मेचीनगर ।
नेकपा प्रदेश तथा जिल्ला कमिटीले पूर्वी नाका काँकरभिट्टाको निरीक्षण गरेको छ । पूर्वी नाका काकरभिट्टामा काेराेना नियन्त्रणबका प्रयासबारे प्रहरीसँग छलफल गर्दै निरीक्षण गरिएकाे हाे ।
नेकपा पार्टी १ नम्बर प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे नेतृत्वमा रहेकाे टोलीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी राजेन्द्र पाेखरेलले कोरोना नियन्त्रणमा हाल भइरहेको काम कारवाहीका विषयमा गराएकाे हाे । उनले कोरोना भित्रिन नदिन नेपाल–भारत आउजाउ गर्ने हरेक मानिसको स्वास्थ्य परीक्षण भइरहेको जानकारी गराए । काँकरभिट्टा नाकामा भइरहेको कोरोना नियन्त्रण प्रयासका बारेमा प्रहरीसँग छलफल गर्दै निरीक्षण गरेको हो ।

डिएसपी पोखरेलले कोरोनाको सम्भावित जोखिमबाट जोगिन मेचीनगर क्षेत्रमा आइसोलेशन वार्ड तत्काल सञ्चालनको पहल गर्न टोलीसँग आग्रह पनि गरे । छलफलमा मेचीनगर उपप्रमुख मीना उप्रेतीले कोरोना नियन्त्रणका लागि काँकरभिट्टा नाकाको विषयमा सरकार संवेदनशील हुनुपर्ने बताइन् । उनले नगरपालिका, सुरक्षा निकाय, विभिन्न संघसंस्थाले आफ्नो प्रयासबाट काम गरिरहेको जानकारी गराइन् । अहिले भईरहेको प्रयासले मात्र कोरोना नियन्त्रण हुन नसक्ने उनले बताइन् ।
त्यसका लागि सरकारले पूर्वी नाकालाई प्राथमिकतामा राखेर तत्काल काम थाल्नुपर्ने उपप्रमुख उप्रेतीले बताइन् । छलफलमा अवस्था हेरेर जुनसुकैबेला नाका बन्द गर्नुपर्ने कुरा उठेको छ । केहीदिनभित्रै पूर्वी नाका बेलुकी ५ बजेदेखि बन्द गर्ने विषयमा सरकारसँग छलफल गरेर अघि बढ्ने टोलीले जनाएको छ । सो क्रममा पार्टीका प्रदेश कमिटी अध्यक्ष घिमिरेले कोरोना भित्रिन नदिन पूर्वी नाकामा तत्काल आवश्यक तयारी थाल्न सरकारलाई आग्रह गरिने बताए ।
उनले परराष्ट्र मन्त्रालयमा पूर्वी नाकाको अवस्था बारे जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे । छलफल कार्यक्रममा नेकपा जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठक, प्रदेश सांसद झलकसिंह दर्लामी, संविधानसभा सदस्य दीपक कार्की, नेकपा जिल्ला सचिव विजय साम्पाङ, नेताहरु ज्योतिसिंह दर्लामी, अरुण श्रेष्ठ, प्रकाश भण्डारी, मेचीनगर अध्यक्ष माधव अर्याल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य कुमार आचार्यलगायतको उपस्थिति थियो । कोरोनाको त्रास बढेसँगै पूर्वी नाकाबाट आउजाउ गर्ने मानिसको संख्या कम हुँदै गएको छ ।
दुवै देशका सुरक्षा निकायले उच्च सर्तकता अपनाएसँगै सीमा वारिपारी गर्ने मानिसको संख्यामा कमी आउन थालेको हो । सीमावर्ती बजार पानीट्यांकीबाट घरायसी सामान ल्याउन पनि कडाई गरिएको छ । कोरोना भित्रिने आशंकाले कडाई गरिएको इप्रका काँकरभिट्टाका डिएसपी पोखरेलले बताए ।

