

भूमिका सुब्बा, बिर्तामोड, २१ कार्तिक ।
टाइब्रेकरमा ४–२ को नतिजा निकाल्दै चर्च ब्वाइज युनाइटेड क्लब झापाको बिर्तामोड जारी हाम्रो पुर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ८० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि सोझै टाईब्रेकरमा गएको थियो । टाइब्रेकरमा चर्च ब्वाइज युनाइटेडले ४–२ को नतिजा निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । सेमिफाइनलमा चर्च ब्वाइजको भेट नेपाल पुलिस क्लबसँग हुने छ ।

टाइब्रेकरमा गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटवलका बुद्ध चेम्जोङ र मनोज श्रेष्ठको प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक बिनय श्रेष्ठले बिफल पारिदिएका थिए । गोर्खा ब्वाइजका दिपक राई र रुपेश केसीले मात्र गोल गर्न सकेका थिए । चर्च ब्वाइजका उमेश राई, पाल्साङ लामा, राजेन्द्र रावल र कैलास बस्नेतले गोल गरेका थिए ।

यसअघि भएको खेलमा १–१ गोलको बराबरी भएको थियो । खेलको ६१ औं मिनेटमा चर्च ब्वाइजका सन्तोष न्यौपानेले एलन मगरले मैदानको मध्यभागमा मिलाईदिएको पासलाई सिंगल खेल्दै गोर्खा ब्वाइज बिरुद्ध गोल गरेका थिए । चर्च ब्वाइजको अग्रता २ मिनेटपनि टिक्न सकेन । खेलको ६३ औ मिनेटमा दिपक राईको फ्रि किकलाई बिशाल राईले डि बक्समा मिलाईदिएको पासलाई रुमेश बाँस्तोलाले गोल गर्दै टिमलाई बराबरीमा पुर्याए ।

खेल अवधिभर चर्च ब्वाइजले गोर्खा ब्वाइजमाथी दवाव कायम गर्न सकेको थियो । खेलमा धेरै अवसर पाएपनि चर्च ब्वाइजका खेलाडीले स्कोर गर्न नसक्दा नतिजाको लागि टाएब्रेकरको सहारा लिनुपरेको थियो । खेलको ३० औं मिनेटमा चर्च ब्वाइजका कैलास बस्नेतले डि एरिया बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई गोर्खा ब्वाइजका गोलरक्षक सोजित गुरुङले पञ्च गरेर जोगाए । ३६ औं मिनेटमा सन्तोष न्यौपानेको हेडर आकाशियो ।

५४ औ मिनेटमा सुनिल खड्काले खाली पोष्टमा गोल गर्न सकेनन् । ५६ औं मिनेटमा पाल्साङ लामाको वान भर्सेस वान प्रहार गोर्खा ब्वाइजका गोलरक्षकले मुस्किलले जोगाए । ६७ औ मिनेटमा कप्तान समेत रहेका चर्च ब्वाइजका स्कोरर सन्तोष न्यौपानेले स्कोर दोब्बर गर्ने अवसर खेर फालेका थिए । उनको प्रहार बिपक्षी गोलरक्षक सोजित गुरुङलाई ठोक्किदै फर्कियो ।

अनुभवी र चर्चित खेलाडीलाई मैदानमा उतारेको गोर्खा ब्वाइजले निरन्तर चर्च ब्वाइजको दवावको सामना गरेको थियो । गोर्खा ब्वाइजका खेलाडीहरु दिपक राई, बुद्ध चेम्जोङ, बिजय धिमाल, बिशाल राई, रुपेश केसी जस्ता चर्चित अनुहारहरु चल्न नसक्दा क्वाटरफाइनलबाटै घर फर्किएको छ । गोर्खा ब्वाइलका लागि दिपक राईले ३२ औ मिनेटमा बिपक्षी पोष्टमा गरेको प्रहार पोष्टमा लागेर फर्किएको थियो । खेल अवधिभर यो बाहेक गोर्खा ब्वाइजले बिपक्षी पोष्टमा कुनै धावा बोल्न सकेन ।

खेलको म्यान अफ द म्याच टाइब्रेकरमा २ वटा बिपक्षी आक्रमण बचाउ गर्ने चर्च ब्वाइजका गोलरक्षक बिनय श्रेष्ठ घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । यो सँगै प्रतियोगितामा क्वाटरफाइनल संस्करणका खेल समाप्त भएका छन । शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र सिक्किम आक्रामकबीच प्रतिष्पर्धा हुने आयोजक समितिका महेन्द्र पाण्डेले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु