adv

मातृभाषा, संस्कार, संस्कृति बारे ज्ञान दिने काम गरिरहेका छाैं – आङबुहाङ

लिम्बू विद्यार्थी मञ्चको ९औं राष्ट्रिय अधिवेशन २०७६ साल असोज १२, १३ र १४ गते ताप्लेजुङको फुङलिनमा सम्पन्न भएको थियो । सो अधिवेशनबाट निर्वाचित महासचिव गुल्सन आङबुहाङसँग लिम्बू विद्यार्थी मञ्चका पछिल्ला गतिविधि र पेचिलो बन्दै गरेको मातृभाषा शिक्षा पठनपाठन लगायत विषयमा केन्द्रित रहेर हरप्रहर न्यूजले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

१, लिम्बू विद्यार्थी मञ्च कस्तो संस्था हो ?

सेवारो । लिम्बू विद्यार्थी मञ्च विशुद्ध जातीय समाजिक संस्था हो । यो गैरराजनीतिक नाफारहित लाखौं लिम्बू विद्यार्थीहरुको गौरवशाली साझा संस्था पनि हो । यसले लिम्बू विद्यार्थीहरुलाई संगठित गर्ने, सामुदायिक एकतामा बाँध्ने, सामाजिक–राजनीतिक–साँस्कृतिक पक्षमा चेतनाको विकास गराउने, क्षमता अभिवृद्धि गराउने र समुदायको सरोकारका विषयहरुलाई उजागर गर्ने, अधिकार प्राप्ति र मातृभाषा, संस्कार, संस्कृति बारे ज्ञान दिने काम गरिरहेको छ ।

२, फाल्गुनन्द गाउँपालिकामा भर्खरै लिम्बू मातृभाषा शिक्षालाई लिएर आन्दोल भयो । त्यहाँ अबरुद्ध मातृभाषा शिक्षालाई पुनः सञ्चालनको निम्ति लिम्बू विद्यार्थी मञ्चको भूमिका कस्तो रहन्छ ?

विशेष गरेर यो एउटा गौरवको कुरा हो । जहाँ संविधानले दिएको अधिकार प्रयोग गर्दै फाल्गुनन्द गाउँपालिकाले शिक्षा नियमावली २०७४ निर्माण गरि स्थानीय सरकारको अनुदानबाट लिम्बू मातृभाषाको लागि पठनपाठन सुरु गरियो । जुन एउटा उदाहरणीय, उत्प्रेरणामूलक र गौरवपूर्ण कार्य भएको थियो । लिम्बू भाषासँगै राई, तामाङ र अंग्रजी भाषालाई एक साथ फाल्गुनन्द गाउँपालिकाले अनुदानबाट प्रयोगमा ल्याएको देखिन्छ । तर आज आएर विभिन्न बहानामा सामान्य र नितान्त प्राविधिक समस्यालाई लिएर त्यस क्षेत्रका एक जना ब्याक्तिले उच्च अदालतमा मुद्दा लाए पश्चात् सम्मानित अदालतको परमादेश अनुसार अङ्ग्रेजी बाहेक सबै मातृभाषाको पठनपाठन स्थगित भएको अवस्था छ । यसरी हेर्दा यो एउटा नियतपूर्ण मातृभाषालाई अन्त्य गर्ने प्रयास भएको देखिन्छ । यसले सिङ्गो मातृभाषी समुदायसँगै प्रत्यक्ष हजारौं विद्यार्थीहरु अन्यायमा परेको छ । आज आएर हजारौं विद्यार्थीहरु मातृभाषा शिक्षा पाउने अधिकारबाट वञ्चित भएको हामिले देखिरहेका छौं । यहि अन्यायमा परेका सम्पूर्ण विद्यार्थीहरुले मातृभाषामा पुनः पूर्ण रूपले शिक्षा तत्काल लिन पाउने वातावरण निर्माण गर्न र मातृभाषा शिक्षा लिन पाउने अधिकार प्राप्त गर्नका लागि हाम्रो संगठन सहित किरात राई विद्यार्थी संघ, तामाङ विद्यार्थी घेदुङ र याक्थुङ युवा मञ्चले संयुक्त रूपमा चरणबद्ध आन्दोलन थालेका हौं । लिम्बू विद्यार्थी मञ्च स्थापनाकालदेखि नै भाषा, लिपि, धर्म, संस्कार, संस्कृति र लिम्बू विद्यार्थीहरुले पाउनु पर्ने हरेक शिक्षासँग सम्बन्धित अधिकार संरक्षणको लागि संघर्ष गर्दै आएको छ । यस हिसाबले गर्दा पनि हाम्रो तर्फबाट मातृभाषा सञ्चालनको लागि अग्रणी भूमिका हुनेछ । यो हाम्रो प्रतिबद्धता हो ।

३, तपाईले जनाउनु भएको प्रतिबद्धता बोलीमा मात्र हो कि साँच्चै व्यवहारमा पनि हो ? मातृभाषा शिक्षाका लागि डटेर लागेको हो भन्ने कुनै ठोस आधार ?

लिम्बू विद्यार्थी मञ्च सिङ्गो लिम्बू विद्यार्थीहरुको अधिकारको लागि र लिम्बू समुदायको लागि काम गर्दै आएको संस्था हो । दुई दशक हामीले यिनै क्षेत्रमा बिताएका छौं । यो क्रममा मातृभाषाको लागि हामीले जागरण अभियान, आन्दोलन, लिम्बू विद्यार्थी मञ्च केन्द्र हुँदै प्रत्येक जिल्ला शाखादेखि क्यम्पस इकाइसम्म लिपि प्रशिक्षण गर्दै आएका छांै । विभिन्न समयमा विभिन्न व्यक्तिहरुसँग मातृभाषा र लिपिका बारेमा वहस छलफल गरेका छौं । लिम्बू समुदायसँग प्रत्यक्ष रूपमा जोडिएर सबै कुरा संरक्षणको लागि कार्यक्रमहरु गर्दै अएका छौं । लिम्बू समुदाय धेरै भएको क्षेत्रमा मातृभाषा पठनपाठन कार्यक्रम लागू गर्न सबै सरोकारवाला पक्षहरुसँग परामर्श गर्दै आएका छौं । विभिन्न स्थानहरुमा मातृभाषा सञ्चालनको लागि पाठ्यक्रम निर्माण कार्यमा पनि लिम्बू विद्यार्थी मञ्चले अग्रणी भूमिका निर्वाह गरेका छौं । यो सँगै सबै खाले मातृभाषा बचाउन र सबै खाले मातृभाषामा शिक्षा पाउने अधिकारको लागि संघर्ष गरिरहेको हुनाले लिम्बू विद्यार्थी मञ्च बोलीमा मात्र होइन व्यवहारमा पनि उत्तिकै लागि परेको सत्य हो ।

४, लिम्बू विद्यार्थी मञ्चले अहिलेसम्म गरेका गतिविधिमा लिम्बुवान राज्य प्राप्तिको कुरालाई उठाएर मातृभाषा शिक्षाको अभियानलाई कम प्राथमिकता दिएको जस्तो देखिन्छ नि ?

यो नितान्त आरोप मात्र हो । वास्तवमा लिम्बू विद्यार्थी मञ्च स्थपनाकालदेखि अहिलेसम्म लिम्बुवान प्राप्ति र मातृभाषा शिक्षाको अभियानलाई बराबर प्राथमिकता दिँदै आघि बढेको जुझारु संगठन हो । हामीले स्पष्टसँग के बुझ्नुपर्दछ भने भाषिक, सांस्कृतिक, आर्थिक लगायत जो अधिकारहरु हामीलाई चाहिन्छ, ती सबै राजनीतिसँग जोडिएका हुन्छन् । र राजनीति भूगोल र जनसंख्यासँग अनोन्यास्रित ढङ्गले जोडिएको हुन्छ । यसर्थ हामीले लिम्बुवान र लिम्बू मातृभाषा लगायत सरोकारका सवालहरुलाई गहिरो गरि बुझेका छौं र अघि बढिरहेका छौं ।

५, निर्वाचित भएपछि केहि समय सक्रिय देखिने र त्यसपछि सेलाउँदै जाने प्रवृति छ विशेष गरी जातीय संघसंस्थाहरुमा । तपाईहरुको पनि उहि ताल त होला नि !

अहिलेसम्म लिम्बू विद्यार्थी मञ्चमा खासै त्यस्तो अवस्था देखिँदैन । स्थापना कालदेखि निरन्तर हामी मुद्दा केन्द्रित गतिविधिहरुबाट अघि आएका छौं । आगामी दिनमा पनि हामी हाम्रो लक्ष्य र उद्देश्यमा विचलित नभै निरन्तर काम गर्ने छों । म लिवि मञ्चको महासचिव हुनुका नाताले यो प्रतिबद्धता व्यक्त गर्दछु ।

६, मातृभाषा शिक्षाका लागि मञ्चले अब के गर्ला त ?

लिम्बू विद्यार्थी मञ्चकोे निरन्तर कार्यक्रमहरु छन् । त्योसँगै मातृभाषा सम्बन्धी पूर्वका नौ जिल्ला र लिम्बू समुदायको बसोबासको आधारमा सम्भव हुन सक्ने सबै क्षेत्रहरुमा मातृभाषा शिक्षा सञ्चालनका लागि छलफल, परामर्श गरिरहेका छौ । त्यसका लागि केही पाठ्यपुस्तक निर्माण गर्न विज्ञहरुको सहयोगमा निर्माण भइसकेको छ भने केही निर्माण हुने पक्रियामा छन् । मञ्चको तर्फबाट हामीले निरन्तर सक्दो भूमिका खेलिरहेका छौं । हामी लिम्बू बाहुल्य क्षेत्रका सबै विद्यालयहरुमा मातृभाषा शिक्षा सञ्चालनमा ल्याउन अग्रणी भूमिका खेल्ने छौं ।

७, मातृभाषा बाहेक लिवि मञ्चका अन्य गतिविधि कसरी अघि बढिरहेका छन् ?
लिवि मञ्च आफैमा स्थापित संस्था हो । यसले सँधै लिम्बूहरुको मातृभाषा, लिपि, संस्कार, संस्कृति, धर्म संरक्षण गर्नमा लागि परेको छ । विभिन्न विषयमा छलफलसँगै हामीले संगठनको विधानले दिएका अधिकार प्रयोग गरेर अन्य विभिन्न गतिविधिहरु जारी राखेका छौं ।

८, मञ्चले अन्य जातीय विद्यार्थी संगठनसँगको सम्बन्धलाई कसरी विकास गरिरहेको छ ?

लिम्बू विद्यार्थी मञ्च सदैव अन्य जातीय विद्यार्थी संगठनहरुसँग सहकार्य, छलफल र एक अर्कामा सह–अस्तित्वको भावना अनुसार पारस्परिक सहयोगबाट अघि बढिरहेको संगठन हो । हामीले सबै जातीय विद्यार्थी संगठनहरुसँगको सम्बन्धलाई मित्रवत र आपसी सहयोगका आधारमा अघि बढाइरहन्छौं ।

९, अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
लिम्बू विद्यार्थी मञ्चले निरन्तर मातृभाषा पठनपाठन, लिम्बू विद्यार्थी अभियान, लोकसेवा अभिमुखीकरण कार्यक्रम, लिपि प्रशिक्षण, विभिन्न समुदायसँग सम्बन्धित चाडपर्व मनाउने, संगठनात्मक संरचना मजुबुद बनाउने लगायत कार्यलाई निरन्तरता दिँदै आएको छ । साथै हामी भावि दिनहरुमा पनि हामी लिवि अभियानसँगै महाधिवेशनबाट जारी फक्ताङ्लुङ घोषणा–पत्र अनुसारका कार्यहरुमा केन्द्रित रहने छौं । तत्काल मातृभाषा पठनपाठन गर्न सकिने क्षेत्रमा मातृभाषा लागू गर्न प्रयाससँगै यक्थुङ निसाम्छा चुम्भोहिम निर्माणको लागि जग्गा खरिद तयारी, मातृभाषा पाठ्य सामग्री निर्माण र सिङ्गो लिम्बुवान प्राप्तिको लागि प्रयासरत छौं । म लिवि मञ्चको तर्फबाट सबैलाई लिवि मञ्चका सकारात्मक कदमहरुमा साथ र सहयोगको निम्ति अपील समेत गर्दछु ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु