adv

कविताः जलन

कर्ण गुरुङ 

हुन् त हो
तिमीले त्यस्तो केही गरेका छैनौं
तर पनि खै के हुन्छ ?
तिम्रो प्रगति मलाई
पटक्कै मन पर्दैन
मेरो छेउबाट हिँड्दा
टोक्न मन लाग्छ
अलिकति भए पनि दुखाइदिउँ जस्तो लाग्छ
भरसक टाढा हुनु मन लाग्छ
पर बसेर कुरा काट्न मन लाग्छ
भाको–नभको कुरा लाउन मन लाग्छ
असहयोग गरुँ जस्तो लाग्छ ।
किन हो कुन्नी
तिम्रो प्रगति मेरो लागि
श्राप जस्तै लाग्छ
तिमीले केही नगरे पनि
दुखीरहन्छ
तिमी मेरो छेउमा आउँदा
शब्दहरु कथेर ब्यङ्ग्य हान्न मन लाग्छ
महाजन, बाठो, नेता,
पेलुवा, दलाल
‘यस्तै के–के के–के भन्न
मन लाग्छ ।
खै ! मलाई के भा’छ
तिमीसँग केही दुश्मनी त छैन
तर पनि
घोक्रेठ्याक लगाई
म जस्तै भा’को
देख्न मन लाग्छ
हुन त हो
तिमीले त्यस्तो केही गरेका छैनौं
तर पनि खै के हुन्छ ?
तिम्रो खुसी पटक्कै मन पर्दैन
तिम्रो उन्नति पटक्कै मन पर्दैन ।
तिमीले आउ
केही गरौं भन्दा अहँ !
हुन्न म यस्तै ठीकै छु
भन्न मन लाग्छ
तर तिमीले छेउबाट मोटर गुडाउँदा
मलाई भित्रैबाट अमिलो डकार आउँछ
केही गर्न नसके पनि
इर्श्याले एक पाथी
थुकिदिउँ जस्तो लाग्छ
खोइ ! हिँजोआज तिमीलाई देख्दा
यस्तै कस्तो भाव आउँछ
यदि तिमी कमिला भएको भए
बेस्मारी कुल्चिएर मारिदिन्थें जस्तो लाग्छ ।

लेखकः कर्ण गुरूङ
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु