विराटनगर २७, कार्तिक ।
मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा मोरङको धनपालथान गाँउपालिकामा समाजवादी फोरम र नेपाली काँग्रेसले चुनावी एकता गरेका छन् । धनपालथान गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार नारायणप्रसाद साहलाई समाजवादी फोरमले समर्थन गरेको छ । यस अघि भएको निर्वाचनमा तत्कालिन एमालेबाट निर्वाचित वडाध्यक्ष बलराम भगतको सर्पको टोकाईबाट २०७५ जेष्ठ २४ गते निधन भएकोको थियो ।

बुधबार विराटनगरमा दुवै पार्टीले गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेस र समाजवादी लोकतन्त्रमा विश्वास गर्ने भएकाले दुई पार्टीविच चुनावी एकता गरिएको समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादवले बताए ।
स्थानिय तहदेखि नै चुनावी एकता गरेर निर्वाचन लडेको भए स्थिती राम्रो हुने उनले बताए । समाजवादी विचार र मधेसको आन्दोलनलाई नेपाली काँग्रेसले बुझ्न तयार भएकाले लोकतन्त्रवादी एक भएर चुनावी एकताको सुरुवात मोरङबाट गरीएको यादवको भनाई छ ।
नेपाली काँग्रेसका सभापति डिक बहादुर लिम्बुले मधेसको आन्दोलनलाई भोट बैंकका लागि प्रयोग गरेको हो कि, नेपाली काँग्रेसले बुझन नसकेको हो ? भन्दै हिजो भएका कमी कमजोरीहरुलाई आगामी दिनमा सच्याएर लैजाने बताए । उप निर्वाचनमा उक्त गाउँपालिकामा ४ हजार ७४ जना मतदाता रहेका छन् ।

