दमक, २१ मंसिर ।
झापाको दमक देखि पेरुङे हुदै पञ्चमी बजारसम्मको २ दिने पैदलयात्राको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । शनिबार पैदल यात्रा आयोजक समिति होटल व्यवसायी संघ माई पश्चिमले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी पैदल यात्रा तयारीको बारेमा जानकारी गराएको हो ।

कार्यक्रममा भिजिट नेपाल २०२० का प्रदेश नं. १ का सचिवालय सदस्य रविन गौतमले भने– पूर्वको दमक राजनीतिक दृष्टिकोणले, नेतृत्व लगायत अन्य पाटोबाट अग्रणी स्थानमा रहे पनि पर्यटन व्यवसाय विकासका रुपमा त्यति विकास गर्न नसकेको देखिन्थ्यो तर यस पैदल यात्राको आयोजना गरेर दमक क्षेत्रको पर्यटन व्यवसायमा समेत अघि बढिरहेको बताए ।
दमक क्षेत्रको पर्यटनमा सघाउ पु¥याउने लक्ष्य सहित पहिलो पटक सुरु गर्न लागिएको दमक–पेरुङे–पञ्चमी पैदलयात्रालाई सफल बनाउन विभिन्न संघ संस्थाहरुबाट सहयोग भइरहेको होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दंगाले बताए । उनले भने– हामीले यहाँ रमणिय ठाउँहरुको प्रवद्र्धन गर्न नसक्दा आन्तरिक तथा वाह्य पर्यटकहरु भित्राउन नसकिरहेको अवस्था छ । तर यो पैदल यात्राले एउटा पर्यटकीय गन्तव्य निर्माण गरी त्यस क्षेत्रको रमणिय दृष्यहरुलाई व्यवसायी रुपमा अघि बढाउन सक्नेछौं । सहभागीलार्इ खाना, बस्नका लागि सबै व्यवस्थापन गरिएकाे र सहभागी हुन कुनै शुल्क नलाग्ने अध्यक्ष दंगालले बताए ।

पैदलयात्रालाई सफल र व्यवस्थित बनाउनका लागि विभिन्न स्थानहरुमा स्वयमसेवक परिचालन गरिने माङसेबुङ गाउँपालिका वडा नं. ६ का अध्यक्ष प्रदिप राईले बताए । उनेले भने– यस पैदलयात्रालाई सफल बनाउन विभिन्न स्थानहरुका संघसंस्थाहरुसँग समन्वय गरिरहेका छौ र व्यवस्थित गर्नका लागि स्वयमसेवक खटाउने तयारी भइरहको छ ।
पदयात्राका लागि चुलाचुली गाउँपालिकाले फुइके देखी दाेभानसम्मकाे बाटाे सफा गर्नका लागि सहयाेग गर्ने अायाेजक समितिले जनाएकाे छ । पैदल यात्राको मार्ग चुलाचुली गाउँपालि वडा नं. ५ हुदै माङसेबुङ ४ को केही भाग र पाङरीझ्याल भन्ने ठाउँबाट बाँकि सबै मार्ग माङसेबुङ वडा नं. ६ मा पर्ने भएकोले यसको प्रत्यक्ष फाइदा माङसेबुङ बासीलाई हुनेछ ।
आन्तरिक तथा वाह्य पर्यटनको प्रवद्र्धनमा सघाउ पुर्याउने लक्ष्य राखिएको पदयात्रा मंसिर २५ गते दमकबाट बिहान ५ः३० बजे प्रस्तान गर्ने भएको छ । दमक देखि फुइके हुदै पुरानो बाटो पेरुङेको चेपारो बाटोलाई पदयात्राको मार्गको रुपमा लिइएको छ ।
बिहान दमकबाट प्रस्तान गरी फुइकेमा चिया नास्ता खाने तालिका बनेको छ । फुइके देखी निकै पुरानो बाटोलाई ताजकि बनाउन पहिलो पटक यस कार्यक्रमको आयोजना गरिएको हो । फुइकेबाट फड्के, पिडिबास, दोभाने हुदै पेरुङे पुगिनेछ । जब पेरुङे पुगिन्छ त्यहाँ देखि मावा खोलालाई छोडेर पुरै चेपारो बाटो तय हुन्छ । त्यहादेखि पाङग्रीझ्याल, एक्लेचुली, मगर विसौनी, ओडारे, जरा विसाउने, करमबोटे हुदै दिनको १२ बजे कुसुन्डेमा पदयात्राको टोलि पुग्नेछ । कुसुन्डेमा खाना खाने तालिका रहेको जहाँ ३० मिनेटको समय थकाइ मारिने छ ।
खाना खाइसकेपश्चात पुनः यात्रा तारेभीर, अमले, टोड्के, थाक्रेवर हुदै बाँझोगाउँ पुगिन्छ । जहाँ जसमनि धर्मवलम्बीहरुको आस्थाको धरोहर मन्दिरको दर्शन गर्न सकिनेछ । त्यपछि जसमनी, सुकेआहाल हुदै रमिते पुगिन्छ । जुन स्थानमा तेह्रथुम, पाँचथर, इलामका भरियाहरुको छुटिने स्थान पनि हो ।
त्यसपछि भने यात्रा चिसोपानी पञ्चमी तिर मोडिनेछ । रमिते देखि गैरिटार, किवाखोर भएर चिसोपानी पञ्चमी बजार पुग्न सकिन्छ ।

