इलाम, २५ पुष ।
इलामको माङसेबुङ गाउँपालिका वडा नं ३ र देउमाइ ९ मा लाग्ने सत्यहाङमा शान्ति मकर मेलाको तयारी तिब्र पारिएकाे छ । वर्षेनी लाग्दै आएको मकर मेलामा जातीय भेषभूषामा सजिएर परम्परागत संस्कृतिअनुसार ढोल नाँच, धान नाँच लगायत साँस्कृतिक कार्यक्रम हुनेछन् । मेलाको अवसरमा सङ्गीनी, रत्यौली, कार्यक्रमसमेत रहेको सत्यहाङमा मेला व्यवस्थापन समितिका सहअध्यक्ष लोकबहादुर लिम्बुले बताउनुभयाे ।

मेलामा पुग्ने जो कोहीले फाल्गुनन्द लिङ्देनले ज्ञान प्राप्त गर्नुभएको स्थान लाम्पातेको रुख र मुन्धुम प्राप्त गरेका स्थान संगै ८ वर्षको उमेरमा सिमीको लहराले बेरेको स्थानको अवलोकन गर्न सक्ने समितीका महासचिव उदयविक्रम तुम्बापोले बताए ।
यस्तै माङसेबुङ ३ को फुलुङगी क्षेत्र खत्रक्पादेखि करिब ५ सय मिटर मा रहेको सो क्षेत्र किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले ज्ञान साधन गर्नुभएको स्थानको अवलोकन गर्दै, किरात जातिको खान पानमा आधारीत गुरु भण्डारको आयोजना गर्दै १ सय ८ प्रकारका मिसाएका प्रसाद वितरण गर्ने समेत जनाएका छन् । कार्यक्रमको उद्घाटन गर्न संविधान सभाको अध्यक्ष तथा संसदिय दलका उपनेता सुबासचन्द्र नेम्बाङ आउने जनाएका छन् ।
पुष २५ गते उपस्थिती, २६ गते साक्मुरा वदेम्मा, २७ गते फाल्गुनन्द ज्ञान भूमि खत्रक्पामा सावायेत नाम्धुङ लाधुङ सेमी सेवा, २८ गते आत्मानन्द ज्ञान प्राप्तस्थल फुलुङगीमा सेवा, २९ गते विश्व शान्तिका लागि सामुहिक सेवा, साझ छुट्टा छुटै स्थानमा १ लाख ८ हजार ८ सय ८ दिपप्रज्वलन संगै १ हजार आठ माङसेवासाबाको साथमा जप ध्यान गर्ने र माघ १ गते मकर नुहाइ संगै किरात धर्मगुरुको आशिर्वचन संगै विविध सांस्कृति कार्यक्रम संगै समापन हुने आयोजकले जनाएको छ । मेला माघ १ गतेसम्म हुने जनाएका छन् ।

