adv

काँकरभिट्टामा कोरोनो सङ्क्रमणको ज्वरो नाप्ने ‘थर्मल गन’को अभाव

झापा, २ चैत । नेपालको पूर्वी नाका काँकरभिट्टामा कोरोनो सङ्क्रमणको ज्वरो नाप्ने ‘थर्मल गन’ पर्याप्त नहुँदा भीड व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

मेचीनगर नगरपालिकाले पूर्वीनाका काँकडभिट्टामा केही स्वास्थ्यकर्मी खटाएपनि पर्याप्त ‘थर्मल गन’ उपलब्ध नगराउँदा ज्वरो नाप्न सकस्या भएको हो । भाइरस भित्रिन नदिन भारतबाट आउने सबै नागरिकको ज्वरो नाप्ने व्यवस्था मिलाइएको भनिएपनि थर्मल गन नहुँदा समस्या भएको हो ।

स्थानीयदेखि प्रदेश सरकारका मन्त्री र नगरप्रमुखले सबै व्यवस्था मिलाएको घोषणा गरेपनि नाकामा ज्परो नाप्ने ‘थर्मल गन’ जस्तो सामान्य उपकरण नहुँदा कोरोना भाइरसका संक्रमित नेपाल प्रवेश गर्न सक्ने सम्भावना देखिएको छ ।

सो सीमाबाट आउने नेपाली तथा भारतीयको ज्वरो नाप्न एउटा मात्र ‘थर्मल गन’को मात्र भर पर्नुपरेकाले समस्या भएको हो । दैनिक हजारौँले ओहोरदोहोर गर्ने नाकामा कम्तीमा १० ‘थर्मल गन’ प्रयोग गरिए मात्र नाकामा जाँच व्यवस्थित हुने काँकडभिट्टा क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती बताउँछन् ।

उनले भूटान, बङ्गलादेश, म्यान्मारजस्ता तेस्रो मुलुकसँग समेत नजिकको दूरी भएको नाका भएको हुँदा काँकडभिट्टामा जाँच प्रक्रियालाई सुव्यवस्थित, भरपर्दो र विश्वसनीय तुल्याउनुपर्ने सुझाव व्यक्त गरे ।

नाकाको प्रवेशविन्दुमा भारतबाट आउने ५०० भन्दा बढीलाई शुक्रबार ज्वरो नापिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । उनले भीड बढ्दै गएको हुँदा ज्वरो नाप्ने उपकरण ‘थर्मल गन’ र जनशक्तिको कमी महसुस भएको बताए ।

उनका अनुसार शुक्रबार जाँचिएका व्यक्तिमध्ये रोजगारीका लागि नेपाल आउन लागेका छ भारतीय मजदुरलाई ज्वरो देखिएको हुँदा उनीहरुलाई फर्काइएको जानकारी दिए ।

मेचीनगर नगरपालिकाले सो भाइरसको सङ्क्रमण रोकथामका लागि काँकडभिट्टा नाकामै सचेतनामूलक कार्यक्रम राखेको थियो । कार्यक्रमका सहभागी अधिकांशले नाका जोखिमका दृष्टिले अति संवेदनशील क्षेत्र भएको हुँदा नाका बन्दको कदम चालेर जोखिम न्यूनीकरणको प्रयास गरिनुपर्ने धारणा राखेका थिए ।

“सयौँ व्यक्तिलाई लाममा उभ्याएर एउटा थर्मल गनका भरमा कोरोनाको सङ्क्रमण रोक्न सम्भव हुँदैन”, ज्येष्ठ नागरिक सङ्घका प्रतिनिधि कृष्णप्रसाद उप्रेतीले कार्यक्रममा भने, “नाका बन्द गरेर भएता पनि कोरोना भित्रिन नदिने कडा कदम चालियोस् ।”

मेची अञ्चल टेम्पो एण्ड ई–रिक्सा यातायात प्रालिका अध्यक्ष विवेक लिम्बूले दिल्ली, मुम्बई, कोलकाता, सिलगढीलगायत भारतका विभिन्न कोरोना प्रभावित शहरबाट आउने यातायातका साधन काँकडभिट्टाबाट निर्वाध भित्रिरहेको हुँदा त्यसबाट सङ्क्रमण फैलिने जोखिमतर्फ कसैको ध्यान नगएकोमा चिन्ता व्यक्त गरे ।

उनले भारतका यातायातका साधनलाई नाकाबाट पस्न दिन नहुने सुझाव राख्नुभएको छ ।
मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले सीमित स्रोत साधनका भरमा नाकामा स्वास्थ्य जाँचको व्यवस्था गरिएको जानकारी दिइन् ।

उनले जाँच अव्यवस्थित भएको स्वीकार गर्दै नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय तह मिलेर जाँचलाई विश्वसनीय र व्यवस्थित बनाउन तत्काल पहल गरिने बताइन् ।

उपप्रमुख उप्रेतीले भारतबाट स्थानीय उद्योगमा काम गर्न आउने मजदुरलाई ज्वरो नआएको प्रमाणपत्र नल्याए काममा नलगाउन उद्योगीलाई आग्रह गरिएको जानकारी दिए ।

मेचीनगरका प्रमुख विमल आचार्यले छिमेकी मुलुकमा फैलिएको कोरोना भाइरस नेपालमा सङ्क्रमण हुन नदिन नाकामा जाँचलाई व्यवस्थित गर्न र अनावश्यक ओहोरदोहोर रोक्न जरुरी भएको बताए ।

उनले नगरपालिकाको विपत् व्यवस्थापन समिति र कार्यपालिका बैठकले नाकाको जाँच र उद्धारलगायतका अत्यावश्यक कार्यका लागि नेपाली सेनासँग सहयोग माग्ने निर्णय गरिएको जानकारी दिए ।

प्रदेश सांसद श्रीप्रसाद मैनालीले प्रदेश नं १ सरकारको पहलमा प्रदेशका छ अस्पतालमा कोरोना सङ्क्रमितका लागि छुट्टै आइसोलेशन श्ययाको व्यवस्था गरिएको र नेपाली सेनाको नेतृत्वमा सुनसरीको कोशीटप्पु र मोरङको टाँडीमा क्वारेन्टाइनको व्यवस्था मिलाइएको बताए ।

उनले काँकडभिट्टा नाकाको संवेदनशीलता बुझेर पर्याप्त ‘थर्मल गन’ र जनशक्ति उपलब्ध गराउन प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेको आजै ध्यानाकर्षण गराइएको जानकारी दिए ।

यसैबीच मेचीनगर नगरपालिकाले प्रवेशविन्दुमा रहेको नगरपालिका भएको कारण आफ्नो नगरका मुख्य चार स्थान काँकडभिट्टा, इँटाभट्टा, धुलाबारी र चारआलीमा नेपाल प्रहरीसँगको सहकार्यमा हेल्पडेस्क सञ्चालन गरिसकेको छ ।

नगरपालिकाका सबै १५ वडा कार्यालयमा सर्वसाधारण सबैले साबुनपानीले हात धोएर मात्र प्रवेश गर्ने अनिवार्य व्यवस्था मिलाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु